५ नं. प्रदेश राजधानीको निर्णय सच्याउन महराको चेतावनी

  
  प्रकाशित मितिः बुधबार, माघ ३, २०७४       | 796 Views   ||

देउवा उत्पीडकहरुको स्वार्थद्वारा प्रेरित भएको आरोप, दाङमा चलेको आन्दोलनप्रति ऐक्यबद्धता

दाङ । प्रतिनिधि सभा सदस्य तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले ५ नं. प्रदेशको अस्थायी मुकाम रुपन्देहीमा बनाउने सरकारको निर्णयको कडा शब्दमा भत्र्सना गरेका छन् ।

बुधबार एक विज्ञप्ती जारी गरी महराले ५ नं. प्रदेशको मुकाम तोक्ने निर्णय सरकारको मनोमानी र स्वार्थप्रेरित भएको भन्दै आपत्ति जनाएका हुन् ।

सरकारले प्रदेशहरुको अस्थायी राजधानी तोकेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै महराले कतिपय प्रदेशका अस्थायी राजधानी विवेकसम्मत र सन्तुलित रुपमा तोक्न नसकेर सरकारले आफ्नो असक्षमताको पुष्टि गरेको उल्लेख गरेका छन् ।

‘प्रशासन पुनःसंरचना आयोगको सिफारिस, कतिपय सरकारी उच्च निकाय र राष्ट्रिय–अन्तर्राष्ट्रिय सुझाव र सल्लाहलाई समेत लत्याउँदै गरिएको सरकारको यो निर्णय मनोमानी र स्वार्थप्रेरित हुन पुगेको छ,’ महराले विज्ञप्तीमा भनेका छन्, ‘देउवा सरकारको यो असन्तुलित, अविवेकी, अदूरदर्शी, असंवेदनशील र असक्षम निर्णय हो । म यो निर्णयको विरोध र घोर भत्र्सना गर्दछु ।’

देउवाको उत्पीडित क्षेत्रको विकास गर्छु भन्ने कुरा खोक्रो आदर्श मात्रै भएको बताउँदै महराले विज्ञप्तीमा भनेका छन् ‘देउवाको उत्पीडित क्षेत्रको सन्तुलित विकास गर्ने खोक्रो आदर्श उदाङ्गिएको छ र यो निर्णय उत्पीडकहरुको स्वार्थद्वारा प्रेरित भएको पुष्टि हुन्छ ।’

५ नम्बर प्रदेशको राजधानी दाङ सुरक्षित, समदूरी र पूर्वाधारसहित पर्याप्त स्थान भएकाले उचित र सन्तुुलित हुनुपर्दछ भनी गरिएको आन्दोलनको आफूले दृढतापूर्वक समर्थन गर्ने बताउँदै महराले प्रदेश मुकामबारे गरिएको निर्णय सच्याउन सरकारलाई चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *