स्थानीय तहमा कर्मचारी अभाव

  
  प्रकाशित मितिः बुधबार, पुस २६, २०७४       | 223 Views   ||

जनक नेपाली

दाङ । दाङका अधिकांश स्थानीय तहमा कर्मचारीको अभाव देखिएको छ । कर्मचारीको अभाव हुँदा स्थानीय तहबाट सहज रुपमा सेवा पाउन नसकेको सेवाग्राहीले गुनासो गरेका छन् ।

जिल्लाको घोराही, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकाका साथै जिल्लाका सबै स्थानीय तहमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी भरतबहादुर बुढाथोकीले बताउनु भयो ।

सरकारले समयमै कर्मचारी समायोजन गर्न नसक्दा कर्मचारी अभाव भएको स्थानीय विकास अधिकारी बुढाथोकीले बताउनु भयो । कार्यालयका तर्फबाट जिल्लामा आवश्यक कर्मचारीको माग गर्दै पटक/पटक सामान्य प्रशासन र संघीय तथा स्थानीय विकास मन्त्रालयमा फाइल पठाए पनि उक्त फाइलका बारेमा कुनै सुनुवाई नभएको बुढाथोकीको भनाई छ । सामान्य प्रशासन र स्थानीय विकास मन्त्रालयबाट कर्मचारी परिचालन नहुँदा समस्या भएको बुढाथोकीले बताउनु भयो ।

१२ कर्मचारी बाटोमै हराए

सामान्य प्रशासन मन्त्रालय र संघीय तथा स्थानीय विकास मन्त्रालयबाट आएका १२ कर्मचारी ‘बाटोबाटै हराएका’ छन् ।

जिल्लामा कर्मचारीको अभाव भएपछि जिल्ला प्रशासन र जिल्ला समन्वय समितिमार्फत् कर्मचारी माग गर्दै मन्त्रालयलाई पत्राचार गरिएको थियो । त्यसलगत्तै जिल्लाका लागि १२ जना कर्मचारी लागि सिफारिस गरी पठाएको थियो ।

मन्त्रालयबाट कर्मचारी पठाएको पत्र जिल्ला समन्वय समिति आए पनि कर्मचारी नआएको बुढाथोकीले वताउनुभयो । कार्यालयमा कर्मचारी उपस्थित नहुँदा कामकाजमा समस्या भएको उहाँले बताउनु भयो ।

घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीले स्थानीय तहका कर्मचारी नहुँदा कामकाजमा समस्या भएको बताउनु भयो । तत्कालका लागि घोराही उपमहानगरपालिकामा झण्डै १ सय ५० जना कर्मचारी परिचालित भए पनि उक्त संख्या अपुग भएको मेयर चौधरीले बताउनु भयो ।

जिल्ला कृषि विकास कार्यालय, पशु कार्यालय, घरेलु उद्योग कार्यालय, जिल्ला समन्वय समितिमार्फत् कर्मचारी झिकाई कामकाज अगाडि बढाएको बताउनु भयो । कार्यालयमा हाल अमिन, इञ्जिनियर, कार्यालय सहयोगी र अन्य प्राविधिक कर्मचारीको अभाव भएको मेयर चौधरीले बताउनुभयो ।

तुलसीपुर उपमहानगरका कार्यकारी अधिकृत टोपेन्द्र केसीले प्रत्येक वडा सुब्बा, नासु लेखापाल र कम्युटर अपरेटको अभाव देखिएको बताउनु भयो । उपमहानगरपालिकामा ८६ नगरपालिकाको अनुदान र २ जना निजामति गरी ८८ जना कर्मचारी परिचालित भएको बताउनु भयो ।

योजनादेखि राजश्व संकलनसम्म समस्या भएको बताउँदै छिट्टै कर्मचारी समायोजनको आवश्यकता भएको बताउनुभयो । कर्मचारी अभाव हुँदा विकास निर्माणका सबै काम प्रभावित बनेको बताउनुभयो ।

वडा कार्यालय स्थापना भएन

लमही नगरपालिकामा वडा सचिव नहुँदा वडा कार्यालय स्थापना गर्न नसकिएको नगरपालिकाले जनाएको छ । नगरपालिको वडा नं. २, ३, ४, ६ र ९ नं. को वडा कार्यालय सञ्चालन गर्न नसकेको नगरपालिकाका मेयर कुलबहादुर केसीले बताउनु भयो ।

वडा कार्यालयका सम्पूर्ण काम नगरपालिकाबाट भैरहेको मेयर केसीले बताउनुभयो । ७१ जना नयाँ कर्मचारीको दरबन्दी श्रृजना गर्न नगरसभाबाट पारित गरेपनि कर्मचारी भर्ना गर्न नसक्दा समस्या भएको वताउनुभयो । कार्यालयमा कार्यरत कर्मचारी बिहान १० देखि राती ९ बजे सम्म कामकामै खटिएको वताउँदै त्यसले समेत काम धान्न मुस्किल परेको वताउनुभयो । त्यसकारण सरकारले सबै स्थानिय तहमा अविलम्ब कर्मचारी खटाउनु पर्ने बताउनुभयो ।

खेताला अमिन र इन्जिनियर

जिल्लाका अधिकासं स्थानिय तहहरुले खेताला अमिन र ईन्जिनियर राखेर काम सुरु गरेका छन् । नागरिकलाई सेवा प्रदान गर्न परामर्श कर्ताका रुपमा ईन्जिनिएर र अमिन राखेर काम सुरु गरेको तुलसीपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले जानकारी दिनुभयो । परामर्सकर्ताको तलव भत्ता आन्तरिक श्रोतबाट मिलाउँने गरी कर्मचारी राखेको उहाँले वताउनुभयो ।

माथिबाट कर्मचारी आउँदा समय लाग्ने र कर्मचारी नराख्दा सेवा प्रवाहमा समस्या हुने भएका कारण खेताला ईन्जिनिएर र अमिन राखेको वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *