माओवादीले सरकार छाड्यो, मन्त्रीहरुको सामुहिक राजीनामा

  
  प्रकाशित मितिः शुक्रबार, पुस २८, २०७४       | 165 Views   ||

नेकपा माओवादी केन्द्र शुक्रबारबाट औपचारिक रुपमा सरकारबाट बाहिरिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेख्दै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको जानकारी गराएका हुन् ।

विनाविभागीय मन्त्री रहेका माओवादी नेता गिरिराजमणि पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको पत्रसहित मन्त्रीहरुको सामुहिक राजीनामा बुझाएका हुन् ।

यसअघि पनि पटक पटक सरकार छोड्ने घोषणा गरे पनि शुक्रबार मात्र माओवादीले सरकार छाडेको हो । एमालेसँग गठबन्धन बनाएपछि प्रधानमन्त्री देउवाले राप्रपालाई सरकारमा प्रवेश गराउँदै माओवादी केन्द्रका मन्त्रीहरुको जिम्मेवारी खोसेका थिए ।

बिहीबार सार्वजनिक विदा भएका कारण शुक्रबार मात्रै माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा बुझाएका हुन् । सरकारमा माओवादीका ९ मन्त्री र ७ राज्यमन्त्री सहभागी थिए ।

प्रचण्डले पत्रमा निर्वाचन सम्पन्न गर्न अप्ठ्यारो नपरोस् र समयमै चुनाव होस् भनेर सरकारमा बसेको उल्लेख गरेका छन् । तर, ताजा जनादेश आएपछि नयाँ सरकार गठनका लागि आवश्यक वातावरण बनाउन पहल नगरेको पत्रमा उल्लेख गरिएको छ ।

पत्रमा भनिएको छ, तर, आजसम्म त्यस दिशामा ठोस कदम नचालिएको, बरु ढिलासुस्ती भइरहेको, राजश्वको दुरुपयोग र काम चलाउ सरकारले गर्न नमिल्ने निर्णयहरु भइरहेको सन्दर्भमा सरकारमा बसिरहनु औचित्यपूर्ण नरहेकाले आजैबाट माओवादी र संयुक्तका मन्त्रीहरुलाई फिर्ता बोलाई सरकारमा नरहेको जानकारी गराउँछु ।’

पत्रमा प्रचण्डले नयाँ जनादेश अनुसार सत्ता हस्तान्तरणमा सहजीकरणको लोकतान्त्रिक भूमिकाको अपेक्षा गरेको उल्लेख गरेका छन् ।

माओवादीका तर्फबाट उपप्रधानमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा मन्त्रीहरु गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, टेकबहादुर बस्नेत, महेन्द्रबहादुर शाही, शिवकुमार मण्डल, आशा कोइराला, सन्तकुमार थारू र प्रभु साह सहभागी थिए ।

त्यस्तै राज्यमन्त्रीहरूमा मोहम्द जाकिर हुसैन, राजसिंह यादव, श्यामकुमार श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर गुरुङ, गोमा कुँवर र ओङदी शेर्पा सहभागी थिए ।

 

पत्रको पूर्ण पाठ

सम्माननीय प्रधानमन्त्रीज्यू
प्रधानमन्त्रीको कार्यालय
सिंहदरबार, काठमाडौं ।

विषय : सरकारमा नरहेको जानकारी ।

महोदय,
नेपालको संविधानले अंगिकार गरेको संघीय प्रणाली कार्यान्वयन गर्ने सन्दर्भमा २०७४ असोज २ को स्थानीय तह, मंसिर १० र २१ को प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने मूल राजनीतिक कार्यभार पूरा गर्न एउटा विशिष्ट अवस्थामा हाम्रो पार्टी तपाईले नेतृत्व गर्नुभएको सरकारमा सामेल भएको कुरा सर्वविदितै छ । २०७४ असोज १७ गते ने.क.पा. (एमाले) र ने.क.पा. (माओवादी केन्द्र) ले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धन अन्तर्गत मिलेर चुनाव लड्ने र चुनावपछि एउटै पार्टी बनाउने समेतको उद्घोष गरेपछि मुलुकमा नयाँ राजनीतिक धु्रवीकरण पैदा भयो । त्यो स्थितिमा पनि निर्वाचन सम्पन्न गर्न तपाइलाई अप्ठ्यारो नपरोस् र समयमै चुनाव होस् भन्ने उद्देश्यले हाम्रो पार्टी सरकारमा बसेको थियो । अब निर्वाचन सम्पन्न भइसकेको छ । संघीय संरचनाअन्तर्गत प्रदेश, संघ र दुई नम्बर प्रदेशको स्थानीय तहको सफल चुनाव गराएर यो सरकारले ऐतिहासिक महत्वको काम गरेको छ । त्यसका लागि हामीले तपाइलाई वधाई पनि दिइसकेका छौं ।

निर्वाचन सम्पन्न भई ताजा जनादेश समेत आइसकेको स्थितिमा प्रधानमन्त्रीबाटै नयाँ जनादेश अनुरुपको सरकार गठनका लागि आवश्यक वातावरण बनाउन अबिलम्व पहल हुनेछ भन्ने अपेक्षा हामीले राखेका थियौं । तर आजसम्म पनि त्यस दिशामा ठोस कदम नचालिएको, बरु ढिलासुस्ती भइरहेको, राजश्वको दूरुपयोग र काम चलाउ सरकारले गर्न नमिल्ने अतिरिक्त निर्णयहरु पनि भइरहेको सन्दर्भमा अब सरकारमा रहिरहनु औचित्यपूर्ण नदेखिएकाले आजैबाट हामी ने.क.पा. (माओवादी केन्द्र) र ने.क.पा.(संयुक्त) सम्बद्ध मन्त्रीहरुलाई फिर्ता बोलाई सरकारमा नरहेको जानकारी गराउँदछौं । साथै सरकारबाट नयाँ जनादेश अनुसार सत्ता हस्तान्तरणमा सहजीकरणको लोकतान्त्रिक भूमिकाको अपेक्षा गर्दछौं ।

२८ पुस २०७४
…………………………..
पुष्पकमल दाहाल ’प्रचण्ड’
अध्यक्ष
ने.क.पा.(माओवादी केन्द्र)

Leave a Reply

Your email address will not be published. Required fields are marked *