‘दाङ प्रादेशिक राजधानी’को आन्दोलन अब दलहरुको नेतृत्वमा

  
  प्रकाशित मितिः बिहिबार, माघ ४, २०७४       | 415 Views   ||

दाङ । ५ नं. प्रदेशको अस्थायी मुकाम रुपन्देही तोकेको विरोधमा दाङमा शुरु भएको आन्दोलनको नेतृत्व बिहीबारदेखि राजनीतिक दलहरुले गरेका छन् ।

यसअघि दाङ प्रादेशिक राजधानी सरोकार समितिको अगुवाईमा आन्दोलन भए पनि बिहीबारदेखि आन्दोलनको नेतृत्व प्रमुख दलहरुले गरेका हुन् । बिहीबार बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले अब आन्दोलनको नेतृत्व प्रमुख दलले लिने निर्णय गरेको हो ।

जिल्लामा प्रमुख तीन दलले प्रदेश राजधानी आन्दोलनको संयुक्त नेतृत्व गर्ने भएका छन् । सर्वदलीय बैठकको निर्णयअनुसार आन्दोलन परिचालन समितिको संयोजक एमालेले पाएको छ भने सहसंयोजक कांग्रेस र सचिवको जिम्मेवारी माओवादी प्रतिनिधिले सम्हालेका छन् ।

जिल्लास्थित सबै संघसंस्थाहरुलाई आन्दोलन परिचालन समितिका सदस्य यसका सदस्य बनाइएको छ । बैठकले अनिश्चितकालीन आम हड्ताल सफल पार्ने र आन्दोलन राजमार्ग केन्द्रित गर्ने निर्णय गरेको छ ।

यसैबीच दलहरुको अगुवाईमा दिउँसोे घोराही, तुलसीपुर, लमही, भालुबाङ लगायतका क्षेत्रमा बृहत प्रदर्शन तथा विरोध सभा गरिएको छ । बुधबारदेखि नै पूर्वपश्चिम राजमार्ग र अन्य सडकमा यातायात बन्द गरिएको छ भने उद्योग धन्दा, कलकारखाना, शैक्षिक संस्था, बजारलगायत सबै ठप्प छन् ।

बिहीबार साँझ घोराहीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य तथा एमाले नेता मेटमणि चौधरीले सरकारले रुपन्देहीमा अस्थायी मुकाम तोकेको निर्णय फिर्ता नभएसम्म पूर्वपश्चिम राजमार्गलाई कुनै पनि हालतमा चल्न नदिने बताए ।

नेकपा माओवादी केन्द्र दाङका सह इन्चार्ज निर्मल आचार्यले सरकारको विभेदकारी निर्णय फिर्ता नहुँदासम्म आन्दोलन नरोकिने बताए । ‘सम्पूर्ण आधार हुँदाहुँदै दाङलाई अन्याय गरिएको छ,’ उनले भने, ‘अब आन्दोलनमा गाउँ–गाउँबाट जनताको सहभागिता रहन्छ ।’ आफूहरुले जिल्लाका मुख्य नेताहरुलाई विभिन्न क्षेत्रको नेतृत्वका लागि जिम्मेवारी दिइसकेको आचार्यले बताए ।

सभालाई सम्बोधन गर्दै नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्काले कामचलाउ सरकारले गरेको निर्णय सडकबाटै खारेज गर्ने चेतावनी दिए ।

नेपाली कांग्रेस दाङका सभापति कृतिबहादुर खड्काले दाङ राजधानी गराउने कुरा यहाँका सम्पूर्ण राजनीतिक दलहरुको साझा एजेण्डा भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *