विकासमा थपिने निर्माणका इँट्टाहरु

  
  प्रकाशित मितिः बुधबार, पुस २६, २०७४       | 205 Views   ||

यो हप्ता दाङमा दुई वटा महत्वपूर्ण काम सम्पन्न भए । पहिलो टरिगाउँ विमानस्थल पुनः नियमित सञ्चालनमा आयो भने दोस्रो ३४ औं जिल्लाको रुपमा दाङलाई पूर्ण खोपयुक्त सुनिश्चित जिल्ला घोषणा गरियो । यी दुबै काम जिल्लाका लागि सुखद र उल्लेख्य हुन् । दाङ विकासको गतिमा अघि बढिराखेको छ भन्ने कुराको पुष्टि पनि यी दुई कामले गर्दछन् । यी दुबै कामको उद्घाटन गरे दाङ क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा माओवादी नेता कृष्णबहादुर महराले । उनले कार्यक्रममा अभिव्यक्त गरेका कुराबाट पनि बुझ्न सकिन्छ कि दाङ अब विकास र समृद्धिको यात्रामा अघि बढे्को कुरा ।

अजयदीप शर्मा

अवश्य पनि स्थानीय तहको निर्वाचनमार्फत् जनप्रतिनिधिहरु चुनिसकेपछि जनतामा विकासको भोक अझ बढी जागेर आएको छ । हरेक विकास र सामाजिक परिवर्तनका कामहरुमा जनचासो बढेर गएको छ । जनतामा देखिएको यही तत्परता र सक्रियता नै विकासका लागि चाहिने पहिलो आवश्यकता हो । यही आवश्यकतालाई पूरा गर्ने जिम्मेवारी र दायित्व भनेको जनप्रतिनिधिहरुको हो । जसको भूमिका नै काम गरेर जनतालाई सेवा सुविधा पु¥याउनु हो । जनप्रतिनिधिहरुले जनतालाई जति चुस्त र छिटो, छरितो ढंगले सेवा प्रदान गर्र्ने व्यवस्था मिलाउन सके त्यति नै सुशासन बलियो हुने हो र विकासको कामले पनि गति पाउने हो ।

अहिले कुरा विकास निर्माणसँगै अन्तर सम्बन्धित भए पनि मुख्य विषयवस्तु यो हप्ता भएका दुई कामको प्रभाव र यी कामलाई व्यवस्थित गरेर निरन्तरता दिने सन्दर्भमा हो ।

पहिलो कुरा गत पुस २३ गतेदेखि तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा हप्तामा २ पटक उठान भर्ने गरी नियमित हवाइ सेवा सञ्चालनमा आयो । जुन कुरा स्थानीय निर्वाचनदेखि प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा उठेका जनप्रतिनिधिहरुको मुख्य एजेण्डाको रुपमा रहेको थियो । जुन कुरा पूरा हुँदा त्यहाँका जनताले बाजागाजासहित जनप्रतिनिधिहरुलाई स्वागत गरे ।

तुल्सीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेको सक्रियता र कृष्णबहादुर महराको पहलमा दाङमा हवाइ जहाज सञ्चालनमा आएको यो पाँचौं पटक हो । यसअघि पटक–पटक गरी चार पटकसम्म टरिगाउँ विमानस्थल सञ्चालनमा आएको र बन्द भएका दृष्टान्त हाम्रा सामू छन् ।

२०११ सालबाट सञ्चालनमा आएकोे जिल्लाको एक मात्र विमानस्थल आजसम्म पनि नियमित हुन नसक्नुका धेरै कारण र कारकहरु रहेका छन् । त्यसमध्येकोे एउटा कारण हो स्थानीय बलियो जनप्रतिनिधि संस्था नहुनु जसको निरन्तर सक्रियता र पहलकदमीले नियमित उठान सुचारु भइराखोस् । अब भने त्यो समस्या हटेको छ र त्यसमा चासो राख्ने जनप्रतिनिधि संस्था उपमहानगरपालिकाको उल्लेख्य कामको रुपमा त्यो रहेको छ । सोही संस्थाको सक्रियता र प्रतिबद्धताको कारणले पनि अब नियमित उडान सेवा फेरि बन्द नहुने कुरामा जिल्लाबासीहरु विश्वस्त देखिन्छन् । प्लेन टिकट बुकिङ गर्नेदेखि विमानस्थललाई व्यवस्थित पार्नेसम्मको जिम्मेवारी उपमहानगरपालिकाले लिएकाले पनि उडान सेवा नियमित हुनेमा जनता ढुक्क देखिन्छन् ।

दाङ प्रदेश राजधानीको चर्चासँगै टरिगाउँ विमानस्थल सञ्चालनमा आउनु यहाँको विकास गतिले तिव्रता लिनु हो । यो कुरालाई ख्याल गरेर जिल्लाका सबै जनप्रतिनिधिहरुले यसको नियमित सेवामा आउने समस्याको समाधानमा ध्यान दिएर लाग्न जरुरी छ । दाङमा नियमित हवाइ सेवा सुचारु हुनु भनेको यसको फाइदा सिङ्गो राप्ती क्षेत्रले लिनु हो । नियमित हवाइ सञ्चालन भयो भने यसले जनतामा सेवा सुविधा मात्र पु¥याउँदैन, यहाँको पर्यटन र व्यापारिक क्षेत्र फष्टाउनमा महत्वपूर्ण भूमिका खेल्छ । त्यतिमात्र होइन जनताको तिव्र विकासको इच्छालाई पूरा गर्ने एउटा साधनको रुपमा यसले काम गर्ने छ । यहाँको नियमित हवाई सेवाको बढी फाइदा व्यावसायिकदेखि मध्यम तह माथिका मान्छेले उठाउने भएता पनि जीवनसँग सम्बन्धित आपतकालीन अवस्थामा सर्वसाधारणले पनि यसको उपयोग गरेर ठूलो लाभ लिन सक्नेछन् ।

अब यसलाई नियमित गर्ने कुराको नै सबैभन्दा ठूलो चुनौती रहेकोे छ । यसका लागि माथिदेखि तलसम्मको पहल र सक्रियताले नियमितता पाइराख्नु पर्दछ र सबै जिल्लाबासीले यसलाई विकासको ठूलो पूर्वाधारको रुपमा लिई यसको सेवा वृद्धि र स्थायी विकासमा ध्यान र चासो दिनुपर्ने देखिन्छ । त्यस्तै, चाँडोभन्दा चाँडो इन्धन डिपो जिल्लामै राखी अहिलेको भाडादरलाई घटाउनमा सम्बन्धित निकाय अझ विशेषगरी तुल्सीपुर उपमहानगरपालिकाको ध्यान जान जरुरी देखिन्छ ।

अब जिल्लाको दोस्रो प्रगतिको कुरा गर्नुपर्दा यहाँका ५ बर्षमुनिका सबै बालबालिका पूर्ण खोपको दायराभित्र आएका छन् । दाङलाई ३४ औं पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिनुको मतलब हो, यहाँका बालबालिकाले पोलियो, विसिजी, हेपा.वी, डिपीटी, दादुरा, रुवेला, टिवीविरुद्धका खोप पाइसकेका छन् र अब जन्मने बालबालिकाहरु पनि ती नियमित खोपको दायराभित्र रहेका छन् । यसलाई बालबालिकाको स्वास्थ्यका क्षेत्रमा भएको ठूलो सफलता मान्नुपर्छ र हाम्रो विकास र समृद्धिको क्षेत्रको एउटा सूचाङ्कभित्र यो पनि पर्दछ ।

सरकारले अघि सारेका पूर्ण खोप सुनिश्चितताको मापदण्ड पूरा गरेर नै यो घोषणा गरिएकाले अब विपन्न परिवारदेखि दुरदराजसम्मका नवजात शिशु र ५ बर्षमुनिका बालबालिकाहरु खोप नपाएर जन्मदै रोगको शिकार हुनुपर्ने र अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था रहेन । कुनै पनि बालबालिका खोपबाट बञ्चित नहोऊन् र नियमित पाउनुपर्ने खोपको सुनिश्चतता होस् भनेर नै पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिने हो । यस कुरालाई मनन गर्ने हो भने नियमित खोपको दायराभित्र रहेका यहाँका बालबालिकाहरु १० प्रकारका रोगबाट सुरक्षित छन् र उनीहरुको जन्मसिद्ध स्वस्थ भएर बाँच्न पाउने अधिकार संरक्षित भएको छ । तर सरकारले २०१७ भित्र नेपाललाई पूर्ण खोप सुनिश्चित गर्ने घोषणा गरेको भएता पनि अझसम्म आधाभन्दा बढी जिल्लाहरु पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न बाँकी नै रहेका देखिन्छन् ।

जिल्लाका ग्रामीण भेगका विपन्न परिवार स्वास्थ्य सेवाबाट विमुख भइरहेका बेला जिल्लालाई खोप सुनिश्चितता जिल्ला भनेर घोषणा गर्नुलाई ठूलै उपलब्धि मान्नुपर्छ । यसो हुनुमा यहाँ स्वास्थ्य स्वंयसेविकाको अहं भूमिका छ । यस क्षेत्रको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने उद्देश्य राखी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अघि बढाइएको छ । यसले गति लिएपछि यहाँको स्वास्थ्य विकासको क्षेत्रमा एउटा क्रान्ति नै भएको मानिनेछ । अहिले जिल्ला जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सुधारमा जे जति भूमिका खेलेको छ त्यो पर्याप्त नभए पनि असन्तुष्ट हुने अवस्था भने छैन ।

जनस्वास्थ्य कार्यालयले स्वयंसेविकामार्फत् स्वास्थ्य तथा सरसफाइसम्बन्धी जनचेतना जगाउने अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सके यहाँको स्वास्थ्य अवस्थामा अझ सुधार आउने छ । अन्यत्र जस्तै हाम्रो जिल्लामा पनि बर्षमा केही प्रतिशत बालबालिका कुपोषण, निमुनिया, लहरेखोकी, दादुरा आदि रोगको शिकार हुने गरेका छन् । यस्तो रोगका शिकार हुनेमा गरिब तथा विपन्न समुदायका बालबालिका बढी छन् । नियमित खोप यी रोग विरुद्ध प्रतिरोधी क्षमता विकसित गर्न र रोग संक्रमणबाट बचाउनका लागि हो भन्ने चेतना आमाबाबुलाई नहुँदाको कारण हो भन्ने कुरा जनस्वास्थ्यलगायतका निकायले सोच्न जरुरी छ ।

अब निष्कर्षमा के भन्न सकिन्छ भने जिल्लामा नियमित हवाई सेवा सूचारु हुनु र दाङलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिनु सामाजिक अभियानका हिसाबले र हवाइ यातायातमा भएको सुविधा विस्तारले विकास प्रगतिमा थपिएको एउटा उपलब्धिमुलक इँट्टा मान्नुपर्छ । जसले जिल्लाको जनस्वास्थ्य र विकासमा महत्वपूर्ण टेवा पु¥याउने बलियो स्तम्भको काम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *