राष्ट्रिय फूटबलको फाइनल भोलि, आर्मी र प्रहरी भिड्दै

  
  प्रकाशित मितिः शुक्रबार, माघ ५, २०७४       | 176 Views   ||

दाङ । राखेप च्याम्पियनसिप २८ औं राष्ट्रिय पुरुष फूटबल प्रतियोगिता २०७४ को उपाधिका लागि नेपाल प्रहरी र नेपाली सेना भिड्ने भएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना तथा दाङ जिल्ला फुटबल संघको संयोजनमा संचालित प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न सेमिफाइनलमा सशस्त्र प्रहरीबलको एपिएफलाई १ का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै नेपाल प्रहरी फाइनल प्रवेश गरेको हो भने घोराही भरतपुर खेल मैदानमा सम्पन्न सेमिफाइनलमा सुदूरपश्चिमलाई १ का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै नेपाली सेनाले फाइनलमा प्रहरीसँगको भेट पक्का गरेको हो ।

उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको खेलमैदान तुलसीपुरमा भएको निक्कै कडा प्रतिस्पर्धात्मक अनि रोमाञ्चक सेमिफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफका तर्फबाट खेलको पहिलो हाफको १६ औ मिनेटमा जर्सी नं २१ का दिपक खड्काले पहिलो गोल गरेका थिए ।

पहिलो हाफमा सशक्त प्रदर्शन गरेको एपीएफ दोश्रो हाफको सुरुवातीमै प्रहरीको दवावमा परेको थियो ।

राष्ट्रिय खेलाडी जुमानु राईको खेलमैदान प्रवेशसँगै नेपाल प्रहरीका तर्फबाट जर्सी नं २ का सन्तोष हेमरोणले खेलको ५३ औं मिनेटमा पहिलो गोल गर्दै टिमलाई बराबरीमा लग्न सफल भए ।

त्यस्तै खेलको सुरुवातीमै सशक्त र आक्रमक खेल प्रदर्शन गरेका नेपाल प्रहरीका जर्सी नं ९ का सुमन लामाले खेलको ८८ औं मिनेटमा थप एक गोल गर्दै आफ्नो टिमलाई जित दिलाउन सफल भए ।

घोराही भरतपुर खेलमैदानमा सम्पन्न सेमिफाइनल खेलको १९ औ मिनेटमा सुदूरपश्चिमका जर्सी नं १७ का खेलाडी मणी चौधरीले पहिलो गोल गरेका थिए ।

त्यस्तै नेपाली सेनाका तर्फबाट ६९ औ मिनेटमा जर्सी नं ८ एरिक विष्टले जवाफी गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए । कडा प्रतिस्पर्धाका बीच भएको सानदार खेलको ७१ औं मिनेटमा सेनाका जर्सी नं ९ खेलाडी राजीव गुरुङले थप एक गोल गर्दै आफ्नो टिमको फाइनल यात्रा सुरक्षित गर्न सफल भए ।

फाइनल खेल घोराहीस्थित भरतपुर खेलमैदानमा माघ ६ शनिबार गते दिउँसो १ बजे हुनेछ भने तेश्रो स्थानमा लागि सुदूरपश्चिम र सशस्त्र प्रहरी बलको एपीएफबीच माघ ६ गते शनिबार बिहान ९ बजे खेल हुने दाङ जिल्ला फुटबल संघका महासचिव नरेन्द्र पुनले जानकारी दिए ।

माघ २ गतेदेखि सुरु भएको प्रतियोगितामा पाँच विकास क्षेत्र र ३ विभागीय टिम गरी जम्मा ८ टिमको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *