माओवादी दाङले खटायो आन्दोलनका लागि कमाण्डरहरु

  
  प्रकाशित मितिः बिहिबार, माघ ४, २०७४       | 437 Views   ||

केशरमान बुढाथोकी

दाङ । प्रदेशको अस्थायी मुकाम तोक्ने सन्दर्भमा देउवा नेतृत्वको सरकारले असन्तुलित, अविवेकी, अदुरदर्शी, असंवेदनशील र असक्षम निर्णय गरेको भन्दै नेकपा माओवादी केन्द्र दाङले कडा प्रतिवाद गर्ने भएको छ ।

पाँच नम्वर प्रदेशको राजधानी दाङ सुरक्षित, समदुरी र पूर्वाधारसहित प्रयाप्त स्थान भएकाले अत्यन्तै उपयुक्त भएको भए पनि कामचलाउ सरकारमा हालीमुहाली गरिरहेका र जनताले अबिश्वास गरेका केही नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थको लागि राजधानी जस्तो संबेदनशील कुरालाई प्रदेशको एउटा कुनामा लगेर राख्ने निर्णय गरेको माओवादी दाङको बैठकले निष्कर्ष निकालेको छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्र दाङको आकस्मिक सचिवालय बैठकले आन्दोलनलाई आफ्नो पार्टीको तर्फबाट थप सशक्त पार्ने निर्णय गरेको माओवादी केन्द्र दाङका सह इन्चार्ज निर्मल आचार्यले बताए ।

माओवादी केन्द्र दाङको सचिवालयको आकस्मिक बसेको बैठकको निर्णयबारे जानकारी दिदै नेता आचार्यले प्रदेश नं. ५ का नागरिकलाई अपायक पर्ने कुनामा लगेर अस्थायी राजधानी तोकिएको बताए ।

‘राज्य संघीय प्रणालीमा गैसकेपछि राजधानी जस्तो संबेदनशील कुरा सम्पूर्ण नागरिकलाई पायक पर्ने स्थानमा राख्नुपर्छ, उनले भने, ‘प्रदेश नम्बर ५ का सबै स्थानका जनताको भौगोलिक सुगमताको कुरा गर्ने हो भने रुपन्देही अत्यन्त्तै अपायक स्थान हो, त्यसैले यो गलत निर्णयको पुनरावलोकन गराउन कडा आन्दोलन गर्नुपर्ने भयो ।’

यस्तै बैठकले आन्दोलनलाई घनिभूत र थप सशक्त बनाउन विभिन्न क्षेत्रमा आफ्ना नेतालाई आन्दोलनको नेतृत्व गर्न खटाएको छ ।

जसअनुसार दाङको भालुबाङमा प्रदेश सभाका सदस्य तथा पार्टीका दाङ जिल्ला सह–इन्चार्ज इन्द्रजित थारु, लमहीमा जिल्ला सह–इन्चार्ज नारायणी शर्मा ‘प्रतीक्षा’ घोराहीमा जिल्ला सह–इन्चार्ज हेमराज शर्मा ‘डाइमण्ड’ र तुलसीपुरमा नेता रामजी चौधरी ‘मिलन’ लाई खटाइएको जिल्ला सह–इन्चार्ज निर्मल आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *