सन्तोषले ल्याए ‘सुरक्षा’

  
  प्रकाशित मितिः सोमवार, पुस २४, २०७४       | 216 Views   ||

काठमाडौं । संगीतकार सन्तोष श्रेष्ठले राष्ट्रिय भावना समेटिएको ‘सुरक्षा’ एल्बम बजारमा ल्याएका छन् । राजधानीमा शनिबार उनको राष्ट्रिय भावना समेटिएका गीतहरूको एल्बम ‘सुरक्षा’ सार्वजनिक गरिएको थियो ।

विशेष समारोहका बीच राष्ट्रकवि माधवप्रसाद घिमिरेले एल्बम सार्वजनिक गरे ।

कार्यक्रममा राष्ट्रकविको रचनामा सन्तोषको संगीत र शिव परियारको स्वर रहेको ‘पश्चिम रुन्छ महाकाली, पूर्व रुन्छ मेची, जब तिमी रमाउँछौ आफ्नै आत्म बेची’ गीतको भिडियोसमेत प्रस्तुत गरिएको थियो ।

भिडियोलाई सञ्चारकर्मी शान्तिप्रियले निर्देशन गरेका छन् । जसमा निर्मल शर्मा, ज्योती प्रकाश विक, सारिका घिमिरे र सुमन वैरागीलाई फिचरिङ गरिएको छ भने बिरेन्द्र भाट ‘बिपिन’को छायाङ्कन रहेको छ ।

एल्बममा ८ वटा गीत समावेश गरिएको छ । राष्ट्रकविको शब्द र शिव परियारको स्वरमा सजिएको ‘पश्चिम रुन्छ महाकाली’देखि कालीप्रसाद रिजालको शब्द र मनोजराज शिवाकोटीको स्वरमा सजिएको ‘सुन हे सुन तन्नेरी हो’, दिनेश अधिकारीको शब्द र कर्म ग्याल्छेन बमजनको स्वरमा सजिएको ‘पूर्व जागौं पश्चिम जागौं’ एल्बममा समेटिएको छ ।

त्यस्तै, श्रीपुरुष ढाकालको शब्द र सन्तोष स्वयंकै स्वर रहेको ‘आफ्नो माटो सबैलाई’, रमेश क्षितिजको शब्द र भविन ढुंगानाको स्वर रहेको ‘देश टेक्ने जमिन यही हो’, डा. नवराज लम्सालको शब्द र मनोजराजको स्वर रहेको ‘सम्मान गरौँ सबैलाई’, लम्सालकै शब्द र सन्तोषकै स्वर रहेको ‘सकिएला संसार छोड्न’ र भावेश भुमरीको रचना र थुप्तेन भुटियाको स्वर रहेको ‘हाम्रो देश स्वतन्त्र छ’ गीत पनि एल्बममा समावेश गरिएको छ ।

राष्ट्रिय भावका गीत लेख्ने र गाउने चलन घट्दै गइरहेको बेला सन्तोषले निकै राम्रो काम गरेको भन्दै गीतकार र संगीतकारहरूले प्रशंसा गरेका थिए । वरिष्ठ गीतकार कालीप्रसाद रिजाल, संगीतकार दीपक जंगम, गीतकार एवं कवि नवराज लम्सालले वर्तमान गीत संगीतका बारेमा आ–आफ्ना धारणा राखेका थिए ।

प्रमुख अतिथि राष्ट्रकवि माधव घिमिरेले संगीतकार सन्तोष श्रेष्ठको खुलेर प्रशंसा गरे । सन्तोषको संगीतप्रतिको लगनशीलताले आफू नतमस्तक भएको दाबी गर्दै घिमिरेले उमेर ढल्के पनि युवा पुस्तासँग मिलेर काम गर्दा जाँगर बढेको बताए ।

मुलुकको राष्ट्रिय पहिचान निर्माण गर्न युवाहरूमा गीत संगीतमार्फत् धेरै काम गर्नुपर्ने बताउँदै संगीतकार श्रेष्ठले त्यसैका लागि आफूले राष्ट्रिय भावको गीति एल्बम निकालेको बताए ।

झन्डै दुई दशकदेखि संगीत साधनामा निरन्तर लागेका सन्तोषले एक हजारभन्दा बढी गीतमा संगीत दिइसकेका छन् । ‘सुरक्षा’ उनको २१ औं गीति एल्बम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *