सर्वोच्चमा डा. केसीको बयान : प्रधानन्यायाधीशलाई ११ गम्भीर आरोप

  
  प्रकाशित मितिः मङ्लबार, पुस २५, २०७४       | 315 Views   ||

मैले भ्रष्टाचारको विरोध गरेको हुँ, अदालतको मानहानी गरेको छैन

अदालतको मानहानी गरेको मुद्दामा मंगलबार सर्वोच्चमा बयानका लागि उपस्थित गराएका डा. गोविन्द केसीले आफूले अदालतको मानहानी नगरेको बयान दिएका छन् । केसीले आफूले बोलेका कुराले अदालतको मानहानी नगरेको र त्यसलाई मानहानी भन्न नमिल्ने दावी गरेका छन् ।

लिखित बयानमा डा. केसीले भनेका छन्, ‘न्यायालयको अपमान र मानहानी गर्ने मेरो कुनै उद्देश्य छैन, तर गलत क्रियाकलापको विरुद्ध भने म लडिरहन्छु ।’

एक वकिलले दिएको जानकारीअनुसार बयानका क्रममा केसीले प्रधानन्यायाधीश पराजुलीमाथि ११ वटा गम्भीर आरोप लगाएका छन् ।
पराजुलीले दुईवटा नागरिकता लिएको, उमेर सच्याएको, एसएलसी पास गरे/नगरेकोमा आशंका रहेको, नातेदारलाई ६-७ महिनाको अवधिमा तीनपटक बढुवा गरेर रजिष्टार, मुख्य रजिष्टार हुँदै उच्च अदालतको मुख्य न्यायाधीश बनाएको जस्ता आरोप केसीले लगाएका छन् ।

‘आफ्नो नातेदारलाई ६/७ महिनामा तीन पटक प्रमोसन गर्ने जस्तो अस्वभाविक र अमर्यादित कार्य गर्ने व्यक्ति प्रधानन्यायाधीश जस्तो ओहदामा बस्न मिल्दैन ।’ उनले अघि भनेका छन्, ‘एक सचेत नागरिकको हैसियतले मैले उनको राजीनामा मागेको हुँ । निजले राजीनामा दिनुपर्छ भन्ने मेरो विश्वास हो । अन्यथा न्यायपालिका स्वाधीन र स्वतन्त्र बन्न निजबाट बाधा अवरोध भइरहन्छ ।’

डा. केसीले प्रधानन्यायाधीशले भ्रष्टाचारलाई बढावा दिने काम गरेको भन्दै आफूले त्यो प्रवृत्तिको विरोध गरेको बताए । उनले भ्रष्टाचारको विरोध गर्दा आफूलाई किन पक्रेको भन्दै अदालत माथि नै प्रश्न गरेका छन् ।

केसीले सोमबारबाटै त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डीनमा प्रा.डा. शशि शर्मालाई पुनःबहाली गराउने अदालतको आइतबारको फैसलाको विरोधमा प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरी अनशन शुरु गरेका थिए । सोमबार साँझ अनसनस्थल त्रिवि शिक्षण अस्पतालबाट प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा राखेको थियो ।

मंगलबार बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सर्वोच्चले सोमबार आदेश दिएपछि उनलाई उपस्थित गराइएको हो ।

मंगलबार डा. केसीको बयान मात्र सकिएको छ । अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार बेञ्च भोलि बुधबारलाई सारिएको छ । डा. केसी आज पनि प्रहरी हिरासतमै रहनेछन् । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशमा सुनुवाइ हुनेछ ।

प्रा.डा. केसीका पक्षबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता सुरेन्द्र भण्डारी र लेखनाथ न्यौपानेले बहस गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *