काठमाडौं । एमाले–माओवादी केन्द्रद्वारा गठित कार्यदलले राष्ट्रिय सभाको सीट बाँडफाँड टुंगो लगाएको छ । दुई पार्टीले राष्ट्रियसभाका ५६ मध्ये ४३ सीटमा उम्मेदवारी दिने निर्णय गर्दै सीट बाँडफाँड गरेका छन् ।
बुधबार बसेको वैठकले ४३ मध्ये एमालेका लागि २९ र माओवादीका लागि १४ सीट बाँडफाँड गरेका हुन् ।
यस अघि सीट बाँडफाँडमा लिइएको ६० र ४० प्रतिशत र स्थानीय तहका जनमतलाई आधार मानेर सीट बाँडफाँड गरेको कार्यदलका सदस्य एवं एमाले नेता सुवास नेम्वाङले बताए ।
यद्यपी सीट बाँडफाँडका विषयमा अन्य दलसँग पनि छलफल गर्ने कार्यदलको निर्णय छ ।
कार्यदलले तयार पारेको प्रस्ताव दुवै पार्टीका अध्यक्षसँग परामर्श गरेर अन्तिम टुंगो लगाउने तयारी भएको छ । कार्यदलमा एमालेका नेम्वाङ, सुरेन्द्र पाण्डे र शंकर पोखरेल तथा माओवादी केन्द्रका रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव छन् ।
एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको वैठकले केही प्राविधिक काम टुंगाउनका लागि केही दिन अगाडि कार्यदल बनाएको थियो ।
सरकारले माघ २४ गतेका लागि राष्ट्रियसभा सदस्यको निर्वाचन मिति तोकेको छ । योसँगै निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका पनि सार्वजनिक गरेको छ ।
राष्ट्रियसभामा ५६ सीटमा चुनाव हुनेछ ।
हरेक प्रदेशबाट आठ जना सदस्य चयन हुनेछन् ।
राष्ट्रिय सभाका लागि गाउँपालिका तथा नगरपालिकाका प्रमुख र उपप्रमुख र प्रदेशसभाका सांसद मतदाता रहनेछन् । तर, संसदको प्रमुख उपप्रमुखको मतभार भने फरक हुनेछ । ३ सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।