दाङमा राष्ट्रिय फुटबल प्रतियोगिता हुँदै (खेल तालिकासहित)

  
  प्रकाशित मितिः सोमवार, पुस २४, २०७४       | 296 Views   ||

पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिदै फुटबल संघ दाङको टोली । तस्बिर : कुलदीप न्यौपाने

दाङमा राष्ट्रिय फूटबल प्रतियोगिता हुने भएको छ । यही माघ २ गतेदेखि ६ गतेसम्म २८ औं राष्ट्रिय च्याम्पियनसीप फूटबल दाङमा हुने लागेको हो ।

दाङ जिल्ला फूटबल संघले पत्रकार सम्मेलन गरी माघ २ गतेदेखि ६ गतेसम्म राखेप २८ औं राष्ट्रिय च्याम्पियनसीप फूटबल हुने जानकारी दिएको हो ।

माघ २ गते तुलसीपुरको अरनिको मैदानमा उद्घाटन हुने प्रतियोगिताको समापन माघ ६ गते घोराहीको भरतपुर मैदानमा हुने छ ।

प्रतियोगितामा साविक पाँच विकास क्षेत्रका पाँच वटा टीम, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी गरी तीनवटा बिभागीयसहित ८ टोलीको सहभागिता रहनेछ । प्रत्येक टीममा १८ जना खेलाडी र २ जना अफिसियल गरी २० जनाको दरले जम्मा १ सय ६० जना खेलाडीको सहभागिता रहने दाङ जिल्ला फूटबल संघका अध्यक्ष सुशील श्रेष्ठले जानकारी दिनुभयो । खेल नकआउटको आधारमा हुनेछ ।

 

माघ २ गते दिउँसो १ बजे अरनिको मैदान तुलसीपुरमा मध्यपश्चिमाञ्चल क्षेत्रीय टीम र सशस्त्र प्रहरी बलबीच खेल हुनेछ भने सोही समयमा मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चलबीच घोराहीको भरतपुर मैदानमा खेल हुने संघका महासचिव नरेन्द्र पुनले जानकारी दिनुभयो ।

त्यस्तै माघ ३ गते दिउँसो १ बजे घोराहीको भरतपुर मैदानमा पूर्वाञ्चल र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ भने सोही समयमा तुलसीपुरको अरनिको मैदानमा पश्चिमाञ्चल र नेपाल प्रहरीबीच खेल हुनेछ ।

माघ ४ गते दिउँसो १ बजे दुबै स्थानमा एक/एक वटा सेमीफाइनल हुनेछन् । माघ ५ गते खेलाडी आराम दिन कुनै खेल राखिएको छैन भने माघ ६ गते अपरान्ह साढे १२ बजे तेस्रो स्थानका लागि र दिउँसो २ बजे फाइनल खेल घोराहीको भरतपुर मैदान राखिएको संघले जनाएको छ ।

अभ्यास खेलका लागि पनि घोराही र तुलसीपुरमा तीन/तीन वटा मैदान तयार गरिएको छ । जसअनुसार घोराहीमा प्रहरी बोर्डिङ, महेन्द्र क्याम्पस र गोरखा स्कूलको मैदान प्रयोग गरिने छ । तुलसीपुरमा गोरखा स्कूल, प्रहरी गुल्म र महेन्द्र माविको मैदानमा अभ्यास खेल गराइने छ ।

राष्ट्रिय खेल सफल पार्न संघले सबैमा अनुरोध गरेको छ । दाङमा खेलको विकास प्रभावकारी बनाउन घोराही र तुलसीपुर दुई ठाउँमा खेल आयोजना गर्न थालिएको संघले जनाएको छ ।

खेल तालिका नरेन्द्र पुनको फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *