प्रेस सेन्टरले मनायो १४ औं स्थापना दिवस, सिर्जनशील पत्रकारिता पुरस्कार जीवन नेपालीलाई

  
  प्रकाशित मितिः सोमवार, माघ १५, २०७४       | 219 Views   ||

दाङ । प्रेस सेन्टर नेपाल दाङ शाखाले १४ औं स्थापना दिवस मनाएको छ । घोराहीमा शुभकामना आदान प्रदान तथा पुरस्कार वितरण समारोहको आयोजना गरी सेन्टरले स्थापना दिवस मनाएको हो ।

सो अवसरमा बोल्ने वक्ताहरुले पत्रकारहरुको पेशागत हितका लागि एकजुट हुनुपर्नेमा जोड दिएका छन् । वक्ताहरुले वैचारिक आस्था र धरातल जे–जस्तो भए पनि श्रमजीवी पत्रकारहरुको हक अधिकारको सवालमा एकजुट हुनुको विकल्प नभएको बताएका हुन् ।

प्रेस सेन्टर दाङका अध्यक्ष डिल्ली मल्लको अध्यक्षता एवं माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य तथा दाङ जिल्ला सह–इन्चार्ज हेमराज शर्मा ‘डायमण्ड’को प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि हेमराज शर्मा ‘डायमण्ड’ले पत्रकारितालाई व्यावसायिकताको नाममा व्यापार र पसलजस्तो हुन नहुने बताउनुभयो । ‘पत्रकारिता समाजलाई सूसुचित गराउने माध्यम त हुँदै हो, उहाँले भन्नुभयो, ‘यो समाज परिवर्तनको महत्वपूर्ण साधन हो । यदि पत्रकारिताभित्र मिसन भएन भने एउटा पसले र पत्रकारको बीचमा खासै भिन्नता हुँदैन । त्यसैले व्यावसायिकताभित्र पनि मिसन पत्रकारिता हुनुपर्छ ।’

प्रेस सेन्टर नेपालका संस्थापक सदस्य एवं नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य अजयदीप शर्माले संस्था स्थापना गर्दाको क्षणको स्मरण गर्दै जिम्मेवार पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि प्रेस सेन्टरका केन्द्रीय सदस्य नरेन्द्र केसीले पत्रकारिताको माध्यामबाट प्रेस सेन्टरले राजनीतिक तथा सामाजिक रुपमा निर्वाह गरेको भूमिकाको विषयमा चर्चा गर्नुभएको थियो । उहाँले देशमा राजनीतिक संकटको बेला पनि प्रेस सेन्टरले जनपक्षीय पत्रकारिता गरेको बताउनु भयो ।

कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी एवं नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष सुशील गौतमले संगठित पत्रकारहरुले आफ्नो पहिचानको प्रदर्शन गर्नुपर्ने बेला आएको बताउनु भयो । उहाँले दलगत पहिचान मात्र नभई समाजलाई अघि बढाउन अरु पहिचान पनि दिन सक्नुपर्ने बताउनु भयो ।

प्रेस सेन्टरका ५ नम्बर प्रदेश सचिव गणेश वलीले जनयुद्धकालमा युद्ध संवाददाताहरुले स्थापना गरेको संस्था बदलिएको समयसँगै जनपक्षीय पत्रकारितामा सक्रिय रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष एव सल्लाहकार सुदीप गौतमले प्रेस सेन्टर नेपाल संस्थाको जन्मदाताहरु निकै कठिन परिस्थितिमा पनि पत्रकारिताको माध्यमबाट समाजमा सूचना प्रवाह गरेको बताउनु भयो । गौतमले कठिन अवस्थामा मृत्यु या मुक्ति भनेर गरेको पत्रकारिताले अहिले नयाँ आयाम थपिदिएको बताउनु भयो ।

नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाहले बदलिदो परिस्थितिमा पत्रकारको व्यावसायिक दक्षतामा ख्याल गर्नुपर्ने बेला भएको बताउनुभयो । उहाँले समाचार लेख्ने पत्रकारको अपरिपक्वताले पत्रकारको दक्षतामा प्रश्न उठ्ने भन्दै यसमा सबै सचेत बन्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष केबी मसाल, सल्लाहकार दुर्गालाल केसी, प्रेस चौतारी नेपाल दाङका सल्लाहकार सुदर्शन रिजाल, प्रेस सेन्टर दाङका सल्लाहकार शारदा शर्मा, पत्रकार महासंघ दाङ शाखा सचिव भुपेन्द्र वली, प्रेस युनियनका उपाध्यक्ष बसुन्धरा गौतमलगायतले बोल्नुभएको थियो ।

सिर्जनशील पत्रकारिता पुरस्कार नेपालीलाई

यसैबीच प्रेस सेन्टर नेपाल दाङ शाखाले स्थापना गरेको प्रेस सेन्टर सृजनशील पत्रकारिता पुरस्कार २०७४ पत्रकार जीवन नेपालीलाई प्रदान गरिएको छ ।

विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील नेपालीलाई नगद ५ हजार र सम्मान–पत्रसहित पुरस्कृत गरिएको हो । रेडियोबाट पत्रकारिता पेसा आरम्भ गर्नुभएका नेपाली हाल चौथोअंग डटकम अनलाइन सञ्चालन गरिरहनुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *