प्रधानन्यायाधीश पराजुलीमाथि डा. केसीका ११ आरोप

  
  प्रकाशित मितिः बुधबार, पुस २६, २०७४       | 210 Views   ||

डा. गाविन्द केसीले आफूले नभइ प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको मानहानी गरेको आरोप लगाएका छन् ।

मंगलबार अदालतको मानहानी गरेको मुद्दामा बयान दिन सर्वोच्च अदातलमा उपस्थित गराइएका डा. केसीले आफूले गलत कुराको विरोधमात्रै गरेको भन्दै त्यसले अदालतको मानहानी नहुने बयान दिएका हुन् ।

उनले प्रधानन्यायाधीश गोपाल पराजुलीले दुईवटा नागरिकता लिएको, उमेर सच्याएको, भ्रटचारीलाई उन्मुक्ति दिएको लगायतका आरोप लगाउँदै छानविन गरी कारबाही गर्न माग समेत गरेका छन् ।

डा. केसीले प्रधानन्यायाधीश पराजुलीले अदालतको आस्था, गरिमा र स्वाधीनतालाई चुनौती दिएका कारण उनीबाट अदालतमो मानहानी भएको बताएका छन् । उनले आफूमाथि लागाएका आरोपहरु निराधार रहेको भन्दै पराजुलीको विषयमा छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।

यस्ता छन् डा. केसीले प्रधानन्यायाधीश पराजुलीमाथि लगाएका आरोपहरु–

१. प्रधानन्यायाधीश गोपाल पराजुलीले २ ठाउँबाट नागरिकता लिएको कुरा कसैबाट छिपेको छैन । कुनै पनि व्यक्तिले एउटा भन्दा बढी नागरिकता लिने कार्य अपराध हो । त्यसैले निजमाथि न्यायिक छानविन गरी कारबाही हुनुपर्दछ ।

२. नागरिकता दुई ठाउँबाट मात्रै लिएका छैनन् उनले उमेरसमेत सच्याएका छन् । पछिल्लोपटक काठमाडौँबाट नागरिकता लिएका आधारमा उनी हालसम्म पनि प्रधानन्यायाधीश पदमा आसीन छन् । तर उनको सुरुको नागरिकताका आधारमा उनी २०७४ असारमै उनी ६५ वर्ष पुगिसकेका छन् । यस विषयमा छानविन होस् । ६५ वर्ष उमेर पूरा भएर पनि प्रधानन्यायाधीश पदमा बस्नु गैर कानुनी हो । ओहदाको दुरुपयोग हो । यस किसिमको कार्य भनेको न्याय बेचविखन गर्नुसरह हो ।

३. गोपाल पराजुलीले लोकमानसिंह कार्कीलाई गलत कानुनी आधारमा सफाइ मात्र दिएनन्, बरु सो सफाइ दिएपछि उनका नातेदार (भतिज)लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कानुनी सल्लाहकार बनाइएको छ । यसरी मुद्दामा सफाइ दिने र आफ्ना नातेदारलाई जागिर खुवाउने कामले न्यायिक गरिमा र न्यायिक आस्थालाई किनबेच गरेको देखिन्छ । यस विषयमा यथार्थ छानबिन गरी सत्यतथ्य बाहिर ल्याइयोस् । निज गोपाल पराजुलीमाथि पद र ओहदाको दुरुपयोग गरेकोमा कारबाही होस् ।

४. निज गोपाल पराजुलीले एसएलसी पास गरेका छन् कि छैनन् भन्ने बारेमा विवाद छ । सो सम्बन्धमा विगतमा प्रधानन्यायाधीश सुशीला कार्कीबाट भएको आदेश र मिसिललाई पनि हेरी संलग्न गरिपाऊँ । निज पराजुलीको शैक्षिक प्रमाणपत्रको जाँच गरिपाऊँ । न्यायाधीश हुनका लागि शैक्षिक प्रमाणपत्र नभएको व्यक्ति प्रधानन्यायाधीश हुन सक्दछ ? के यो राज्य र अदालतजस्तो संस्थालाई गुमराहमा राख्ने अपराधिक कार्य होइन ?

५. सार्वजनिक सञ्चारमाध्यममा उनको शैक्षिक प्रमाणपत्र र योग्यताका बारेमा जुन प्रश्न उठेका छन् त्यस सम्बन्धमा न्यायपरिषद र संवैधानिक परिषदले के छानबिन गरे र के निर्णयमा पुगे भन्ने बारेमा सक्कल निर्णयको कागजात हेरियोस् । सो झिकी बुझी पाउँ ।

६. जग्गा प्लटिङ व्यवसायलाई नियमित र व्यवस्थित गर्न सरकारले लिएको नीति र निर्णय उल्टाइ भू–माफियाको हित हुनेगरी जगदीश आचार्यको मुद्दामा एकतर्फी रुपमा निज गोपाल पराजुलीले जुन आदेश दिए त्यसबाट न्याय बेचेको देखिँदैन र ? यस विषयमा छानविन गरिपाऊँ ।

७. क्यासिनो चलाएबापत होटलले राजश्व तिर्नु नपर्ने गरी जो फैसला निज गोपाल पराजुलीले गरेका छन् त्यसबाट न्याय मरेको छ । रज्यले राजश्व गुमाएको छ । न्याय मार्ने व्यक्तिले कसरी न्यायिक स्वाधीनताको जगेर्ना गर्न सक्दछ ?

८. निज गोपाल पराजुलीले प्रधानन्यायाधीश भएपछि भएका विभिन्न आदेश र फैसलामध्ये चुडामणि शर्माको मुद्दा, गोपाल खड्काको मुद्दा र एनसेलको मुद्दाले भ्रष्टाचारलाई प्रश्रय पुग्नुका साथै ६० अर्ब बराबरको राजश्व एनसेलले तिर्नु नपर्ने अवस्था सिर्जना भएको छ । के यस्ता क्रियाकलापले कानुनको शासनलाई उपहास गरेका छैनन् ? उक्त सम्पूर्ण मुद्दामा भएका आदेशबाट न्याय मरेको छ छैन न्यायिक निरोपण एवं छानविन गरियोस् ।

९. आफ्ना भान्जेज्वाइँ नातेदार नकुल सुवेदीलाई ६÷७ महिनाको अवधिमा रजिस्टार, मुख्य रजिस्टार र उच्च अदालतको मुख्य न्यायधीश बनाउने कार्यले न्यायिक स्वाधीनतामा कुठाराघात भएको छ । आफ्ना नातेदार मानिसलाई ६÷७ महिनामा तीन पटक प्रमोसन गर्नेजस्तो अस्वभाविक र अमर्यादित कार्य गर्ने व्यक्ति प्रधानन्यायाधीशजस्तो गरिमामय ओहदामा बस्न मिल्दैन । त्यसैले एक सचेत नागरिकको हैसियतले मैले उनको राजीनामा मागेको हुँ । निजले राजीनामा दिनुपर्छ भन्ने मेरो विश्वास छ । अन्यथा न्यायपालिका स्वतन्त्र र स्वाधीन बन्ने निजबाट बाधा र अवरोध भइरहन्छ । न्यायिक स्वतन्त्रतामा अवरोध सिर्जना गर्ने व्यक्ति प्रधानन्यायाधीश बन्नु हुँदैन ।

१०. सुशीला कार्कीलाई महाअभियोग लगाइएको राति १०ः३० बजे निज गोपाल पराजुलीले आफूलाई प्रधानन्यायाधीशको रुपमा पदबहाली गरेका छन् । यो कुन कानुन र मर्यादाले मिल्छ ? यस किसिमको गैरकानुनी काम गर्ने व्यक्तिबाट न्यायपालिकाको गरिमा उच्च हुनै सक्दैन । त्यसैले उनको राजीनामा अत्यन्त जायज छ ।

११. जता–जता गोपाल पराजुली उतै–उतै मेडिकल कलेजका मुद्दा शीर्षकमा कान्तिपुर दैनिकले लेखेको समाचार उपर कान्तिपुर दैनिकमाथि लगाइएको अपहेलना मुद्दामा कान्तिपुर दैनिकले सफाइ पाएको छ । त्यसको अर्थ हो कान्तिपुरको उक्त समाचार न्यायिक रुपमै पुष्टि भएको छ । निम्नलिखित मुद्दाहरुमा निज गोपाल पराजुलीले गरेका निर्णय र आदेशले सोही पुष्टि गर्दछ । यसरी न्यायिक रुपमै निजको चरित्र स्पष्ट भैसकेको अवस्थामा त्यस्तो व्यक्ति प्रधानन्यायाधीशजस्तो गरिमामय पदमा आसिन हुन सुहाउँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *