विज्ञान प्रदर्शनी गरेर मनायो लालीगुराँसले वार्षिकोत्सव

  
  प्रकाशित मितिः सोमवार, माघ ८, २०७४       | 188 Views   ||

वार्षिकोत्सवको अवसरमा लालीगुराँस आवासीय मावि घोराहीका विद्यार्थीहरुले सोमबार विज्ञान सामग्रीहरु प्रदर्शन गरेका छन् । विद्यालयको १३ औं बार्षिकोत्सवको अवसरमा उनीहरुले आफैले बनाएका विज्ञान सामग्रीहरु प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरुले प्रदर्शनीमा हावाबाट उत्पादन हुने बिजुलीदेखि स्मार्ट सिटीको परिकल्पनामा तयार पारिएका सामग्रीहरु समावेश गरेका थिए ।

त्यस्तै विद्यालयले विशेष समारोहको आयोजना गरी १३ औं बार्षिकोत्सव मनाएको छ । विद्यालयका प्रिन्सिपल केशरमान बिसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्याब्सन दाङका अध्यक्ष यादव गिरीले अबको समय गुणस्तरीय शिक्षाको युग भएको बताउनुभयो । उहाँले गुणस्तरीय र वैज्ञानिक शिक्षाका लागि विद्यालय र अभिभावक उत्तिकै जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बिशिष्ट अतिथि सिस्नुपानी नेपालका अध्यक्ष डा. लोकराज पराजुली, नयाँ युगबोध दैनिकका सहसम्पादक नरेन्द्र केसी, विद्यालयका पूर्वअध्यक्ष नरबहादुर बुढाथोकी, अभिभावक भरत पछाइलगायतले शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा वार्षिकोत्सवका अवसरमा आयोजना गरिएका विभिन्न खेलकूद प्रतियोगिताका विजेता विद्यार्थी भाइबहिनीहरुलाई पुरस्कार प्रदान गरिएको थियो भने उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

विद्यालयका भाइस प्रिन्सिपल हेमराज पौडेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक गौरव खड्काले गर्नुभएको थियो । कार्यक्रमको बीच–बीचमा विद्यार्थीहरुले विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *