सर्वोच्चले दियो डा.गोविन्द केसीलाई पक्राउ पूर्जी (आदेशसहित)

  
  प्रकाशित मितिः सोमवार, पुस २४, २०७४       | 204 Views   ||

सर्वोच्च अदालत विरुद्ध अनसनमा उत्रिएका प्राध्यापक डाक्टर गोविन्द केसीलाई सर्वोच्च अदालतले पक्राउ पूर्जी जारी गरेको छ ।

न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले डा. केसीलाई भोलि (मंगलबार) बिहान ९ बजे उपस्थित गराउन प्रहरीलाई आदेश दिएको हो ।

डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार दिउँसो ४ बजेदेखि आमरण अनसन सुरु गरेका थिए। डाक्टर केसीविरुद्ध अवहेलना मुद्धामा सर्वोच्च अदालतले पक्राउ पूर्जी जारी गरेको छ ।

अदालत विरुद्ध बोलेपछि सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु पौडेलले डा. केसीविरुद्ध अदालतको अवहेलनासम्वन्धी मुद्दा हालेका थिए । त्यही मुद्दामा सुनुवाई गर्दै न्यायाधीश शाहीको इजलासले केसीलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

अदालतको आदेशमा फौजदारी दायरीमा दर्ता गर्नू भन्दै भनिएको छ, ‘प्रतिवेदन साथ पेश भएको प्रतिवादी गोविन्द केसीको नामबाट प्रकाशित प्रेस विज्ञप्ति र विभिन्न अनलाइन समाचारहरुमा प्रकाशित समाचार सामग्री हेर्दा संविधान र कानूनबमोजिम यस अदालत र मातहतका विभिन्न अदालतबाट भएको फैसला विरुद्ध आमजनमानसमा भ्रम पर्ने गरी नेपालको न्याय व्यवस्था, न्यायपालिका र न्यायाधीशहरुका विरुद्ध अमर्यादित, अशिष्ट र अदालतको अवहेलनाजनक अभिव्यक्ति उल्लेख गरेको देखिँदा निजलाई अदालतको अवहेलनामा किन कारवाही गर्नु नपर्ने हो ? निजलाई पक्राउ गरी मिति २०७४/०९/२५ गते विहान ९ बजे यस अदालतमा हाजिर हुन उपस्थित गराउनू भनी नेपाल सरकार गृह मन्त्रालय र प्रहरी प्रधान कार्यलयका नाउँमा लेखी पठाउनू ।’

किन बसे डा.केसी सर्वोच्च विरुद्ध अनसन ?

त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका डिन डा. शशी शर्मालाई सर्वोच्च अदालतले चिकित्साशास्त्र अध्ययन संस्थानमा पुनर्बहाली गर्न आदेश दिएपछि उक्त आदेशविरुद्ध डा.केसीले सोमबारदेखि सर्वोच्च विरुद्ध अनसन बसेका हुन् ।

यो उनको १४औं पटकको अनसन हो ।

डिन नियुक्त सम्बन्धनको खेल भएको भन्दै डा. केसीसँगै पुरै चिकित्सा क्षेत्र आन्दोलित भएपछि तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष एवं त्रिवि कूलपति खिलराज रेग्मीले शर्मालाई २०७० माग ८ गते बर्खास्त गर्न निर्देशन दिएका थिए ।

त्यसविरुद्ध शर्माले सर्वोच्चमा फागुन १ गते रिट हालेपछि उनलार्इ कानुनविपरित बर्खास्त गरिएको ठहर गर्दै सर्वोच्च अदालतले आइतबार पुनर्बहाली गर्न आदेश दिएको हो । शर्माको पदावधि सकिनु चार दिनअघि प्रधान न्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलाशले पुनर्बहाली गरेपछि केसी प्रधानन्यायाधीश विरुद्ध नै अनसनमा उत्रेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *