अखिल क्रान्तिकारी र अनेरास्ववियूको टोली पुग्यो अतिक्रमित क्षेत्र वीरगञ्ज छकपैया

  
  प्रकाशित मितिः आइतवार, माघ ७, २०७४       | 359 Views   ||

सीमा क्षेत्रमा देखिएको समस्याको बारेमा अध्ययन गर्न वीरगञ्ज पुगेको विद्यार्थीहरुको टोलीले अतिक्रमित क्षेत्र अवलोकन गरेको छ ।

माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र एमाले निकट अनेरास्ववियुका अध्यक्ष नविना लामा नेतृत्वको टोली अतिक्रमित क्षेत्र पर्साको वीरगञ्ज महानगरपालिका वडा नं १ छकपैया पुगेको हो ।

उनीहरुले वीरगञ्ज महानगरपालिका वडा नं १ छकपैया अतिक्रमित सीमा क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । नेपालको सीमा मिचिएकोबारे जानकारी पाएपछि स्थलगत अध्ययनका लागि टोली वीरगञ्ज पुगेको अखिल क्रान्तिकारीका उपाध्यक्ष तिलकराज भण्डारीले बताए ।

‘हिजो अखिल क्रान्तिकारीको टोलीले एक्लै वीरगञ्ज महानगरपालिका वडा नं १ छकपैयास्थित अतिक्रमित भू–भागको अवलोकन ग¥यो, भण्डारीले भने, ‘हिजो बेलुकामात्रै अनेरास्ववियूको टोली पनि आइपुग्यो र आज दुवै संगठनले अतिक्रमित क्षेत्र संयुक्त अवलोकन गरियो ।’

सीमा अवलोकनपछि सिमा मिचिएकोमा कुनै शंका नरहेको भन्दै दुवै संगठनको तर्फबाट जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापन पत्र पठाइएको र अन्य संघर्षका कार्यक्रमहरु तत्कालै बैठक बसेर अघि बढ्ने भण्डारीले बताए ।

पर्साको वीरगञ्ज महानगरपालिका वडा नं १ छकपैया विवादित सीमा स्तम्भ । तस्बिर : तिलकराज भण्डारी

नेपालको धनी पूर्जा लिएर, नेपाल सरकारलाई तिरो तिरेको जमिन भारतमा पर्न गएको, नेपालतर्फ परेको जमिन पनि भोगचलन गर्न नपाएको भन्नेबारे बुझ्न सीमा क्षेत्रमा आएको र यथार्थता निकै भयावह रहेको अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताए ।

‘हामीलाई उनीहरुको एक वित्ता जमिन चाहिदैन, हाम्रो पनि जानुभएन,’ उनले भने ‘हाम्रो सरोकार भनेको नेपालको धनी पूर्जा भएको जमिन कसरी भारतमा पर्‍यो भन्ने नै हो, केही हामीले विज्ञसँग बुझेर आएका छौं । अब हामी स्थानीयसँग र प्राविधिक टोलीसँग पनि कुरा गर्छौं र सत्य तथ्य बुझ्छौं ।’

दशगजामा नेपाली पक्षले भन्दा बढी भारतीय पक्षले बस्ती बसाएको र खेतीपाती गर्न लगाएको बताउँदै अध्यक्ष तामाङले त्यसको अन्त्यका लागि पनि दुवै संगठनले दबाब दिने बताए ।

अनेरास्ववियुको अध्यक्ष नविना लामाले सीमा क्षेत्रमा देखिएको समस्याको दिगो समाधानका खोज्नुपर्नेमा जोड दिइन् ।

‘कहिले सुस्ता, कहिले लिपुलेक, कहिले कालापानीमा यस्तो समस्या किन देखिन्छ । किन सीमाको विषयलाई लिएर हामीले विवाद गर्नुपर्ने हुन्छ ?’ उनले भनिन्‘, ‘किन भारतीयहरु विभिन्न नामबाट नेपालको जमिन मिच्छन् । यसको अब दीर्घकालीन समाधन खोजिनुपर्छ ।’

उनले सीमा क्षेत्रमा स्थलगत अध्ययन गरेर फर्केपछि नेपाल सरकार र भारतीय सरकार दुवैको ध्यानाकर्षण गराउने पनि बताइन् । ‘नेपाल सरकारको कमजोर प्रस्तुती नेपाली अधिकारीहरुको लाचारीका कारण ठाउँ-ठाउँमा नेपालको भूमी भारतले अतिक्रमण गरिरहेको छ ।’ उनले भनिन्, ‘अब त्यसको दीर्घकालीन समस्या समाधान हुनुपर्छ, त्यसका लागि हामी दुवैतर्फ दवाव दिन्छौं ।’

नेपाल र भारतबीच सन २००७ मा भएको पछिल्लो सम्झौता अनुसार अहिले ‘स्ट्रिप म्याप’का आधारमा सीमा क्षेत्रमा हराएका वा जीर्ण बनेको पिल्लर मर्मत र निर्माणको काम भइरहेको छ ।

सो क्रममा वीरगञ्ज उपमहानगरपालिका वडा नं १ छपकैया क्षेत्रमा मात्रै झण्डै नम्बरी, पर्ति र ऐलानी गरी ५० विगाहा जमिन भारततर्फ गर्न गएको स्थानीयको दावी छ । त्यसबारे नापी विभागका निर्देशकसहितकोे टोलीले शनिबारदेखि प्राविधिक अध्ययन गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *