डेढ सय वर्षपछि आज चन्द्रमामा तीन दुर्लभ घटना

  
  प्रकाशित मितिः बुधबार, माघ १७, २०७४       | 416 Views   ||

खगोल विज्ञान अध्ययनका दृष्टिले चन्द्र ग्रहण महत्वपूर्ण घटना हो । तर आज बुधबार चन्द्रमासँग सम्बन्धित तीन दुर्लभ घटनाहरु एकैसाथ हुन गइरहेका छन् ।

खग्रास चन्द्रग्रहण, ‘सुपर मुन’ र ‘ब्लु मुन’ तीनवटै खगोलिय घटना आज हुँदैछन् । खगोलशास्त्रीहरुका अनुसार डेढ सय वर्षपछि यस्तो दुर्लभ घटना हुन लागेको हो ।

खगोलीय दृश्यलाई आज लाग्ने ‘सुपरमुन’ खग्रास ग्रहण अष्ट्रेलिया र पूर्वी एशियाका देशहरुबाट राम्रोसँग अवलोकन गर्न सकिनेछ ।

नेपाली समाजमा ग्रहणको समयमा पूजापाठ गर्नुहुँदैन, सहबास गर्नुहुँदैन भन्ने मत राख्छन् । खगोलशास्त्रका अध्ययनकर्ताहरु चन्द्रमामा हुने यो विशेष घटनालाई त्यस्तो ठान्दैनन्। उनीहरुको मत छ, ‘यस्ता दुर्लभ खगोलिय घटनाको अध्ययन गरेर त्यसबाट लाभ उठाउने प्रयास गर्नुपर्छ।’

कसरी हेर्ने आजको ग्रहण ?

चन्द्रमासम्बन्धी तीन दुर्लभ घटना एकै साथ हुन लागेको अवस्थामा नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासा) अध्यक्ष सुरेश भट्टराईले एउटा विज्ञप्ति जारी गर्दै यसका आयाम प्रस्ट्याएका छन् ।

आजको चन्द्रग्रहणमा के गर्नुहुन्छ ? के गर्नु हुँदैन भन्ने थाहा पाउन यस्तो छ उनको सल्लाह–

आज साँझ ५ बजेर ३३ मिनेटमा सुरु भई राति ८ बजेर ५६ मिनेटमा सकिने खग्रास चन्द्रग्रहण अवलोकन गर्न चाहनेहरुले निर्धक्क भएर आफ्नो घर वा घर छेउमा रहेको खुल्ला चौरबाटै नाङ्गो आँखाले चन्द्रग्रहण अवलोकन गर्न सक्नेछन । वैज्ञानिक मूल्यमान्यता अनुसार चन्द्रग्रहण हेर्दा कुनै हानी नोक्सानी गर्दैन ।

ग्रहण चन्द्रोदय हुनुभन्दा अगावै सुरु हुने हुनाले अवोलोकन गर्न ईच्छुक व्यक्तिहरुले उत्तरपूर्वी दिशामा कुनै अवरोध नभएको स्थानमा बसेर हेरेको खण्डमा चन्द्रोदयको समय अर्थात् साँझ ५ बजेर ३६ मिनेट देखि नै ग्रहण देख्न सकिनेछ ।

यसरी सुरु हुने ग्रहणले चन्द्रमालाई ढाक्दै जाने क्रममा ६ बजेर ३६ मिनेटमा पुरै छोप्नेछ । अवलोकनकर्ताले ६ बजेर ३६ मिनेट देखि १ घण्टा १६ मिनेट सम्म अर्थात् ७ बजेर ५२ मिनेट सम्म चन्द्रमालाई तामा रंगमा देख्न सक्नेछन् । यस अवधिलाई खग्रास भनिन्छ । त्यसपछि ग्रहण क्रमशः कम हुदै राति ८ बजेर ५६ मिनेटमा सकिनेछ ।

आजको चन्द्रग्रहण के कारणले फरक छ ?

आज हुने खग्रास चन्द्रग्रहण र अन्य समयमा हुने खग्रास चन्द्रग्रहणमा फरक छैन । तर आज चन्द्रग्रहणको साथै सुपरमुन र ब्लु–मुन पनि परेको हुनाले विश्वव्यापी चर्चाको विषय बनेको मात्र हो ।

यस्तै खगोलीय घटना अघिल्लो पटक सन् १८६६ मार्च ३१ मा भएको थियो ।

आज सुपरमुनमा पृथ्वी र चन्द्रमा कति दुरीमा हुन्छन् ?

चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा वृत्ताकार बाटोबाट नगरी अण्डाकार बाटोमा गर्दछ । यस्तो बाटोबाट परिक्रमा गर्दा चन्द्रमा कहिले पृथ्वीको नजिक आउँछ त कहिले टाढा जान्छ । त्यसैले औंशी वा पूर्णिमाको बेला यसरी नजिक आएको चन्द्रमालाई सुपरमुन भन्ने गरिन्छ ।

ग्रहणको समयमा आज चन्द्रमा पृथ्वीबाट करिब ३,५८,००० किलोमिटरको दुरीमा रहनेछ । पृथ्वी र चन्द्रमाको औसत दुरी ३,८४,००० किलोमिटर हो ।

ब्लु मुन के हो ?

ग्रेगोरियन पात्रो अनुसार एउटा महिनामा दुईवटा पूर्णिमा परे दोस्रो पूर्णिमालाई ब्लु–मुन भनिन्छ । नेपाली समय अनुसार गत जनवरी २ तारिखमा पूर्णिमा परेको थियो भने जनवरीको अन्तिम दिन आज पनि पूर्णिमा परेको छ ।

सोसाइटीले विज्ञप्तिमार्फत् नेपाली विद्यार्थी तथा शिक्षकहरुलाई आजको ग्रहणलाई कक्षा कोठामा ग्रहण सम्बन्धी हुने पढाइको प्रयोगात्मक परीक्षाको रुपमा लिन आग्रह गरेको छ । साथै सम्भव भएसम्म ग्रहण अवलोकन गर्न र गराउन शिक्षक विद्यार्थीमा अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *