इतिहासमा एमाले–माओवादी एक–अर्काका पुरक थिए, ‘प्रचण्ड’

  
  प्रकाशित मितिः आइतवार, माघ ७, २०७४       | 198 Views   ||

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राजनीतिक इतिहासमा एमाले र माओवादी एक–अर्काका पुरकको भूमिकामा रहँदै आएको बताउनु भएको छ ।

माओवादी केन्द्रसम्वद्ध जनसांस्कृतिक महासंघ, नेपालले केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताउनुभएको हो ।

०१९ सालपछि नेपालको कम्युनिष्ट आन्दोलनमा विभाजन आयो, त्यसपछि अलग–अलग समूहका रुपमा कम्युनिष्ट पार्टीहरु अस्तित्वमा रहे । २०२५ सालमा मोहन बिक्रम सिंहले केन्द्रीय न्यूक्लियस गठन गर्नुभयो भने २०२८ सालमा पुष्पलालले कोओर्डिनेशन केन्द्र स्थापना गर्नुभयो । अहिलेको एमाले कोओर्डिनेशन केन्द्र र माओवादी केन्द्र केन्द्रीय न्यूक्लियसको धारा हो । इतिहासमा यी दुई धाराले एक–अर्काको अस्तित्व रक्षाका लागि पुरकको भूमिका खेल्दै आएका छन् ।’

‘२०२८ सालदेखि २०३८ सालसम्म तात्कालीन मालेले चौमलाई दक्षिणपन्थी, मिहिन पाराको संशोधनवादी भन्थ्यो, हामी चौम मालेलाई उग्रबामपन्थी भन्थ्यौं । मोहन बिक्रमजीले त उग्रबामपन्थी विचारधाराको खण्डन भन्ने मोटो पुस्तक नै लेख्नुभयो’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘२०३८ सालको वरिपरी आइपुग्दा चीनमा माओको निधन भयो । त्यसपछि नेपाली कम्युनिष्ट आन्दोलनमा नयाँ बहस सुरु भयो । चीनको बाटो ठीक कि बेठीक भन्ने बहस चल्यो । २०३८ सालपछि उग्रवादी भनिएको माले क्रमशः सुधारवादी, व्यवहारवादी धारातिर गयो । हामी चौम चाहिँ मोटो मशाल हुँदै क्रान्तिकारी धारातिर गयौं । परिस्थिति ठीक विपरित ठाउँमा आयो ।’

‘दश वर्ष सन्तुलनको वर्ष देखियो, त्यसपछि हामी जनयुद्धमा गयौं, उहाँहरु संसदीय संघर्षतिर लाग्नुभयो, २०२८–२०३८ सम्म क्रान्तिकारी मानिएको माले सुधारवादी, व्यवहारवादी धारा र सुधारवादी भनिएका हामी मशाल क्रान्तिकारी धारातिर गयौं, प्रचण्डले भन्नुभयो, ‘हामीले जनयुद्ध सुरु गरे पनि सुरुका पाँच वर्षमा प्रतिक्रियावादीहरुको ध्यान हामीतिर थिएन, एमालेतिरै थियो । प्रतिक्रियावादीहरुको भाग खोस्ने ठाउँमा एमाले आइपुग्यो । प्रतिक्रियावादीहरुको निशानामा एमाले पर्‍यो, मदन भण्डारीको हत्या त्यसै भएको होइन, संसदीय संघर्षमा आफ्नो भाग खोसिने डरले प्रतिक्रियावादी शक्तिले उनको हत्या गरे । यसरी जनयुद्धका सुरुका पाँच वर्षमा प्रतिक्रियावादीहरुको डर एमालेसँग नै भएकाले आक्रमणको निशानामा माओवादी त्यति परेन । नियतमा नभए पनि त्यति बेलाको एमालेको शक्तिले माओवादीको रक्षा गर्न भूमिका खेल्यो ।’

‘जनयुद्ध एकपछि अर्को विजयतिर गयो, त्यसपछि प्रतिक्रियावादीहरुको निशानामा माओवादी पर्‍यो । पहिले निशानामा एमाले थियो । तर, अब माओवादी नै निशाना बन्यो’, प्रचण्डले थप्नुभयो, ‘२०५७ को राष्ट्रिय सम्मेलनपछि प्रतिक्रियावादीले हामीलाई नै निशाना बनाए, उनीहरुले एमालेलाई मित्र र हामीलाई दुश्मन देख्न थाले, त्यसले एमालेको रक्षा गर्‍यो । यसरी इतिहासमा नियतमा नभए पनि वस्तुगत रुपमा एमालेले माओवादी र माओवादीले एमालेको रक्षा गर्न वस्तुगत भूमिका खेल्यो । हामी यसलाई नयाँ संश्लेषणका रुपमा अघि सार्दैछौं ।’

‘२०४९ सालमा मदन भण्डारीले जनताको बहुदलीय जनवादको प्रस्ताव अघि सार्नुभयो, यो कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने नियत थिएन’, प्रचण्डले भन्नुभयो, ‘विश्वभरी कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा थियो, त्यस्तो परिस्थितिमा कम्युनिष्ट आन्दोलनलाई बचाउन उहाँले बहुदलीय जनवादको प्रस्ताव अघि सार्नुभयो । अहिले एमाले र माओवादी अलग–अलग पार्टी हुनुपर्ने कारण नै म देख्दिनँ । हामीले पनि ८, १० वर्ष शान्तिपूर्ण रुपमै समाजवादको तयारी गर्ने भनेका छौं, उहाँहरु पनि त्यही भन्नुभएको छ, समान राजनीतिक कार्यदिशा भएपछि अलग–अलग पार्टीको अस्तित्व राख्नु उचित हुँदैन ।’

‘हामीले माओवाद छोडेका छैनौं, उहाँहरुले पनि जनताको बहुदलीय जनवाद छोड्नुभएको छैन, नेपालको राजनीतिक क्रान्तिमा माओवादको भूमिका छ भन्ने कुरामा एमालेका नेताहरु पनि सहमत हुनुहुन्छ, हामी पनि बहुदलीय राजनीतिक प्रतिस्पर्धामा आएका छौं’, प्रचण्डले भन्नुभयो, ‘अबको वैचारिक संश्लेषण कसरी गर्ने ? भन्ने हामी छलफलमा छौं । हिजोबाट वैचारिक विषयमा छलफल सुरु भएको छ । जनयुद्धको भूमिका र इतिहासमा यसको योगदानबारे एमाले र हामीबीच कुनै विवाद छैन । एकले अर्काको पूर्ण सम्मान गरेर र अहिलेको परिस्थिति सुहाउँदो वैचारिक कार्यदिशा बनाएर हामी अघि बढ्छौं । यसमा कसैले शंका गर्नु पर्दैन ।’

‘‘केही साथीहरु एकताको विरोध गर्दै हुनुहुन्छ, त्यसको कुनै औचित्य छैन । जनताले एकता चाहेका छन्, एमाले–माओवादी एकताबाट प्रतिक्रियावादीहरु आत्तिएका छन्’, प्रचण्डले भन्नुभयो, ‘जनता खुसी हुँदा उहाँहरु किन निरास हुनुभयो ? नेपालमा राजनीतिक स्थिरता, समृद्धि र समाजवाद आउँदा उहाँहरुलाई के घाटा हुन्छ ? मैले बुझ्न सकेको छैन । आफू लागेका विषय खुल्ला फोरममा छलफल गर्न छोडेर एकता र बहसबाट भाग्ने चाहिँ क्रान्तिकारी हुन सक्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *