प्रदेश राजधानीका लागि दाङ अनिश्चितकालीन बन्द

  
  प्रकाशित मितिः बुधबार, माघ ३, २०७४       | 390 Views   ||

भारतीय डिजाइनमा सीमा नजिक राजधानी बनाउन लागेको आरोप

दाङ । प्रदेश नं. ५ को राजधानी दाङलाई बनाउन माग गर्दै जिल्लाबासीले बुधबारदेखि अनिश्चितकालीन बन्द सुरु गरेका छन् । प्रदेश राजधानी बुटवललाई बनाउने संकेत पाएको भन्दै दाङबासीले आन्दोलन सुरु गरेका हुन् ।

भारतीय डिजाइनमा सीमा क्षेत्रको नजिक प्रदेश राजधानी बनाउने षड्यन्त्रमा सरकार लागिरहेको आरोप समेत लगाएका छन् ।

बिहानैदेखि घोराही, तुलसीपुर, लमही, भालुबाङ, बिजौरीमा स्थानीयबासीले टायर बालेर प्रदर्शन गर्नुका साथै विरोध जुलुस निकालेका छन् । दाङखण्डमा पर्ने पूर्वपश्चिम राजमार्ग पनि आन्दोलनकारीले ठप्प पारेका छन् । बन्दका कारण जनजीवन प्रभावित भएको छ ।

लामो तथा छोटो दुरीका गाडी, उद्योगधन्दा, कलकारखाना र शिक्षण संस्थाहरु सबै बन्द छन् ।

संघीयताको अवधारणा आएसँगै दाङबासीले गठन गरेको दाङ प्रादेशिक राजधानी सरोकार समितिले आन्दोलनको अगुवाई गरेको छ ।

विरोध कार्यक्रमलाई सम्वोधन गर्दै नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मीले भारतीय डिजाइनमा भारतीय सीमा नजिक राजधानी तोक्न लागिएकाले विरोधमा उत्रिनु परेको बताए ।

आन्दोलनमा जिल्लास्थित विभिन्न उद्योग वाणिज्य संघ तथा अन्य संघ संस्थाहरु, दलका स्थानीय कार्यकर्ताहरु आन्दोलनमा उत्रिएका छन् ।

भौगोलिक र सामरिक हिसाबले दाङ प्रदेशको राजधानीका लागि उपर्युक्त भए पनि केही नेताहरुको पहुँचको भरमा बुटवल घोषणा गर्न थालिएको उनीहरुको आरोप छ । तुलसीपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष विमल रिजालले सिमा क्षेत्र भएकाले बुटवल राजधानीका लागि उपर्युक्त नभएको बताए । उनले दाङ उपत्यका सुरक्षाका दृष्टिकोणले उपर्युक्त भएको बताए ।

‘दाङमा बाक्लो हुस्सु लाग्दैन, बाह्रै महिना हवाई सेवा सञ्चालन गर्न सकिन्छ,’ रिजालले भने, ‘बुटवललाई पर्यटकीय राजधानी, नेपालगञ्जलाई औद्योगिक राजधानी र दाङलाई प्रशासनिक राजधानी बनाउनुपर्छ भन्ने हाम्रो माग हो ।’

दाङ जिल्ला उद्योग वणिज्य संघका अध्यक्ष नारायण भुसालले उच्च अदालत र प्रहरीको प्रदेश कार्यालय दाङ स्थापना भइसकेकाले ५ नं प्रदेशको राजधानी दाङ नै हुनुपर्ने बताए । उनले मन्त्रीस्तरीय सिफारिस समितिले समेत दाङलाई राजधानी बनाउन उपर्युक्त हुने प्रतिवेदन तयार गरेको अबस्थामा बुटवल बनाउन खोज्नु राजनीतिक बेइमानी भएको बताए ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले ५ नं प्रदेशका १२ वटै जिल्लाको मध्यभागमा पर्ने भएकाले दाङ राजधानीका लागि उपर्युक्त भएको बताए ।

नागरिक अगुवा डिल्लीबहादुर रावतले भारतीय पक्षको दबाबमा सिमानामा राजधानी तोक्न थालिएको दावी गरे । नेपालको आन्तरिक सुरक्षाका लागि सिमा क्षेत्रमा राजधानी तोक्न नहुने उनको भनाई छ ।

यसअघि सरकारले ५ नं. प्रदेशको प्रहरी मुख्यालय र उच्च अदालत दाङमा तोकिसकेको छ भने राष्ट्रिय सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पनि दाङमा तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *