‘बयाना’ले बिजोग, सयकडा तीन व्याजमा ऋण लिएर जग्गा किन्नेहरु चिन्तामा

  
  प्रकाशित मितिः बुधबार, माघ १०, २०७४       | 199 Views   ||

पाण्डव शर्मा

दाङ । सरकारले ५ नं प्रदेशको अस्थायी मुकाम रुपन्देही तोक्ने निर्णय गरेपछि यहाँका जग्गा व्यवसायीहरु चिन्तामा परेका छन् ।

उच्च अदालत, प्रदेश निर्वाचन कार्यालय र प्रदेश प्रहरी कार्यालय दाङमा स्थापना भएपछि अस्थायी मुकाम तोकिने आशमा करोडौंको जग्गा बयाना गर्नेहरुको विजोग भएको छ । सरकारबाट गठित अध्ययन समितिले ५ नं प्रदेशको अस्थायी मुकाम तोक्न दाङ उपर्युक्त भएको प्रतिवेदन पेश गरेको खबरहरु सञ्चार माध्यममा आएपछि दाङमा जग्गाको किनबेच ह्वात्तै बढेको थियो ।

बजार क्षेत्रभन्दा तीन/चार किलोमिटर टाढासम्म जग्गा व्यवसायीहरु जग्गा खरिद गर्न गएका थिए । कैयौंले चलेको भन्दा दुई गुणा महंगोमा खरिद गर्ने गरि करोडौ रुपैयाँ जग्गामा बयाना समेत दिइसकेका छन् । घोराही निवासी उमेश भण्डारीले अस्थायी मुकाम तोकिने आशाले वेलझुण्डीमा सात लाख रुपैयाँ पर्ने जग्गालाई १५ लाख रुपैयाँमा खरिद गर्ने गरी बयाना बुझाएका छन् । ‘तीन जना साथीहरु मिलेर एक विघा जग्गालाई ८० लाख रुपैयाँ बयाना गरेका छौं,’ उनले भने, ‘मेरो भागमा २७ लाख रुपैयाँ परेको थियो ।’

उमेशले २७ लाखमध्ये आधा पैशा मात्र आफ्नो हालेका छन् । अरु सबै पैसा उनले सय कडा तीन प्रतिशत व्याजमा ऋण लिएका छन् । ‘जग्गा धनीले बयाना फिर्ता गर्न मान्दैनन्, ग्राहक आउने सम्भावना छैन, अब व्याज तिर्दैमा समस्या पर्ने भयो,’ उनले भने, ‘हामी आन्दोलनमा छौं तर, आन्दोलनले सार्थक परिणाम लिने कुनै संकेत मिलेको छैन ।’

घोराहीकै जग्गा व्यवसायी सुशान्त वलीसहित पाँच जनाको समुहले घोराहीको सर्रामा १० कट्ठा जग्गाको बयाना हानेका छन् । उनीहरुले १६ लाख रुपैयाँ प्रति कट्ठाको दरले किन्ने गरी ५० लाख रुपैयाँ बयाना बुझाएका छन् । उनीहरुले तीन महिना भाकामा सबै रकम बुझाउने गरी बयाना गरेका छन् । तर, अस्थायी मुकाम रुपन्देही तोकिएपछि उक्त जग्गा तीन महिना भित्र बिक्री हुने सम्भावना न्यून छ । जग्गा धनीले बयाना फिर्ता गर्न नमानेपछि उनीहरु पनि तनावमा छन् ।

रोल्पा इरिवाङकी धनमाया घर्तीले राजधानी हुने आशामा बेलझुण्डीमा १० मिटर जग्गा किनेकी छन् । उनले प्रतिमिटर एक लाख ५० हजार रुपैयाँको दरले जग्गा खरिद गरेकी छन् । कुल १५ लाख रुपैयाँमध्ये ९ लाख रुपैयाँ श्रीमानले विदेशबाट पठाएका हुने भने बाँकी ६ लाख रुपैयाँ आफ्न्तबाट सयकडा तीन प्रतिशन व्याजमा उनले ऋण लिएकी हुन् ।

‘राजधानी भएपछि खरिद गरेको मध्ये ५ मिटर जग्गा महंगो मूल्यमा बेचेर ऋण तिर्ने योजना थियो,’ उनले भनिन्, ‘अहिले श्रीमानले विदेशबाट फोन गरेर झगडा गरिरहनुभएको छ, म निकै तनावमा छु ।’

यी त प्रतिनिधि पात्र मात्र हुन् । अस्थायी मुकामको हल्लाले दाङमा धेरैले जग्गा व्यवसायमा हात हालेका थिए । केहीले बैङ्कबाट ऋण लिएर समेत जग्गा खरिद गरेका थिए । दैनिक दुई/तीन वटा घडेरीको जग्गा बयाना गर्न र जग्गा पास गर्न व्यस्त हुने जग्गा व्यवसायीहरु अहिले प्रादेशिक राजधानीका लागि भइरहेको आन्दोलनमा सरिक भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *