घोराहीमा खुल्यो राप्तीकै ठूलो लगानीको होटल माला इन

  
  प्रकाशित मितिः बुधबार, माघ ३, २०७४       | 705 Views   ||

पाण्डव शर्मा

दाङ । दाङको घोराहीमा राप्ती अञ्चलकै सबैभन्दा ठूलो लगानीको होटल माला इन खुलेको छ । करिब १५ करोड रुपैयाँ लगानी रहेको होटल माला इनको औपचारिक उद्घाटन माघ ४ गते (भोलि बिहीबार) हुने बताइएको छ ।

बुधबार बिहान होटेलमा पत्रकार सम्मेलनको आयोजना गरी होटल व्यवस्थापनले यस्तो जानकारी गराएको हो ।

होटलमा १५ करोड रुपैयाँको भौतिक पूर्वाधार निर्माण गरिएको माला इन प्रा.लि.का अध्यक्ष ओविन्द्रबहादुर महराले जानकारी दिए । घोराहीको मुख्य बजारमा ६ कट्ठा क्षेत्रफल जग्गामा होटल स्थापना भएको छ ।

५१ वेडरुम भएको होटल माला इन राप्ती अञ्चलकै सबैभन्दा ठूलो लगानीको होटल हो । यसअघि घोराहीमै २६ वेडरुम भएको होटल सीटी प्लाजा सञ्चालन भइरहेको छ । ‘राप्ती अञ्चलमा अहिलेसम्म कुनै पनि होटलमा लिफ्टको व्यवस्था गरिएको छैन,’ प्रालिका अध्यक्ष महराले भने, ‘हामीले अत्याधुनिक सुविधासहितको सेवा दिने छौं ।’

होटलले थ्री स्टार मान्यताको लागि सरकारसमक्ष निवेदनसमेत दिएको छ । आफूहरुको मापदण्ड पूरा भएकाले थ्री स्टारको मान्यता पाउनेमा विश्वस्त भएको महराले जानकारी दिए । ‘अण्डर ग्राउण्डसहित ६ तले रहेको होटलका सबै कोठामा बाहिरी प्रकाश राम्रोसँग जान्छ,’ उनले भने, ‘पाँच वटा भीआइपी रुमहरुको समेत व्यवस्था गरेका छौं ।’

होटलले आफ्नै ट्रिटमेण्ट प्लानसहितको खानेपानीको व्यवस्था गरेको छ । होटलमा नेपाली, इण्डियन, चाइनीज र थाई परिकार पाइने छ । पछिल्लो समय दाङमा तीव्र शहरीकरण भइरहेकाले गुणस्तरीय होटलको खाँचो देखिएको महराले बताए ।

होटलमा अनलाइन बुकिङको व्यवस्था गरिएको छ । पर्यटकहरुलाई मध्यनजर गरेर भैरहवा, नेपालगञ्ज र तुलसीपुर विमानस्थलसम्म होटलले डेलिभरी सेवा दिने छ । होटलमा न्यूनतम दुई हजारदेखि अधिकतम सात हजार पाँच सय रुपैयाँ शुल्कका कोठा छन् ।

केही समयभित्रै दाङका पर्यटकीय गन्तव्य तथा प्यूठान स्थित स्वर्गद्वारी मन्दिरसम्मको टुर प्याकेजसहितको सेवा दिने योजना रहेको महराले जानकारी दिए ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले दाङ पछिल्लो समय पश्चिम नेपालकै आर्थिक केन्द्रविन्दु बन्दै गएकाले गुणस्तरीय होटलको आवश्यकता बढेको बताए । उनले आगामी दिनमा अन्य ठूला लगानीका होटलहरु पनि खुल्न जरुरी रहेको धारणा व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *