निर्णय नसच्चिएसम्म आन्दोलन जारी राख्न महराको अपील, स्वरुप परिवर्तन गर्न आग्रह

  
  प्रकाशित मितिः शनिबार, माघ ६, २०७४       | 199 Views   ||

दाङ । नेकपा माओवादी केन्द्रका नेता तथा दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कृष्णबहादुर सरकारले प्रादेशिक राजधानी तोक्ने सरकारले गरेको निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

आज दाङको लमहीमा प्रदेश नं ५ को राजधानी दाङलाई नै बनाउनुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले थालेको बृहत् सभालाई सम्बोधन गर्दै उनले बन्द र आमहड्ताल भन्दा आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्ने बताए ।

पाँच नं. प्रदेशमा अन्यायपूर्वक गरिएको सरकारी निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहन्छ, महराले भने, ‘तर यसको स्वरुप परिवर्तन गर्नुपर्ने आवश्यक छ । बन्द नगरेर विरोध सभा, ज्ञापनपत्र बुझाउने, कोणसभा गर्ने र निरन्तर दबाब दिनुपर्छ ।’

राष्ट्रियसभाको निर्वाचन दाङमा नै तोकिएको र सो निर्वाचनलाई लक्षित गरी आन्दोलनको स्वरुप परिवर्तन हुनुपर्ने र प्रदेश सभा सदस्यलाई जिल्लामा स्वागत गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्न काठमाडौंबाट जहाजमा नेपालगञ्जका लागि उडे पनि बाक्लो हुस्सुका कारण जहाज अवतरण हुन नसकेपछि पुनः काठमाडौँ पुगी हेलिकप्टरबाट दाङ आएका थिए ।

कार्यक्रममा रुकुम पूर्वका प्रदेश सभा सदस्य पूर्णबहादुर घर्ती र तेजबहादुर ओली तथा रोल्पाका प्रदेश सभा सदस्य कुलप्रसाद केसी ‘सोनाम’समेत आन्दोलनमा ऐक्यबद्धता जनाउन लमही आइपुगेका थिए ।

त्यस्तै, लमही सभामा प्रदेश सभा सदस्य इन्द्रजित थारु, प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *