सार्थक एकतामाथिको बहस

  
  प्रकाशित मितिः शुक्रबार, माघ ५, २०७४       | 298 Views   ||

आर्थिक समृद्धि, सामाजिक न्याय, स्थायित्व र सुशासनसहितको समाजवाद निर्माण गर्ने अभियानको नेतृत्व गर्ने महत्वाकांक्षा र प्रतिबद्धतासहित चुनावी तालमेल हुँदै पार्टी एकतासम्मको उद्घोष गरेका नेपालका दुई ठूला कम्युनिस्ट पार्टी माओवादी केन्द्र र एमालेबीचको एकता प्रक्रिया सहजतापूर्वक अगाडि बढ्न सकिरहेको छैन ।

तिलकराज भण्डारी

चुनावी तालमेलमा अभिव्यक्त भएको नेता–कार्यकर्ताको उत्साह र निर्वाचनमा प्राप्त जनमतले एकताका लागि नेतृत्व पंक्तिलाई राजनीतिक र नैतिक दबाब बढे पनि एकताका आधारभूत प्रश्नमा औपचारिक छलफल नै केन्द्रित भएको देखिँदैन । भिन्न–भिन्न राजनीतिक पृष्ठभूमिबाट आएका पार्टीको एकताका सन्दर्भमा व्यापक र व्यवस्थित बहसमा सम्बन्धित पार्टीका नेता–कार्यकर्ता र समर्थकको समेत सक्रिय सहभागिता जरुरी हुन्छ ।

मार्गदर्शक सिद्धान्त र वैचारिक प्रश्न

पार्टी एकताका निम्ति सबैभन्दा आधारभूत विषय सैद्धान्तिक तथा वैचारिक प्रश्न नै हो । दुवै कम्युनिस्ट पार्टी भए पनि यी दुई पार्टीबीच सैद्धान्तिक र वैचारिक भिन्नता जब्बर छ ।

माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गर्दै नेपालको सापेक्षतामा शान्तिपूर्ण संक्रमणको तत्कालीन कार्यक्रमका रूपमा मदन भण्डारीले अघि सारेको राजनीतिक कार्यक्रम र मदन भण्डारीको मृत्युपछि वैचारिक कार्यदिशाका रूपमा एमालेले अवलम्बन गर्दै आएको ‘जनताको बहुदलीय जनवाद’ले नेपाली राजनीतिमा निर्णायक भूमिका खेलेको र एमालेलाई यो सफलतासम्म ल्याइपुर्‍याएको एमालेको निष्कर्ष छ । यही सैद्धान्तिक र वैचारिक आधारमा पार्टी एकताको छलफल सुरु गर्नुपर्छ भन्ने एमालेको धारणा अनौपचारिक रूपमा भए पनि अभिव्यक्त भइसकेको छ ।

यता माओवादी केन्द्रले माक्र्सवाद–लेनिनवाद–माओवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा आत्मसात् गर्दै नेपालजस्तो अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकमा माओवादको प्रयोग गर्दै दीर्घकालीन जनयुद्धमार्फत नेपालको राजनीतिक र सामाजिक रूपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्‍यो ।

जनयुद्धकै प्रक्रियामा नेपाली क्रान्तिका अनुभवसहित नयाँ कार्यनीति र रणनीति विकास गर्दै दीर्घकालीन जनयुद्ध र आम सशस्त्र विद्रोह समायोजनको कार्यदिशाका रूपमा ‘२१औँ शताब्दीको जनवाद’को विकसित कार्यदिशाले नै नेपाली क्रान्तिलाई यो चरणसम्म ल्याइपुर्‍याएको निष्कर्ष माओवादी केन्द्रले निकालेको छ ।

नेपालको सापेक्षतामा दीर्घकालीन जनयुद्ध र आमसशस्त्र विद्रोह (जनआन्दोलन)को समायोजनको कार्यदिशा ‘२१औँ शताब्दीको जनवाद’ नै आजको सफल कार्यदिशा सावित भएको छ । माओवादी केन्द्रले यही वैचारिक कार्यदिशालाई एकता प्रक्रियाको वैचारिक आधार बनाउन चाहेको छ ।

यद्यपि एकताको सन्दर्भमा माक्र्सवाद–लेनिनवाद–माओवादका आधारभूत सैद्धान्तिक प्रस्तावना, वर्गसंघर्ष, बल प्रयोगको सिद्धान्त, सर्वहारा वर्गको अधिनायकत्व, निरन्तर क्रान्ति तथा नेपालको सापेक्षमा प्रयोग र परिभाषित हुँदै आएका २१ औँ शताब्दीको जनवाद र जनताको बहुदलीय जनवादको विषयमा औपचारिक र व्यवस्थित बहस हुन जरुरी छ । सिद्धान्त र विचारको सन्दर्भमा गहिरो बहस नगरी हुने प्राविधिक एकताले सार्थकता र दिगोपन दुवै हासिल गर्न सक्दैन भन्ने इतिहासले सिकाएकै छ ।

इतिहासको समीक्षा र विश्लेषण

एकताको प्रक्रियामा विगततिर फर्किनु हुँदैन, आगामी कार्यदिशामा मात्रै बहस गर्नुपर्छ भन्ने हल्का तर्क पनि चलिरहेकै छन् । वस्तुवादी आगामी कार्यदिशा निर्माणका निम्ति इतिहासको समीक्षा पनि वस्तुवादी हुनुपर्छ । सार्थक एकताको सन्दर्भमा बहस गर्दै जाँदा हामीले विगतमा अवलम्बन गरेका राजनीतिक कार्यदिशा, त्यसले प्राप्त गरेका राजनीतिक उपलब्धि र ती आन्दोलनबारे पनि समीक्षा गर्नुपर्छ । साथै, ती सबै संघर्षमा भएका त्याग समर्पण र बलिदानको उचित मूल्यांकन र समीक्षा पनि जरुरी छ ।

खासगरी झापा विद्रोह, १० वर्षीय जनयुद्ध र १९ दिने जनआन्दोलनको वस्तुवादी समीक्षा र ती आन्दोलनमा भएका गौरवपूर्ण त्याग, समर्पण तथा सहिद र बेपत्ता योद्धाको उच्च मूल्यांकन नगरी हामी सार्थक एकताको कार्यदिशा निर्माण गर्न सक्दैनौँ ।

राजनीतिक कार्यदिशा तथा एजेन्डा

एकताको बहस गर्दै जाँदा हामी अहिले नेपाली क्रान्तिको कुन चरणमा छौँ र आगामी कार्यदिशा तय गर्दा कसरी, कुन कार्यदिशा अवलम्बन गर्ने भन्ने विषयमा स्पष्ट हुन जरुरी छ । जनवादी–पुँजीवादी क्रान्तिका आधारभूत कार्यभार पूरा भएको र अब समाजवादी क्रान्तिको कार्यदिशामा हामी अगाडि बढ्नेमा धेरै भिन्नता नभए पनि राजनीतिक एजेन्डामा रहेका मतभेदलाई बहसको विषय बनाउनैपर्छ ।

संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रणाली, पहिचान र सामथ्र्य, शासकीय स्वरूप, कार्यकारी राष्ट्रपति, राष्ट्रियतालगायत विषयमा रहेका मतभेदलाई व्यवस्थित बहसको माध्यमबाट स्पष्ट पारिनुपर्छ ।

संगठनात्मक संरचना र नेतृत्वको प्रश्न

एकताको सन्दर्भमा सबैभन्दा प्राविधिक र जटिल कार्य भनेको संगठनात्मक संरचना र कार्यविभाजनको पक्ष हो । स्पष्ट संगठनात्मक संरचना र कार्यविभाजन भएन भने एकता सम्भव हुँदैन ।

तत्काल देखिने पार्टी र सरकारको नेतृत्वको स्पष्ट कार्यविन्यास तथा अन्य नेताको समेत उपयुक्त कार्यविभाजन गर्न जरुरी छ । तर, दीर्घकालीन रूपमा संगठनात्मक सिद्धान्त, पद्धति र संरचनाको सैद्धान्तिक तथा व्यावहारिक पक्षमा समेत स्पष्टता आवश्यक हुन्छ । समग्रमा पार्टी तथा सम्पूर्ण जनवर्गीय संगठनको नेतृत्व र कार्यविभाजनसमेत स्पष्ट गरिनुपर्छ ।

मुलुकलाई राजनीतिक स्थायित्व, आर्थिक समृद्धि, सामाजिक न्याय, सुशासनसहितको समाजवाद निर्माणका लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अभिव्यक्त जनमत र नेता–कार्यकर्ताको उत्साहले नेपालमा कम्युनिस्टको मात्रै होइन, सम्पूर्ण वामपन्थी पार्टीको एकता आजको राजनीतिक आवश्यकता पुष्टि भएको छ ।

यसको अर्थ एकताको सन्दर्भमा छलफल र बहस गर्नुपर्ने र स्पष्टता हासिल गर्नुपर्ने आधारभूत विषयमा स्पष्टता हासिल गर्न सकिएन भने त्यो एकता सार्थक र दिगो दुवै हुँदैन । सार्थक र दिगो एकताका लागि सैद्धान्तिक तथा वैचारिक स्पष्टता, एजेन्डा र कार्यदिशाको अपनत्व, ठोस संगठनात्मक संरचना र नेतृत्वको कार्यविभाजन अनिवार्य विषय हुन् । यसतर्फ एकताका पक्षधर सबै नेता, कार्यकर्ता र शुभचिन्तक समर्थकसमेत बहसमा सहभागी हुनैपर्छ ।

(भण्डारी अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *