सहिद परिवारको घर बनाउँदै वर्षमान

  
  प्रकाशित मितिः बुधबार, माघ ३, २०७४       | 495 Views   ||

नवीन लोचनमगर

रोल्पा । प्रतिनिधि सभा सदस्य एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले जेल्बाङका सहिद परिवार मंगले बुढाको घर शिलान्यास गरेका छन् । मंगलबार पूर्वउपप्रधानमन्त्री कृष्णबहादुर महरासँगै जेल्बाङ पुगेका वर्षमानले बुढाको घर दुई महिनामै निर्माण गर्ने बताए ।

केही समयअघि जेल्बाङ पुगेका वर्षमान र पूर्वसभामुख ओनसरी घर्तीले सहिद पिता बुढासहित अन्य सहिद परिवारको घर बनाउने आश्वासन दिएका थिए । आश्वासन दिएको एक महिना नबित्दै घरको शिलान्यास उनी स्वयंले गरेका छन् ।

घर, न्यानो लुगा र स्वास्थ्योपचार

मंगले बुढाको घर बनाउन करिब पाँच लाख लाग्ने अनुमान गरिएको छ । सो रकम सांसद सुरक्षित आवास कार्यक्रममार्फत उपलब्ध गराएको सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले बताए । ‘अनन्तकै पहलमा मंगलेको घर बन्न थालेको हो’ अध्यक्ष पुनले भने, ‘वर्षमानको विजयपछि जेल्बाङवासीले धेरै राहत पाउने विश्वास गरेका छन् ।’

मंगले बुढाको घुँडामा समस्या भएका कारण हिँडडुल गर्न सक्दैनन् । उनको उपचारका लागि अनन्तले दुई लाख उपलब्ध गराउने घोषणा गरेका छन् । ‘मंगलेलाई मैले काठमाडौं आउन भनेको छु,’ अनन्तले भने, ‘उहाँ काठमाडौं आउनुभयो भने सबै उपचार हुने गरी प्रबन्धसहित दुई लाख उपलब्ध गराउँछु ।’

कृष्णबहादुर महरालाई प्रमुख अतिथि बनाउँदै वर्षमान दम्पतीले जेल्बाङका सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मानसमेत गरे । सो कार्यक्रममा मंगले बुढालगायत अति विपन्न परिवारलाई न्यानो लुगासमेत वितरण गरेको गाउँपालिका अध्यक्ष आशबहादुरले बताए ।

जेल्बाङ नेपालकै धेरै सहिद भएको गाउँका रूपमा चिनिन्छ । यहाँबाट माओवादी द्वन्द्वमा ७३ जनाले ज्यान गुमाएका थिए ।

कर्णालीका सबै जिल्लामा वाइफाई फ्री

पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले देशभरका चौध जिल्लामा फ्री वाइफाईको तयारी भइरहेको खुलासा गरेका छन् ।

उनले रोल्पा–रुकुमसहित कर्णालीका सबै र भूकम्पपीडित केही जिल्ला गरी चौध जिल्लामा फ्री वाइफाई दिने तयारी भएको बताए । जसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले अन्तिम तयारी गरिसकेको उनले बताए । ‘हात–हातमा मोबाइल, घरघरमा इन्टरनेटको नारा महरा सरले ल्याउँदा मान्छेले अचम्म मान्थे, तर त्यो पूरा भयो,’ वर्षमानले भने ।

नेपाल नयाँ युगमा प्रवेश

वाम गठबन्धनको नयाँ सरकार गठनसँगै मुलुक नयाँ युगमा प्रवेश गर्ने वर्षमानले बताएका छन् । पाँच वर्षमा आर्थिक विकास र समृद्धिको अभियानलाई एक तहसम्म लैजाने दाबी गर्दै वर्षमानले वाम गठबन्धनले त्यसैको कार्ययोजना बनाउँदै गरेको बताए ।

उनले सरकार गठन र पार्टी एकताका विषयमा गृहकार्य भइरहेको र अब छिटै ती सबै काम पूरा हुने बताए ।

कृष्णबहादुर महरा, वर्षमान पुन ‘अनन्त’, ओनसरी घर्ती मगरलगायत नेताले मंगलबार जेल्बाङमा टेलिकम टावर उदघाटन तथा सहिद परिवारसँग भेटघाट, माडी महोत्सवको उदघाटनलगायत करिब आधा दर्जन कार्यक्रममा सहभागिता जनाएका थिए ।

‘रोल्पाले मुलुक सञ्चालनको हैसियत राख्छ’– महरा

कृष्णबहादुर महराले रोल्पाले मुलुक सञ्चालनको हैसियत राख्ने बताए । रोल्पाको माडी महोत्सवको उदघाटन गर्दै उनले हरेक जिम्मेवारीमा रोल्पाली नेतृत्वले सफलता हासिल गरेकाले अब मुलुकको सञ्चालन पनि गर्ने दाबी गरे ।

घुमाउरो हिसाबले राष्ट्रपति वा प्रधानमन्त्री रोल्पाले पाउनुपर्ने भन्दै महराले त्यस निम्ति नेतृत्व क्षमता पर्याप्त रहेको बताए । उनले भने, ‘रोल्पाले हरेक परीक्षामा अब्बल सावित गरिसकेको छ, अब मुलुक सञ्चालनको जिम्मेवारी बहन गर्न बाँकी छ । त्यो हामी गर्न सक्छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *