
जनक नेपाली
दाङ । अघिल्लो बर्ष जस्तै यस बर्ष पनि दाङ महोत्सवमय हुने भएको छ । यस बर्ष जिल्लामा आधा दर्जनभन्दा बढी महोत्सव तथा मेला सञ्चालन हुन थालेका छन् । विभिन्न व्यावसायिक र सामाजिक उद्देश्य राखेर आयोजना हुन थालेका महोत्सवहरुमा लाखौं पर्यटक भित्र्याउने लक्ष्य राखेको आयोजक पक्षहरुले बताएका छन् ।
यसै क्रममा तुल्सीपुर उपमहानगरपालिका ४ स्थित हलवारमा रहेको चमेरे गुफामा आज बुधबार एक दिने महोत्सवको आयोजना गरिएको छ । गुफाको प्रचार प्रसारका साथै पर्यटकहरु आकर्षण गर्ने उद्देश्यले १ दिने महोत्सवको आयोजना गरिएको महोत्सव आयोजक समितिका संयोजक भुपबहादुर बुढाले जानकारी दिनुभयो ।
यसै क्रममा कृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहन दिगो अर्थतन्त्रका लागि अमूल्य योगदान भन्ने नाराका साथ घोराही–१० नारायणपुरमा यही माघ माघ १२ गतेदेखि २३ गतेसम्म कृषि, पर्यटन तथा व्यापार मेला महोत्सवको आयोजना गरिन थालेकोे नाराणपुर उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्रकुमार दाहालले जानकारी दिनुभएको छ ।
२ सय बढी स्टल राखिने महोत्सवमा ३ करोड बढीको आर्थिक कारोबारको लक्ष्य राखिएको छ । दाङ क्षेत्र नं. २ (१) का सांसद अमरबहादुर डाँगीले उद्घाटन गर्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक पक्षले जानकारी दिएको छ ।
त्यस्तै पुस २८ गतेदेखि जारी भालुवाङ महोत्सव आज बुधबार समापन गरिने भएको छ । स्थानीय इन्द्रेणी युवा क्लबको आयोजना सञ्चालित राप्ती कृषि तथा पर्यटन महोत्सवलाई हजारौं पर्यटकहरुले अवलोकन गर्नुका लाखौंको आर्थिक कारोबार भएको महोत्सव आयोजक समितिका अध्यक्ष यमबहादुर मरासिनीले बताउनु भयो ।
महोत्सवले यस क्षेत्रको शैक्षिक, आर्थिक, सामाजिक, साँस्कृतिक, कृषि, उर्जा एंव पर्यटन विकासका लागि सहयोग पु¥याएको मरासिनीले वताउनु भयो ।
त्यस्तै राप्ती बहिरा संघले तुलसीपुरको अरनिको मैदानमा यहि माघ १५ गतेदेखि प्रथम कृषि, पर्यटन व्यापार तथा औद्योगिक महोत्सव सञ्चालन गर्ने भएको छ । महोत्सवबाट संकलन हुने आर्थिक रकमले बहिरा बालबालिकाका लागि छात्रावास निर्माण गर्ने उद्देश्य राखिएको बहिरा संघकी कार्यकारी निर्देशक प्रतिमा शर्माले जानकारी दिनुभयो । करिब १ सय ५० स्टल रहने महोत्सवमा झण्डै ३ करोडको आर्थिक कारोबार हुने शर्माले जानकारी दिनुभयो ।
यद्यपि महोत्सवका विषयमा तुलसीपुर उद्योग वाणिज्य संघ र बहिरा संघका बीचमा विवाद उत्पन्न हुँदै आएको छ । तुलसीपुर उद्योग वाणिज्य संघले आन्तरिक व्यवसायमा घाटा हुने भन्दै महोत्सव सञ्चालन गर्न नदिने बताउँदै आएको छ ।
त्यस्तै प्राविधिक शिक्षाका लागि दुधरासमा महायज्ञ सञ्चालन हुने भएको छ । जनकल्याण मावि दुधरासले महायज्ञ संचालन गर्न लागेको विद्यालयले जानकारी दिएको छ । डिप्लोमा इन्जिनियरिङ तहको पढाई सञ्चालन गर्नका लागि माघ १८ देखि २४ गतेसम्म महायज्ञ संचालन गर्न लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज विकले जानकारी दिनुभयो । डिप्लोमा इञ्जिनियरिङ पढाइ संचालन गर्नका लागि करिब पाँच करोड आवश्यक पर्ने बताउँदै आर्थिक रकम जुटाउनका लागि महायज्ञ सञ्चालन गर्न लागेको विकको भनाइ छ ।
यसैगरी दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा आगामी फागुन ४ गतेदेखि कृषि, पर्यटन तथा व्यापारिक महोत्सव २०७४ सञ्चालन हुने दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले जानकारी दिनुभयो ।
स्थानीय स्तरमा रहेका साना उद्योगी व्यवसायीको प्रोत्साहन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागेको भुसालको भनाई छ । घोराहीस्थित कृषि सामग्री संस्थानको प्राङ्गणमा संचालन हुने महोत्सवमा करिव २ सय स्टल राखिने उहाँले बताउनुभयो ।