घोराही उपमहानगरपालिकाले मनायो ४० औं स्थापना दिवस, ३ पत्रकारसहित दर्जन बढी सम्मानित

  
  प्रकाशित मितिः सोमवार, माघ १५, २०७४       | 195 Views   ||

दाङ । घोराही उपमहानगरपालिकाले स्थापनाको ४० औं वर्ष मनाएको छ । उपमहानगरले सोमबार एक कार्यक्रमको आयोजना गरी आफ्नो ४० औं स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा उपमहानगरले विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व तथा संस्थाहरुलाई सम्मान गरेको छ ।

कार्यक्रममा १०७ वर्षको हरिप्रसाद श्रेष्ठलगायतका ज्येष्ठ गंगाराम चौधरी, सानीकुमारी रावत, विनिकुमारी रोकालाई सामान गरिएको थियो ।

त्यसैगरी विभिन्न टोलविकास संस्था, नगरपालिकाको कर्मचारी, साहित्यकार, खेलाडी, सञ्चारकर्मी, एसइइ परिक्षामा सामुदायिकतर्फबाट उत्कृष्ट विद्यार्थी, स्थापना दिवसको अवसरमा आयोजना गरिएको विभिन्न प्रतियोगिताका विजयी एवं उपमहानगरपालिकाको विकासका लागि योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

 

सम्मानित व्यक्तिहरुलाई प्रमुख अतिथि प्रदेशसभाका सदस्य अमरबहादुर डाँगी, विशिष्ठ अतिथि राष्ट्रिय सभाका सदस्य अनिता देवकोटा, प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, मेयर नरुलाल चौधरी, उपमेयर सीता न्यौपानेलगायतले प्रमाण पत्र, नगद र दोसल्लाले सम्मान गरेका थिए ।

मेयर नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि, विशिष्ठ अतिथि, अतिथि, विभिन्न राजीनिक दलका प्रतिनिधिहरुलगायत शुभकामना व्यक्त गरेका थिए । उनीहरुले देशमा संघीयता लागुसँगै सिंहदरबारको अधिकार स्थानीय तहमा आइसकेकाले उपमहानगरपालिकाको विकास अब स्थानीय तहबाटै गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको सहजीकरण अधिकृत सुवोध रेग्मीले गरेका थिए । २०३५ सालमा त्रिभुवन नगरपरिषदका रुपमा गठन भएको घोराही नगरपालिका हुँदै अहिले उपमहानगरपालिका भएको हो ।

तीन सञ्चारकर्मी पुरस्कृत

दाङ । घोराही उपमहानगरपालिकाले आफ्नो ४० औं स्थापना दिवसको अवसरमा प्रेस सेन्टर नेपाल दाङका कोषाध्यक्ष तथा इन्द्रेणी अनलाइन डटकमका सम्पादक केशरमान विसीलगायत ३ जना पत्रकारहरुलाई पुरस्कृत गरेको छ ।

अनलाइन पत्रकारिताको तर्फबाट बिसीलाई, छापा माध्यामको तर्फबाट गोरक्ष दैनिकका सुलोचना गौतमलाई र विद्युतीय (रेडियो) माध्यामका तर्फबाट मध्यपश्चिम एफएमका विमला घर्तीलाई पुरस्कृत गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद अमरबहादुर डाँगी, मेयर नरुलाल चौधरीलगायतले पुरस्कृत पत्रकारहरुलाई प्रशंसापत्र र नगदसहित सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *