अलबिदा प्रिय मित्र !

  
  प्रकाशित मितिः शुक्रबार, माघ १९, २०७४       | 723 Views   ||

हाम्रो पहिलेको निवास डाँडागाउँ छिल्ली बिजौरीमा रहेको थियो । मजगैयाँ परिवारको विशेष सहयोगमा बिजौरीमा २००८ सालमै संस्कृत विद्यालय खुलिसकेको भए पनि हाम्रो बुवाले युगअनुरूप अङ्ग्रेजी शिक्षा पनि अनिवार्य रूपले पढ्नैपर्छ भन्ने सोचका साथ आफ्ना मित्र पद्मोदय पब्लिक हाइस्कुलका तत्कालीन प्रधानाध्यापक रामसूरत त्रिपाठीको सहयोगमा गोरखपुरबाट केही शिक्षक झिकाएर हामीहरूलाई घरमै पढाउने व्यवस्था मिलाउनुभएको थियो । हाम्रो ठूल्दाजु जनार्दन मजगैयाँले पद्मोदयमै पढ्नुहुन्थ्यो । पछि त्रिपाठी सरकै सल्लाहअनुसार हामी सबै भाइबहिनीहरूले पनि २०१७ सालदेखि पद्मोदयमा पढ्न थाल्यौँ ।

उत्तमकृष्ण मजगैंयाँ

नयाँ वातावरण, नयाँ गुरुहरू तथा नयाँ नयाँ साथीहरूसँग घुलमिल गर्दै, पढाइप्रति निकै गम्भीर बन्दै विद्यालयको अतिरिक्त क्रियाकलापअन्तर्गत् खेलकुद र साहित्यगोष्ठीमा समेत भाग लिएर रमाउन थाल्यौँ । घरको साँघुरो र बोझिलो वातावरणको तुलनामा यहाँको विस्तृत क्षितिजमा निर्बन्ध उड्न, रमाउन पाउँदा हाम्रो मन पनि फराकिलो तथा विचार पनि रचनात्मक बन्दै गयो । म मित्रतामा बढी विश्वास गर्ने, त्यसमा पनि सरल प्रकृतिका सिधासादा व्यक्तिहरूसँग छिटै घुलमिल गरिहाल्ने स्वभावको थिएँ, त्यसैले ठूला व्यापारी, जमिन्दार वा उच्च वर्गका विद्यार्थीहरूसँग भन्दा सामाजिक र आर्थिक रूपमा केही कमजोर रहेका, निमुखा जस्ता देखिनेहरूसँग बढी सङ्गत गरेर उनीहरूलाई पढाइ लेखाइमा समेत सहयोग गर्दै उनीहरूमा आत्मविश्वास भर्न सक्दो सहयोग गर्ने गर्दथेँ । दाङका पिछडिएका क्षेत्र र राप्तीका पहाडी जिल्लाबाट आएर पद्मोदयमा हाम्रै कक्षामा नाम लेखाउने साथीहरूलाई पनि विद्यालयको नौलो वातावरणमा सहजरूपले घुलमिल गर्न विशेष सहयोग र सल्लाह दिने गर्थें ।

यस्तै क्रममा एउटा दुब्लो पातलो शरीरको, तुलनात्मक रूपमा केही लामो नाक भएको, ख्याउटे अनुहार तर चम्किला आँखा र चौडा निधार भएको, केही श्यामल रङको एउटा लुसे केटा हाम्रो कक्षामा भर्ना हुन आइपुग्यो । उसले केही हडबडाएको, केही डराएको, केही लजाएको जस्तो मिश्रित भाव देखाउँदै थियो । पहाड अथवा दाङकै गाउँटोलबाट त्यति ठूलो विद्यालयमा प्रथमतः आउने जुनसुकै व्यक्तिको पनि यस्तै अवस्था हुने गर्छ भन्ने कुरा मैले राम्रोसँग बुझेको थिएँ । त्यसैले त्यस केटालाई आश्वस्त पारेर सामान्य रूपमा ल्याउन मैले आफैँ परिचयको सुरुवात गरेँ ।

उनको नाम नित्यानन्द शर्मा र थर खनाल रहेछ । उसको घरचाहिँ अम्बापुरको सिरानमा पहाडकै फेँदीनेर रहेछ ।

उसको सरलता, शिष्टता र सोझोपनले म निकै प्रभावित भएको थिएँ । ऊ मेरो असल मित्र बन्न सक्ने केही सङ्केत हाम्रो त्यही प्रथम भेटले दिइसकेको थियो, जसलाई त्यसपछिको उसको सद्व्यवहारले क्रमशः पुष्टि गर्दै लग्यो । पछिल्ला वर्षहरूमा त ऊ मेरो गौरव गर्न लायक मित्रका रूपमा स्थापित हुँदै गयो । त्यसबेला उसले मप्रति कस्तो धारणा राख्थ्यो – त्यो मलाई थाहा भएन, तर म भने उसमाथि आँखा चिम्म गरेर विश्वास गर्न सक्ने भइसकेको थिएँ ।

महेन्द्र बहुमुखी क्याम्पस दाङका सहकर्मीहरुसँग नित्यानन्द शर्मा

प्रायः म कक्षाको मनिटर बनाइन्थेँ र शिक्षकहरूका आँखामा पढाइमा समेत राम्रो ठहरिएकाले उहाँहरूको प्रियपात्र पनि थिएँ, त्यसैले कक्षामा मेरो हैकम चल्थ्यो । शिक्षकहरूको अनुपस्थितिमा कक्षामा अनुशासन कायम राख्नुका साथै कक्षालाई केही न केही पढाएर व्यस्त राख्ने दायित्व पनि रहन्थ्यो मनिटरहरूको । त्यसैकारण साथीहरूले सम्मान पनि गर्थे । मैले मध्यान्तरको समयमा कहिलेकाहीँ आफूले रचना गरेका गीत, कविता र लघुकथा सुनाएर साथीभाइहरूको मनोरञ्जन गर्ने गर्थेँ ।

पद्मोदयमा प्रत्येक शुक्रवार आधा दिनको पढाइपछि साहित्य गोष्ठी हुने गथ्र्यो, जसमा मैले निर्धक्कसाथ आफ्ना रचना वाचन गर्थेँ । मेरा सहोदर दाजु जनार्दन शर्मा, लक्ष्मणप्रसाद शर्मा तथा वासुदेव घिमिरे, भीमकान्त आचार्य, अर्जुन सिटौला, नवराज रजौरेहरू विद्यालयका अग्रज साहित्यकार थिए जसका रचना अन्य सिकारु विद्यार्थीहरूले पनि अभ्यासका लागि गोष्ठीमा सुनाउने गर्थे । तर मैले जानी नजानी भए पनि आफै लेखेर सुनाउने गर्थेँ ।

पद्मोदयको वार्षिक मुखपत्र ‘ज्योत्स्ना’ मा मेरो २०२० मा ‘तबमात्र’ शीर्षकको कविता, २०२१ मा ‘लुतोसँग’ शीर्षकको प्यारोडी गीत र २०२२ मा ‘पश्चात्ताप’ शीर्षकको कथा प्रकाशित भएको थियो । मेरो नूतन मित्र नित्यानन्द केही लज्जालु स्वभावको भएकाले ऊ अलि हच्किन्थ्यो, तर मैले उसलाई लेख्न उत्प्रेरित गर्दैै गोष्ठीमा सुनाउन कर गरिरहन्थेँ । उसले पछि गीतिलयलाई पछ्याउँदै केही नयाँ गीतहरूको रचना ग¥यो ।

२०२३ सालको ‘ज्योत्स्ना’ मा उसको ‘विदेश नजाऊ’ शीर्षकको पहिलो गीतिलयात्मक कविता प्रकाशित भएको छ । ऊ त लोकगीतका चुट्कामा भुरुङझैँ मज्जाले नाच्दो पनि रहेछ ! हाम्रा लागि त्यो उसको नौलो रूप थियो । हामी उसलाई गम्भीर स्वभावको ठान्थ्यौँ तर ऊ त निकै रसिक र विनोदप्रिय पनि रहेछ ! कहिलेकाहीँ उसले कक्षामै तथा कहिले विद्यालयमा देखाइने गरेका नाटकहरूमा कम्मर मर्काइ मर्काइ नाचेर सबैलाई विस्मित बनाइदिएको थियो । यसरी उसको प्रतिभाले चर्चा पाउँदै ग¥यो ।

नित्यानन्दले मुक्तलयका कवितामा तथा कथा विधामा पनि बिस्तारै हात हाल्दै ग¥यो । एस.एल.सी. गरेपश्चात् महेन्द्र कलेजमा पढ्दै गर्दा २०२५ सालमा ऊ ज्योत्स्नाको आठौँ अङ्कको छात्र सम्पादकका रूपमा पनि रहेको थियो ।

नित्यानन्दको र मेरो जन्म एउटै वर्ष २००९ सालमा भएको, तर केही महिनाले म ऊ भन्दा जेठो रहेको छु । मैले असारको आत्तुरीमा र उसले चैतको चटारोमा यस धरतीमा पहिलोपल्ट पाइला टेकेका थियौँ । हामीले एस.एल.सी. पनि यौटै वर्ष अर्थात् २०२४ सालमा उत्तीर्ण गरेका थियौँ । उसको अङ्कलको छोरा माधव खनाल पनि मेरा अति मिल्ने प्रिय मित्र हुन् । उनले पनि त्यसैवर्ष एस.एल.सी. राम्रो नम्बरले उत्तीर्ण गरेका हुन् ।

अझ रमाइलो के भने, साइन्स सर रामसुख मिश्र र हामीलाई मुख्य नेपाली विषय पढाउने भारतीय गुरु प्रभाकर त्रिपाठीले पनि त्यसैवर्ष नेपाली विषयमा एस.एल.सी. को परीक्षा दिएर उत्तीर्ण गर्नुभएको थियो । साइन्स सरले सय पूर्णाङ्कमा ३५, प्रभाकर सरले ६०, नित्यानन्दले ५१ र मैले ६२ नम्बर प्राप्त गरेको थिएँ । प्रभाकर सरले मलाई प्रोत्साहित गर्दै – ‘गुरु गुड, चेला सक्कर’ भन्नुभएको सम्झना छ । एस.एल.सी. पछि म भारतको बलरामपुर शहरको एम.पि.पि.इन्टर कलेजमा विज्ञान विषय लिएर पढ्न थालेँ भने नित्यानन्दले महेन्द्र कलेज (पछि महेन्द्र बहुमुखी क्याम्पस) मा आइ.ए. अध्ययन गर्न थाल्यो । तर पछि उसले बनारसबाट प्राइभेट परीक्षा दिएर आइ.ए. उत्तीर्ण गरेको थियो । यस समयावधिमा हाम्रो भेटघाट केही पातलियो ।

तर संयोगवश २०२९ सालमा दाङमा नयाँ शिक्षा योजना लागु भएपश्चात् हामी दुवैले रामपुरको गङ्गा मा.वि. मा सँगै अध्यापन गर्न थाल्यौँ । त्यसबेलासम्म ऊ बढी चेतनशील, जिम्मेवार र कर्तव्यलाई प्राथमिकता दिने सक्रिय र जागरुक युवा बनिसकेको थियो । हामीले त्यहाँ उसले लेखेको ‘शिक्षाको देन’ नामक चेतनामूलक नाटक देखायौँ, विद्यालयको वार्षिक मुखपत्रका रूपमा ‘गङ्गा’ पत्रिकाको प्रथम अङ्क प्रकाशित ग¥यौँ, विद्यालयमा विभिन्न साहित्य गोष्ठीको आयोजना ग¥यौँ । विद्यार्थीहरूमा रचनात्मक गुणको विस्तार गर्न थालिएका हाम्रा यी सत्प्रयासले हामीलाई विद्यार्थी, अभिभावक एवम् शिक्षकहरूका माझ प्रतिष्ठा र लोकप्रियता दिलायो । तर त्यहाँ अध्यापन गर्न थालेको एक वर्षभित्रै अर्थात् २०३० सालमा घोराहीको बालविकासमा मेरो सरुवा भयो भने उसले पनि त्यही वर्षदेखि भरतपुरको महेन्द्र कलेजको प्रशासन फाँटमा जागिर खान थाल्यो ।

मेरो पुनः सरुवा भएर मैले मा.वि. सेवार वनगाउँमा शिक्षण गर्न थालेँ । पुनः त्यसै वर्ष चौघेरा मा.वि. मा मेरो सरुवा र बढुवा भएपश्चात् स्थायी शिक्षक पदबाट राजीनामा दिएर उच्च शिक्षा ग्रहण गर्न म बनारस पुगेँ । त्यहाँबाट फर्केपछि धर्ना मा.वि. मा र २०३५ साल वैशाख १२ गतेदेखि पद्मोदयमा अध्यापन गर्न थालेँ । तत्पश्चात् मित्र नित्यानन्दसँगको भेटघाट पुनः सघन हुँदै गयो र हामीले विभिन्न सङ्घ संस्थामा सहकार्य गर्दै महŒवपूर्ण जिम्मेवारी निर्वाह गर्दै गयौँ । त्यसबेला ऊ क्याम्पसको प्रशासकीय पदमा कार्यरत छँदै पुस्तकालय विज्ञानको विशेष अध्ययनका लागि कलकत्ता गयो । त्यसपछि ऊ क्याम्पसको उप लाइब्रेरियन पदमा लामो समय कार्यरत रह्यो ।

नित्यानन्दसँग समय पनि थियो, अवसर पनि थियो, क्षमता पनि थियो र काममा निरन्तर खट्न सक्ने युवा जोस र जाँगर पनि थियो । क्याम्पसमा नियुक्ति पाएपश्चात् कृष्णकुमार घिमिरे, गणेशबहादुर गुरुङ, नारायणसिंह गुरुङ, भैरव मजगैयाँ, प्रा.डा. वसन्तराज शर्मा, प्रा.डा. विनबहादुर सिंह वली, प्रा.डा.राधा शाह जस्ता कतिपय क्याम्पस प्रमुखहरू सँगसँगै क्याम्पसको प्रगति र व्यवस्थापन कार्यका लागि ऊ निरन्तर दौडमा रह्यो । ऊ क्याम्पसको एक अभिन्न अङ्ग जस्तै बनिसकेको थियो ।

क्याम्पसका नयाँ कार्ययोजना निर्माण, कार्यपत्र र प्रायः सबै नियमित बैठकका निर्णय उसकै हस्ताक्षरले लेखिन्थे । क्याम्पसमा भैपरिआउने जटिल समस्या र अप्ठ्याराहरूमा प्रथमपटक जुझ्ने उही नै हुन्थ्यो । पुस्तकालय तथा वाचनालयको उचित व्यवस्थापनका साथै जिल्लाका अन्य विद्यालयका लाइब्रेरियनहरूलाई समेत उसले पुस्तकालयसम्बन्धी प्रशिक्षण दिलाएको थियो तथा सबैलाई समेटेर पुस्तकालय सङ्घको समेत स्थापना गरेको थियो । यस कार्यले उसको नेतृत्व क्षमतालाई उजागर गरेको थियो भने उसलाई त्यस क्षेत्रमा प्रतिष्ठा पनि दिलाएको थियो ।

प्रजातन्त्रप्रति अटुट आस्था राख्ने हामी दुवै पञ्चायती प्रशासनको नजरमा अ.त. (अराष्ट्रिय तŒव) थियौँ । नित्यानन्दको यसै कारणले नोकरी स्थायी हुन सकिरहेको थिएन । म २०२७ सालमा जेल बसिसकेको थिएँ, त्यसैले नित्यानन्दले सुरु सुरुमा मसँग केही दूरी बढाएझैँ, मसँग तर्सेझैँ नभेट्ने पनि ग¥यो, तर क्याम्पस चिफ गणेशबहादुर गुरुङ, प्राध्यापक नारायण सिंह गुरुङ र तत्कालीन एस.पी. रामशरण थापाको सत्प्रयासपछि प्रशासनबाट सफाइ पाएर उसले स्थायी नियुक्ति पायो । त्यसपछि मात्र हाम्रो सम्बन्धले फेरि पुरानै लिक समात्यो ।

मैले दाङमा २०३४ सालमा परिवार नियोजन सङ्घको स्थापना भएपश्चात् स्वयंसेवकका रूपमा सक्रियता देखाउन चाहेको थिएँ तर पञ्चायतकालमा ममाथि विश्वास गरिएन । चुनाव हुँदैनथ्यो, मनोनयनको प्रचलन थियो । छनौट समितिमा प्रायः पञ्चायत निकटका उस्तै व्यक्ति हुने गर्थे । युवा सदस्यको पदप्रति मेरो आकर्षण रहेको थियो तर प.नि.सङ्घमा हाली मुहाली रहेका व्यक्तिहरू हामी प्रजातन्त्रवादीहरूलाई नेतृत्व दिन मन्जुर भएनन् ।

नित्यानन्द शर्मासँग लेखक । साथमा नित्यानन्दकी छोरी ।

प्रजातन्त्रको पुनर्वहालीपश्चात् कार्यसमितिको चुनाव भएपछि मात्र म विजयी भएर सदस्यका रूपमा आएँ भने गुरुप्रसाद शर्मा रेग्मी सभापति र नित्यानन्दले सचिवको पद प्राप्त गरे । मेरो इच्छा केन्द्रीय सदस्य पदका लागि चुनाव लड्नु थियो । केन्द्रीय प्रतिनिधिका रूपमा मेरो चयन गर्न गुरुप्रसाद रेग्मी, नित्यानन्द शर्मा र रामबहादुर कुवर लगायतका मित्रहरूको सदाशयता रह्यो । २०४७ सालमा चितवन (नारायणगढ) मा सम्पन्न भएको केन्द्रीय अधिवेशनमा अत्यधिक मतबाट म केन्द्रीय सदस्यका रूपमा विजयी बनेँ । म उक्त पदमा रहेकै बेला श्रीलङ्काको भ्रमणका लागि मैले नित्यानन्दको नाम सिफारिस गर्न चाहेँ, तर उसले ‘निरन्तर खटेको स्वयंसेवक’ भन्दै मित्र रामबहादुर कुवरको नाम सिफारिस गर्न अनुरोध ग¥यो । फलस्वरूप मेरा पनि दाजु सरहकै आत्मीय मित्र रामबहादुर कुवरलाई उक्त भ्रमणमा पठाउने काम भयो । उसको निःस्वार्थ भावको यो उत्कृष्ट उदाहरण थियो ।

‘म खाऊँ, मै लाऊँ’ जस्तो विकृति र व्यक्तिवादी चरित्र मौलाइरहेका बेला सामाजिक काममा सबै साथीहरूलाई समेटेर लैजाने उसको उच्च भावनाबाट सामाजिक संस्थामा काम गर्ने सबैले प्रेरणा लिनुपर्छ भन्ने मेरो ठहर छ । अर्को वर्षको लटमा श्रीलङ्काको अध्ययन भ्रमणमा जाने अवसर नित्यानन्दलाई नै प्रदान गरियो । त्यस कार्यबाट मलाई अत्यन्त सन्तुष्टि मिलेको थियो ।

नित्यानन्दले २०४५ सालमा आफ्नो पहिलो कृति “बाँच्ने रहर” प्रकाशित गरेर दङाली कथाको फाँटमा पहिलो कृति प्रकाशन गर्ने साहित्यकारका रूपमा कीर्तिमान बनाउन सफल भयो । मैले दाङका दोस्रो पुस्ताका साहित्यकारहरूको बारेमा अध्ययन गर्ने क्रममा प्राप्त तथ्याङ्कका आधारमा ‘विरहीको पत्र’ शीर्षकको प्रकाशित कथा पहिलो र त्यसका लेखक मीन दङाली (मीनकेतन शर्मा घिमिरे : उदय : वर्ष–१४, अङ्क १४–२००८ साल) दाङका प्रथम कथाकार एवम् नित्यानन्द शर्माको ‘बाँच्ने रहर’ नामक कथासङ्ग्रह (२०४५) दाङको पहिलो प्रकाशित कथाकृति रहेको पाइएको हो । ‘दङाली कथा र कथाकारहरू’ शीर्षकमा नयाँ युगबोध (२०६० मङ्सिर २६ गते) मा प्रकाशित मेरो खोजमूलक आलेखमा सर्वप्रथम मैले यस तथ्यको उल्लेख गरेको छु भने यही आलेख केही परिमार्जनसहित अन्तध्र्वनिको ‘राप्तीका कथा विशेषाङ्क’ (तेह्रौँ अङ्क–२०६४ असोज) मा पनि पुर्नप्रकाशित रहेको छ ।

शोधार्थी कमलाकुमारी डाँगीले स्नातकोत्तर दसौँपत्रको प्रयोजनका लागि यही कथाकृति ‘बाँच्ने रहर’ मा शोध गर्न थालेपछि पूर्वकार्यको अभावका कारण नित्यानन्दको विशेष अनुरोधमा मैले यस कृतिको समीक्षा पनि लेखेर नयाँ युगबोधमा प्रकाशित गराएको थिएँ । यसरी, अरूको काममा दिन रात नभनेर खटेर लाग्ने तथा साथीभाइहरूसँग बौद्धिक सहयोग लिन पनि कत्ति नहिच्किचाउने उसको सरल र निश्छल स्वभाव थियो ।

उसको ‘जूनमामा’ बालगीत कविता सङ्ग्रह प्रकाशन गर्ने निधो भएपश्चात् उसले निकै आग्रहका साथ त्यसको सम्पादन, भाषाशुद्धिका साथै भूमिका लेख्ने जिम्मेवारी समेत मलाई नै दियो । आफ्नो प्रिय मित्रको अनुरोधलाई मैले अस्वीकार गर्न सक्ने कुरै भएन । २०६५ सालमा लेखकसङ्घद्वारा यस कृतिको प्रकाशन भएपछि नै नित्यानन्द बाल–साहित्यकारका रूपमा स्थापित हुन पुगेको हो ।

२०२९ देखि नै रेडियो नेपालबाट बज्ने उसको बालगीत ‘जूनमामा’ ले उसलाई चर्चामा ल्याएकै थियो तर ‘जूनमामा’ पुस्तकले उसलाई प्रतिष्ठा पनि दिलायो । डिला चौधरीले स्नातकोत्तर दसौँ पत्रको प्रयोजनार्थ यसै कृतिमा २०७२ सालमा शोध सम्पन्न गरिसकेकी छन् ।

नित्यानन्द सङ्लग्न रहेका धेरैजसो संस्थामा मेरो पनि सङ्लग्नता रहेको छ । परिवार नियोजन सङ्घ (२०३४), राप्ती साहित्य परिषद् –(२०३४), नेपाल पत्रकार सङ्घ दाङ शाखा – (२०५०), लेखक सङ्घ दाङ –(२०५२) जस्ता संस्थाका संस्थापकका रूपमा हामीले सँगसँगै काम ग¥यौँ । केही पत्रपत्रिका र स्मृतिग्रन्थहरूको मिलेर सम्पादन कार्य पनि ग¥यौँ ।

पद्मोदयमा मा.वि. शिक्षकका रूपमा मैले ३६ वर्ष अध्यापन कार्य गरेँ भने उसले पनि एक सेसन शिक्षक–अभिभावक सङ्घको अध्यक्ष भएर काम गर्दै १०+२ को विज्ञान सङ्कायलाई सम्पुष्ट गर्न निकै ठूलो भूमिका निर्वाह गरेको थियो । विज्ञान सङ्कायमा विद्यार्थी भर्ना न्यून भएपछि जिम्मेवार व्यक्तिहरूमध्ये केही हतोत्साहित हुँदै– “अब यहाँ विज्ञान विषयको पढाइ गर्न असम्भव छ” भन्ने मनस्थितिमा पुगिसकेका बेला उसले आफ्नो एकमात्र मेधावी पुत्र श्रवण खनाललाई ठूलो हिम्मत र आत्मविश्वासका साथ यसै विद्यालयमा भर्ना गरिदिएर अरूलाई पनि प्रोत्साहित र अभिप्रेरित गर्दै भर्नाको अभियान नै चलायो । शिक्षक मस्तबहादुर श्रेष्ठले पनि आफ्नो छोरालाई यहीँ भर्ना गरिदिएर उसलाई सघाउ पु¥याउनुभएको थियो ।

विज्ञानको प्रयोगशाला एवम् पाठ्यपुस्तक र पुस्तकालयको उचित व्यवस्थापन, योग्य शिक्षकको नियुक्ति, विद्यालयको सतत अनुगमन र उचित मार्ग निर्देशनद्वारा नै क्रमशः पठनपाठनमा उल्लेख्य सुधार आएको यथार्थ हो । उक्त ब्याचले परीक्षामा उत्कृष्ट नतिजा देखाएकाले दोस्रो वर्ष भर्ना हुने विद्यार्थीहरूको घुइँचो नै लाग्यो । ऊलगायत प्राचार्य गोविन्दप्रसाद न्यौपाने, १०+२ र मा.वि.का शिक्षकहरू र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एवम् सदस्य साथीहरूले निकै यत्नले हुर्काएको बिरुवा झाङ्गिएर अहिले विशाल वटवृक्षझैँ बनिसकेको छ ।

प.प.हाइस्कुलको वार्षिक मुखपत्रका रूपमा २०१५ सालदेखि प्रकाशन आरम्भ भएको ‘ज्योत्स्ना’ पत्रिका २०३३ सम्म प्रकाशित भएर बन्द हुन पुगेकोमा वि.व्य.स.का अध्यक्ष गुरुप्रसाद रेग्मी, शिक्षक अभिभावक सङ्घका अध्यक्ष नित्यानन्द शर्मा, प्राचार्य गोविन्दप्रसाद न्यौपाने, बमबहादुर डि.सी. र म उत्तमकृष्ण मजगैयाँको विशेष प्रयासबाट २०६० देखि नव अङ्कका रूपमा यसको पुनःप्रकाशन हुन थालेको हो । मेरो एकल सम्पादनमा यसका ११ नवअङ्क निस्केका हुन् । म सेवानिवृत्त भएपश्चात् शिक्षक मदन सुवेदीको सम्पादनमा यसले निरन्तरता पाइरहेको छ । यसरी ज्योत्स्नाले पुनर्जीवन पाउनु र यसको प्रकाशनको निरन्तरता रहनुमा अन्य व्यक्तित्वहरुका साथै नित्यानन्दको पनि ठूलो भूमिका रहेको थियो ।

म प्रायःजसो नित्यानन्दसँग भेट गर्न म.ब.क्याम्पस गइरहन्थेँ । मेरो आगमनप्रति त्यहाँका कर्मचारी र सरहरू यति अभ्यस्त भइसकेका थिए कि म क्याम्पसको आँगन परिसरमा पुग्दा नपुग्दै प्रथमतः भेट हुने जो कसैले मैले नसोद्धै “नित्यानन्द सर माथि लाइब्रेरी कक्षमा हुनुहुन्छ, अथवा चिफ सरको कोठामा मिटिङमा हुनुहुन्छ, अथवा आज क्याम्पस आउनुभएको छैन” भनेर पहिले नै भनिदिन्थे ।

उसको फुर्सदमा कहिलेकाहीँ म कुनै काम विना नै उसलाई भेटेर केहीबेर हँस्सी दिल्लगीका साथ उल्लीबिल्ली गफ उडाउँदै, चिया पिएर तरोताजा महसुस गर्दै फर्कन्थेँ भने कहिले उसैले फोन गरेर बोलाउँदै ‘बाबा होटेल’मा उसलाई औधि मनपर्ने प्याजका पकौडी र चिया पिउने प्रस्ताव राख्थ्यो । ऊ लोकल कुखुराको मासु भनेपछि हुरुक्कै हुने गथ्र्यो ।

एकपल्ट उसकै प्रस्तावमा घोडदौरामा सेतो मकैको आटो, बाक्लो मही (मठ्ठा) र लोकल कुखुराको मासुको व्यवस्थाका साथ केही विशिष्ट साहित्यकारहरूको जमघट गराएर साहित्यगोष्ठीको आयोजना गरिएको थियो, तर दुर्भाग्यवश उसका श्रद्धेय बुबा कुलप्रसाद खनालको त्यसैदिन अर्थात् २०६५ कार्तिक १ गते बिहान अकस्मात् निधन भएका कारण ऊ र म उक्त कार्यक्रममा उपस्थित हुन सकेनौँ । पूर्व निर्धारित कार्यक्रम त जसरी तसरी सम्पन्न भएछ तर साथीहरूलाई कार्यक्रम अवधिभर खल्लो लाग्नु स्वाभाविक नै थियो । खानपिनको प्रबन्धको सम्पूर्ण जिम्मेवारी भने नित्यानन्दकै क्याम्पसका दीर्घ सहयात्री खुशल भाइले वहन गरेका थिए ।

यदाकदा नित्यानन्दले मसँग भन्ने गथ्र्यो – “तँजस्ता मित्रका लागि त घरपरिवार पनि छोड्न सकिन्छ, किनभने रिसाए पनि आखिर उनीहरू त सधैँ आफ्नै रहिरहन्छन्, तर साथी कथम्कदाचित रिसाएर छुटे भने फेरि फर्कन्नन् । त्यसमा पनि तँजस्तो प्रिय बालसखा ‘लङ्गौटीयायार’ त फेरि यस जुनीमा कहाँ पाउनू ? म सुदामा हुँ, तँ त मेरो कृष्ण होस् ।” मैले त्यसै विषयवस्तुलाई समेटेर “मित्र, दुई चित्र” शीर्षकको कविता लेखेँ । त्यसको प्रथम चित्र यसप्रकार रहेको छ :

“मित्रभन्दा कुनै ठूलो छैन दौलत विश्वमा
यी जादुगर हुन् आँसु बदल्ने मुक्त हास्यमा ।
सिँढी उत्थानका हुन् यी आशाका तार सुन्दर
सदैव मित्र नै हुन्छ त्यागका लागि तत्पर ।

यिनका सामु चिन्तादि न केही टिक्न सक्दछन्
यिनको एक हाँसोमा मनका पीर भाग्दछन् ।
यिनको स्पर्शले हाम्रो आँखाको अश्रु सुक्दछ
पाएर उनको साथ पाउमा स्वर्ग झुक्दछ ।

मित्र छोडेर जाँदैनन् जस्तै कष्ट परे पनि
बनेर ढाल थापिन्छन् जस्तै वज्र परे पनि ।
आत्मविश्वासका सिङ्गो आधारस्तम्भ हुन् यिनी
प्रेम, सद्भावनाका औ श्रद्धाका देवता यिनी ।

मार्गदर्शक हुन् मित्र सबै राम्रो चरित्रका
भाइ हुन्, बन्धु हुन् मित्र स्रोत हुन् रसरङ्गका ।
धैर्य हुन्, प्रेम हुन् मित्र सहारा हुन् सधैँभरि
यिनको स्नेहको मूल्य तिर्न को सक्छ के गरी ?”

हामी दुई परिवारका बिचमा घनिष्ठ सम्बन्ध रहेको छ । नित्यानन्दका दुवै भाइ भतिजा, भतिजीहरूलाई मैले पद्मोदयमा पढाएको हुँ । नाताले उसको साहिँलो भाइ भीमकुमार खनाल मेरी साली सुशीलाका श्रीमान् अर्थात् मेरा साढुभाइ हुन् । तर नित्यानन्द र मेरो बिचको साइनो भने आदिदेखि अन्त्यसम्म केवल मित्रताकै रह्यो । बिल्कुल अनौपचारिक रूपमा एक आपसमा बाल्यकालकै जस्तो तँ तँ म म कै भाषा बोल्थ्यौँ हामी । त्यही निश्छल, अकृतिम र अनौपचारिक व्यवहारमै अपार हार्दिकता र अपनत्वको सागर छल्किन्यो ।

साहित्यकार नित्यानन्द शर्मालाई सम्मान गर्दै राप्ती साहित्य परिषद्का अध्यक्षलगायत

महेन्द्र बहुमुखी क्याम्पसबाटै स्नातक पास गरेका मेरा तीनवटै छोराछोरी राजीव, वन्दना र प्रदीपले उसलाई ‘अङ्कल’ भन्दै सम्मान गर्थे र बदलामा उसबाट स्नेह र आशीर्वाद प्राप्त गर्थे । उसले व्यक्तिगत रूपमा उपलब्ध गराएका पुस्तक पढेर तीनैजनाले स्नातकोत्तर प्रथम श्रेणीमा उत्तीर्ण गरेका हुन् । उसकी ठूली छोरी अरुणा (गौरी) र अन्य छोरीहरू, अञ्जु, रञ्जु र मञ्जुलाई पद्मोदयमा मैले विज्ञान र स्वास्थ्य विषय पढाएको हुँ । उनीहरूलाई मैले दिने छोरीसरहको हार्दिक स्नेह र उनीहरूले मलाई दिने अभिभावक सरहको सम्मान र आत्मीयतामा आजसम्म कुनै कमी आएको मैले महसुस गरेको छैन । हामी दुई परिवार बिचको यो हार्दिक सद्भाव र अपनत्व सधैँ रहिरहने कुरामा म विश्वस्त रहेको छु ।

अम्बापुरको खनाल परिवारले लामो समयदेखि अम्बिकेश्वरी मन्दिरको पुजारीका रूपमा नियमित पूजाआजा चलाउँदै आएका थिए । त्यसैले पनि नित्यानन्द यस मन्दिरसँग भावनात्मक रूपले जोडिएको थियो । मन्दिर व्यवस्थापन समितिमा रहेर सचिवको रूपमा उसले मन्दिरको जीर्णोद्धार र विस्तार कार्य एवम् खानेपानीको प्रबन्ध, पार्क निर्माण तथा अन्य भौतिक निर्माण कार्यमा ठूलो योगदान दिएको थियो । मन्दिरको विषयमा खोजमूलक परिचयात्मक लेख प्रकाशित गरेर प्रचार प्रसार गर्दै सांस्कृतिक पर्यटनलाई बढावा दिँदै गर्दा नित्यानन्दको मनमा सनातन धर्म र संस्कृतिप्रतिको मोह तीव्र रूपमा बढ्दै ग¥यो । त्यस कार्यले उसलाई अन्य क्षेत्रका सांस्कृतिक महŒव बोकेका विविध मठमन्दिर र पर्यटकीय गन्तव्य बन्न सक्ने प्राकृतिक सौन्दर्यले परिपूर्ण क्षेत्रहरूको अध्ययन र अनुसन्धान गर्न समेत अभिप्रेरित गर्दै लग्यो ।

संस्कृतिविद् प्रा.डा.शिवकुमार सुवेदी र अध्ययनशील साहित्यकार एवम् सांस्कृतिक अनुसन्धाता डा.गोविन्द आचार्यसँगको अत्यन्त घनिष्ठताले गर्दा विभिन्न संस्कृति र पर्यटनतिर उसको अभिरुचि अझ बढ्दै गयो । कथा, कविता, गीत, बालगीत र बाल कविता लेख्दै गर्दा एकाएक ट्र्याक परिवर्तन गरेर उसले आफ्ना कदम सांस्कृतिक अध्ययन र लेखनतिर बढाउँदै लग्यो, जसले गर्दा रचनात्मक साहित्य–सिर्जनाका लागि ऊसित समयको प्रायः अभाव हुन थाल्यो । क्याम्पसको जागिर, सामाजिक क्रियाकलाप र सांस्कृतिक अध्ययनको व्यस्तताले गर्दा उसमा साहित्यतिरको सक्रियता त्यति रहेन । अध्ययनका क्रममा पहाड, खोला–खर्क, लेक बेँसीको अथक यात्रा र खाई नखाई विना आराम अध्ययन–अनुसन्धान कार्यमा खटेको खट्यै गर्दा मनले नहारे पनि उसको दुब्लो पातलो ख्याउटे ज्यानले त्यो अत्यधिक श्रम थेग्न सकेन ।

उसका छाया–साथीहरूमध्ये प्रा.डा. शिवकुमार सुवेदीलाई मधुमेह तथा उच्च रक्तचापको समस्याले जकडेको तथा डा. गोविन्द आचार्यलाई पनि अम्लपित्त र पेटसम्बन्धी विभिन्न समस्याले केही समय थल्याएको हामीजस्ता निकटका साथीहरूलाई थाहा नै छ । खानपानप्रति निकै संयम अपनाउँदै लामो उपचारपश्चात् गोविन्दजी स्वस्थ बन्दै जानुभयो । तर नित्यानन्दले भने सबै कुराको बेवास्ता गर्दै उच्च रक्तचाप र पेटसम्बन्धी रोग पालिरह्यो । पित्तथैलीको पत्थरीको शल्यक्रियापश्चात् ऊ अझ गलेको थियो । तर आफ्नो बिग्रदो स्वास्थ्यलाई बेवास्ता गर्दै सामाजिक–सांस्कृतिक अध्ययन अनुसन्धान कार्यमा ऊ निरन्तर कटिबद्ध भएर लागिरह्यो । उचित पौष्टिक खानपान, आवश्यक विश्राम र सन्तुलित जीवनशैली अपनाउन हामीजस्ता मित्रहरूले पटक–पटक दिएको सुझाव र सल्लाहलाई समेत निरन्तर उपेक्षा गर्दै कठोर परिश्रमका साथ आफ्नो लक्ष्य प्राप्तिका लागि खटिरहने उसको स्वभावले पनि अनपेक्षित विसङ्गति जन्माएको हुनसक्छ ।

मैले उसलाई योग गर्ने सल्लाह दिँदै ‘म सिकाउँछु’ भनेँ तर उसले ‘म बिहान उठिनसक्दै मेरो आँगनमा मलाई भेट्नेहरूको लाइन लागिसक्छ । यो सल्लाह त्यो सुझाव, यो मिटिङ, त्यो निर्णय गर्दागर्दै बिहान बित्छ । अनि हतार हतार खाना खाएर क्याम्पसको दौड सुरू भइहाल्छ । कसबेला योग गर्ने मैले ? सधैँ दुई घण्टा पैदल हिँड्छु, त्यसैले मेरो व्यायामको काम गरेको छ । फेरि, मेरो शरीर त फौलाद (फलाम) ले बनेको छ । म आगो खाएर अङार र ढुङ्गा खाएर बालुवा बनाइदिन सक्छु । म पच्चीस वर्षे तन्नेरी भन्दा के कुरामा कम छु ? लौ भन् ! म त साठी वर्षे युवा हुँ, बुझिस् ?” भन्दै मेरो सुझाव र चेतावनीलाई उसले हाहामै उडाइदिन्थ्यो । उसको कथन सुनेर मैले एउटा गजल लेखेँ । त्यसको यौटा शेर यस्तो रहेको छ :–

“म साठी वर्षको मान्छे, म साठा मा’नि पाठा हुँ
युवाकै साथमा लागी बनेको छु युवा जस्तो !”

आफ्नो शरीरप्रतिको निरन्तर उपेक्षा, उचित विश्राम, उचित आहार विहार र व्यवस्थित जीवनशैलीको अभावमा शरीर र प्रकृतिले कठोर विरोध जताइहाल्यो । उसको मोटेआन्द्रामा अर्वुदजस्तो भयानक रोगले छोइसकेको रहेछ ! यो रोग लाग्नुका पछि अन्य विभिन्न कारण पनि हुन सक्छन्, तर उसको त्यस रोगलाई छिट्टै जटिल तुल्याउन उपरोक्त उपेक्षाहरू पनि सहायक बनेका हुनुपर्छ । तर रोगको पहिचान नभइसकेको अवस्थामा स्थानीय डाक्टरहरूको सल्लाह बमोजिम उसले आउँ र पखालाकै कडा से कडा औषधी सेवन गरिरह्यो । तथापि उसको रोग निको हुनुको साटो अझ बल्झिँदै उसलाई निकै कमजोर बनाउँदै लग्यो ।

२०७२ पुष २८ गते क्याम्पसको उप–लाइब्रेरियन पदबाट सेवा निवृत्त भएको दुई दिनपछि नै अर्थात् माघ १ गते उसकी ममतामयी आमा लीलादेवी खनालको केही दिन थलिएकै अवस्थामा निधन भएपछि जेठो छोराको हैसियतले काजक्रियामा खट्नुपरेका कारण ऊ झन् झन् अशक्त बन्दै गयो । तेह्रौँ दिनको पुण्यकार्य समाप्त गरेपछि आफ्नो उपचारका लागि ऊ कोहलपुर मेडिकल कलेजमा गयो जहाँ उसकी माहिली छोरी उर्मिलाले नर्सिङ सेवाको काम गर्छिन् । त्यहीँ रोगको परीक्षणपश्चात् मात्र त्यस घातक रोगको पहिचान हुन सक्यो ।

मेरो परम प्रिय मित्र गम्भीर रोगले ग्रस्त भइसकेको रहेछ ! डाक्टरको सिफारिसअनुसार विशेष उपचारका लागि उसलाई दिल्लीको रोहिणी, सेक्टर–५ मा अवस्थित त्यही ‘राजीव गान्धी मेमोरियल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर’ मा पु¥याइयो, जहाँ मेरी धर्मपत्नी सीता देवीको उपचारका क्रममा मेरो जेठो छोरा राजीव आंशिक रूपमा तथा कान्छो छोरा प्रदीप र म पूरापूर तीन महिना (२०६९ सालको जेठ १ गतेदेखि साउन ३२ गते) सम्म बसेका थियौँ । र, अन्ततः उनको मृतदेहका साथ रुँदै दाङ फर्केका थियौँ । भदौ १ गते बबईको घाटमा उनको अन्त्येष्टि गरिएको थियो ।

उपचारका लागि दिल्ली गएका बेला पनि नित्यानन्द र श्रवणसँग मेरो निरन्तर फोन सम्पर्क भइरह्यो । पहिलो किमोथेरापी गरेर दाङ फर्केकै दिन म उसलाई भेट्न उसको घर अम्बापुर पुगेको थिएँ । ऊ भर्खरै लामो यात्राबाट फर्केको, थकित र म्लान देखिन्थ्यो । वरिपरि घर–परिवारका सदस्य र भेट गर्न आएका दुईचारजना आफन्ती पनि थिए । म पुगेपछि ऊ बिच्छौनामाथि उठिबस्यो । दुब्लाएको श्रीहीन अनुहारमा बलजफ्ती हाँसो ल्याएर – “कविजी, हेर् न ! मलाई क्यान्सर भएको भन्छन् डाक्टरहरू ! झुटो बोल्छन् सबै । मलाई केही भएकै छैन । क्यान्सर भएको मान्छे यसरी हिँडडुल गर्न सक्छ ? यीः म दिल्ली पुगेर आइसकेँ । मज्जाले निद्रा लाग्छ, टन्न खाना खान्छु । भर्खरै ठूली छोरी गौरीले ल्याइदिएको लोकल कुखुराको मासु र भात पेटभरि खाएँ”– भन्यो ।

मैले आफ्नो प्रिय मित्रको अनुहारतिर एकछिन एकोहोरिएर हेरिरहेँ । मलाई उसको पछाडि उभिएर क्यान्सररूपी कालले व्यङ्ग्यात्मक रूपमा अट्टहास गरिरहेझैँ लाग्यो । मैले आफ्ना आँसु थाम्नै सकिनँ । झट्ट विपरीत दिशातिर फर्केर आँसु लुकाउने प्रयास गरेँ, तर त्यहाँ उपस्थित व्यक्तिहरूले देखिसकेछन् । जससँग आँसु लुकाउन खोजेको थिएँ उसले पनि देखेछ ! भन्यो –“उत्तम, तिमीहरूले मलाई कमजोर नबनाओ । यदि यो क्यान्सर नै रहेछ भने पनि आफ्नो आत्मिक शक्तिद्वारा म यसलाई परास्त गरेरै छोड्छु । मैले अझै धेरै काम गर्नुछ । ती सबै काम पूरा नगर्दै म पटक्कै मर्नेवाला छैन । दिल्लीका डाक्टरहरूको टिमले मलाई पूरै सन्चो लाग्छ भनेका छन् । उपचार चल्दै गर्छ, कुनै चिन्ता नगर्नू !”

उसले यसो भनिरहँदा उसको दृढता र आत्मविश्वासले हामीलाई केही सान्त्वना दिए पनि यतिले मात्र क्यान्सरलाई परास्त गर्न सकिन्न भन्ने कुराचाहिँ निश्चित थियो । त्यसमा पनि अन्तिम स्टेजमा पुगेर शरीरका अन्य अङ्गप्रत्यङ्गमा समेत बिस्तारै फैलिँदै गइरहेको र डाक्टरले समेत ‘किन व्यर्थै यति धेरै रुपियाँ खर्च गर्छौ ? बाँच्ने चान्स बहुत कम छ, अब घरमै लगेर सुविस्तासँग राख’ भनेर छोराहरूलाई भनिसकेको अवस्थामा आशा पनि कसरी गर्नु र ? तर उसका सामु करुणा देखाउने, रुने काम भने गर्नुहुँदैन भन्ने कुरामा दुई मत थिएन । मैले आफूलाई संयमित राख्न आफूसँगै भित्रभित्रै लडिरहेँ ।

किमोथेरापीका लागि दिल्लीको दौड चलिरह्यो । यसरी बारम्बार जाँदा आउँदा अझ कमजोर भइन्छ भनेर मैले उसलाई दिल्लीमै डेरा लिएर त्यहीँ बसेरै उपचार गर्न सल्लाह दिएँ । मेरी पत्नीको उपचारका लागि हामी पनि पूरापूर तीन महिना त्यसरी नै बसेका थियौँ । तर यौटा मात्र छोरा श्रवणको सरकारी जागिर भएकाले कुरुवाको समस्या हुने हुँदा ऊ त्यसरी बस्न मानेन ।

केही दिन भए पनि घर परिवारसँग बस्न पाइने र इष्टमित्र, बन्धुबान्धव, आफ्ना शुभचिन्तकहरूसँग भेट्न पाइने भनेर पनि दिल्लीमै बसिरहन उसले रुचि देखाएन, अन्यथा मैले ‘कुरुवाकै समस्या हो भने म आफैँ गएर थपक्क बस्छु’ भनेर उसलाई मनाउने प्रयास पनि गरेको थिएँ । तर ऊ अरूको दयारूपी सहयोग लिन मान्दैनथ्यो । यहाँसम्म कि पटक पटक अनुरोध गर्दा पनि कुनै आर्थिक सहयोग लिन पनि मानेन । यस्तो रोगको उपचारमा, त्यसमा पनि राजीव गान्धी जस्तो निकै महङ्गो अस्पतालमा कतिसम्म खर्च हुन्छ भन्ने कुराको भुक्तभोगी म स्वयम् आफै थिएँ । विशेष क्याबिनको एकदिनको चार्ज मात्रै ६ हजार भा.रु. तिर्नुपथ्र्याे भने कहिलेकाहीँ डाक्टरले पर्चामा लेखेको एकपल्टकै औषधि किन्दा एक लाख नाघ्थ्यो । ‘कसरी चलाउँछस्

एक्लै ? साथीभाइहरूको सहयोग लिन किन हिच्किचाउँछस् ?’ भन्दा– ‘म भर्खरै रिटायर भएको छु, त्यसैले अहिले मसँग रुपियाँको अभाव छैन । फेरि, मेरो बलियो पिलर त मेरै पछाडि छ – मेरो हाकिम–छोरा श्रवण ! परेपछि फेरि भनौँला नि ! अहिलेलाई पर्याप्त छ’ भनेर निरुत्तर पाथ्र्यो । निकै स्वाभिमानी थियो नित्यानन्द !

मेरी श्रीमतीको उपचारका क्रममा तीन महिना दिल्ली बस्दा मैले प्रत्येक दिनका घटना, प्रभाव र आफ्ना भावनाहरूलाई दैनिकीका रूपमा डायरीमा लेखेर राख्ने गरेको थिएँ । स्मृतिका लागि यसको महŒव पछि हुँदोरहेछ । मैले रक्त क्यान्सरबाट मृत्यु भएका प्रसिद्ध लेखक जगदिश घिमिरेको ‘अन्तर्मनको यात्रा’ पुस्तकको चर्चा गर्दै नित्यानन्दलाई पनि डायरी लेख्ने सुझाव दिएको थिएँ जसअनुसार उसले पनि नियमित रूपमा डायरी लेख्न थालेछ ।

उसको सरल मन र अरूप्रतिको प्रेम र सम्मान दिल्लीको अस्पतालमा पनि छताछुल्ल भएछ । किमोका लागि दिल्ली जाँदा उसले डाक्टर र नर्सहरूका लागि उपहार लिएर जान्थ्यो, डाक्टरहरूलाई खादा र पाल्पाली ढाकाको टोपी तथा नर्सहरूलाई पनि ढाकाकै पर्स र डायरी । ऊ साहित्यकार भएको जानकारी पाएपछि उनीहरूले पनि उसलाई साहित्यका पुस्तक, कलम र डायरी दिने गरेका थिए । उसलाई नर्सहरूले ‘अङ्कल’ भन्थे र निकै झ्याम्मिएका थिए । डाक्टरहरूले पनि श्रवणहरूलाई काउन्सिलिङका लागि एक्लै बोलाएर निको हुने सम्भावना ज्यादै न्यून रहेको बताउने गरेका भए पनि उसका सामु भने ‘रिजल्ट बहुत अच्छा है । आप बहुत जल्द ही अच्छे हो जाओगे’ भनेर झुटो आश्वासन दिन्थे ।

नित्यानन्द भने यसै सान्त्वनालाई सत्य ठान्दै आफू छिटो निको हुने कुरामा ढुक्क थियो । डाक्टरका कुरा सुनेर त्यसको परिणाम जान्दा जान्दै पनि ‘सास छँदासम्म आश’ भनेरै कहिले छोरा श्रवण त कहिले श्रवणका मामाहरूले पालैपालो उसलाई दिल्ली पु¥याउँदै रहे । उनीहरू दिल्लीको अस्पतालमा रहँदा बस्दा दिनदिनै फोन सम्पर्कमा रहेर मैले पनि उसलाई डाक्टरहरूले जस्तै झुटो सान्त्वना दिँदै उसको हिम्मत बढाउने प्रयास गरिरहेँ ।

ऊसित एकदिन फोनमा यसरी नै कुरा भइरहँदा उसले एकाएक–“मैले ‘साझा मान्छे’ शीर्षकमा तेरोबारेमा यौटा कविता भर्खरै लेखिसकेको छु । सुन्छस् ? लौ सुन्” – भन्दै कविगोष्ठीमा वाचन गरेझँै लय मिलाएर टाठो स्वरमा फोनबाटै पूरै कविता सुनायो । उसको कविता सुनेर सुरुमा रमाइलो लागे पनि उतिखेरै म भावुक पनि बन्न पुगेँ किनभने संयोगले त्यो दिन २०७३ को जेठ महिनाको १ गते थियो ।

ठीक चार वर्ष पहिले त्यसैदिन अर्थात् २०६९ जेठ १ गतेकै दिन मैले दुश्चिन्ता, संशय र हताश मनस्थितिमा मेरी प्रिय पत्नीलाई त्यही अस्पतालमा भर्ना गराएको थिएँ । अब फेरि मेरो प्रिय मित्र त्यही संशय र अनिश्चयकै अवस्थामा त्यसै अस्पतालमा उपचाररत थियो । तर उसले आफू रोगले क्रमशः गल्दै गएको अवस्थामा आफ्नो सम्भाव्य मृत्युलाई एक चुनौतीका रूपमा लिँदै अस्पतालको बेडमा बसेर पनि सामाजिक चिन्ता र चासोकै कविता लेखिरह्यो ।

मेरो विषयमा लेखेको भनिएको कविता ‘साझा मान्छे’ (पछि २०७३ जेठ २२ गते, नयाँ युगबोध राष्ट्रिय दैनिकमा प्रकाशित) बाहेक पनि ‘अर्थी उठ्नेछ’, ‘जिन्दगी’, ‘कहिले उद्धार हुने ?’, ‘ग्रहहरू’, ‘मलम लगाइदेऊ’ जस्ता केही कविता उसले दिल्लीको अस्पतालकै बेडमा बसेर लेखेको हो । यी सबै कविताले उसको संवेदनशीलतालाई, उसको कवित्व–सामथ्र्य र सिर्जनशीलतालाई, उसको साहित्यप्रतिको निष्ठा र समर्पणभावलाई, जीवन र जगत्सँगै जोडिएर कवितामार्फत समय सापेक्ष विचार प्रक्षेपण गर्न सक्ने खुवी र क्षमतालाई टड्कारो रूपमा उजागर गर्छन् । यस्तै प्रकृतिका उसका केही अरू अप्रकाशित फुटकर कविता पनि रहेका छन्, जो पछि सङ्ग्रहका रूपमा आउने नै छन् भनेर विश्वास गर्न सकिन्छ ।

नित्यानन्दलाई यस रोगले धेरै पहिले नै छोइसकेको रहेछ तर ज्ञात अवस्थामा ऊ झण्डै तीन सय दिनजति बिरामी बन्यो । ऊ केमोका लागि दिल्ली गएको र पेन्सन पट्टा बनाउन काठमाडौँ गएको समयमा बाहेक म उसलाई भेट्न नित्य जसो नै उसको घरमा गइरहेँ । म कुनै दिन जान अबेर गरेँ भने ‘अत्यास लागेको छ, एकैछिनका लागि भए पनि आइज न यार !’ भनेर उसैले फोन गरेर बोलाइहाल्थ्यो । कसै-कसैलाई यो मेरो कोरा भावुकता, मूर्खता र बहुलट्टीपन मात्र पनि लागेको हुन सक्छ ।

उसको घर जाने क्रममा बाटोमा भेटिएका कुनै कुनै परिचित व्यक्तिले ‘कता हो ? नित्यानन्दका घर ?’ भनेर हाँस्ने गरेको पनि पाएको थिएँ । तर मेरो ऊसँगको दिनदिनैको भेट कुनै नयाँ कीर्तिमान खडा गर्नका लागि भने थिएन । मैले उसको उपस्थितिमा रोगले ग्रस्त भएर क्रमशः मृत्युको सन्निकट पुग्दै गरेकी मेरी प्रिय पत्नीको अनुहार पनि सम्झन्थेँ, साथै उसको अनुहारमा व्याप्त घनीभूत पीडामा पत्नीकै पीडा देख्थेँ । हिजो मैले जीवनसाथीलाई गुमाएँ, अब मैले मेरो अभिन्न मित्रलाई निकट भविष्यमै सदाका लागि गुमाउँदै छु भन्ने सोच्नासाथ मेरो मन ढक्क फुल्थ्यो । यस्तो अवस्थामा मेरो हृदयमा उसप्रति अझ बढी प्रेम उर्लेर आउँथ्यो । उसलाई जीवित देख्न पाउने केही सीमित दिनहरूलाई छलेर उसको सान्निध्यबाट वञ्चित हुन म चाहन्नथेँ । त्यसै कारण पनि म बढी से बढी उसकै निकट रहने प्रयास गर्थेँ ।

उसको घरमा उसलाई भेट्न आउने आफन्ती, शुभचिन्तक र मित्रहरूको प्रायः ताँती नै लाग्थ्यो । उनीहरूसँग अक्सर मेरो पनि भेट भइरहन्थ्यो । थरीथरीका व्यक्तिहरू ! थरीथरीका सल्लाह र सुझावहरू ! हामी सुन्नेहरू थाक्थ्यौँ, तर उसले भने सबैलाई आफ्नो रोगकै बारेमा बेलीबिस्तार लाइरहन्थ्यो । ‘यति धेरै नबोल् । थाकिन्छ’ भनेको पनि नमानेर बोलेको बोल्यै गथ्र्यो र ‘मैले क्यान्सरलाई जितेरै छोड्छु’ भन्दै अरूलाई आश्वस्त पार्न खोज्थ्यो । व्यक्तिहरू सान्त्वना दिन आउँथे, तर त्यो भन्दा बढी दर्शन छाँट्थे, आफूलाई बुझक्कड र तŒवज्ञानी सावित गर्ने प्रयासमा अनित्य देह र क्षणभङ्गुर जीवनका बारेमा कुनै दार्शनिकले झैँ व्याख्यान सुनाउन थाल्थे ।

बिरामी भेट्न आइसकेपछि केही नबोलेर भयो ? त्यसैले केही न केही बोलेरै जान्थे । कतिले आचार्यहरूका सिद्धान्त र विचारको अचार बनाउँथे त कतिले पूर्वीय दर्शनमा आधारित जीवनको अर्थ र त्यसको गूढ रहस्यका हातखुट्टा भाँच्थे । कसै कसैले “मृत्यु त जीवनको स्वाभाविक प्रक्रिया हो, त्यसैले योसित डराउनुहुन्न । बरु यसलाई हिम्मत गर्दै सहजताका साथ स्वीकार गर्नुपर्छ” भन्दै हौसला दिन खोज्थे । ‘पर उपदेश कुशल बहु तेरे’ भनेजस्तै ‘उपदेश अरूलाई दिँदा मात्र काम लाग्छ, आफूलाई परिआउँदा काम लाग्दैन’ भन्ने यथार्थ पनि छँदैछ ।

यस्तै क्रममा एकदिन एकजना बुझक्कडले ‘तपाईँ अहिले डटेर मृत्युको सामना गरिरहनुभएको छ । यो क्षण कस्तो महसुस गरिरहनुभएको छ ?’ भन्दै पत्रकारिताको अनौठो धर्म निर्वाह गरेको देखाउन थाले । मलाई त्यसबेला हिन्दी सिनेमा ‘आनन्द’ को सम्झना भयो जसमा एक घातक रोगले पीडित भएर मृत्युको समय समेत निश्चित भएको मुख्य पात्र आनन्दले भनेको थियो “मै तो सब कुछ भुलाकर दो चार दिन हँसकर गुजारना चाहता हुँ, लेकिन लोग हैँ कि मुझे बार बार मेरी मौतको याद दिलाकर मुझे खुसी से जीने नहीँ देते ।”

ती बुझक्कड व्यक्तिका कुरा सुनेर मभित्र एकप्रकारको सात्विक क्रोध (गान्धी क्रोध) जाग्न थाल्यो । “ऊसित पुराना मिठा सम्झनाका कुरा गर्नुस् र ऊभित्र रोगसित दड्न सक्ने ऊर्जा र हिम्मत भर्नुस् । उसलाई प्रिय लाग्ने हँस्सी दिल्लगीका कुरा गरेर उसको मनोरञ्जन गर्नुस् । या कुनै रचनात्मक कामद्वारा उसलाई सक्दो सहयोग गर्नुस् । किन बारम्बार यस्ता अप्रिय लाग्ने कुरा गरेर उसलाई जसबेला पनि ‘म मर्दै छु’ भन्ने एहसास दिलाइरहनुहुन्छ ? उसलाई एकक्षण भए पनि भयावह मृत्युको दुश्चिन्ताबाट मुक्त हुन किन दिनुहुन्न ?” भन्दै झाँको झार्न पनि मन लागेको थियो तर त्यस परिवारका शुभचिन्तकहरूलाई मैले केही भनिहाल्न पनि त उचित थिएन ।

‘कुनै उपायले उसको दुःखलाई थोरै भए पनि घटाउन सक्नुहुन्न भने यस्ता कटु प्रश्न गरेर तथा विभिन्न बोझिला दर्शन छाँटेर उसको दुःखलाई अझ बढाइदिने काम त नगर्नुस् ! बरु चुपचाप लागेर त्यसै बसिदिनुस् । त्यही जाति हुनेछ । तपाईँ उसलाई भेट्न भनेर यहाँसम्म आइदिनु नै उसका लागि ठूलो कुरा हो । यो तपाईंको उसप्रतिको सद्भाव र आत्मीयताको बलियो प्रमाण हुँदै हो त्यसैले केही बोल्नैपर्छ भन्ने पनि त छैन नि !’– भन्न पनि त सकिएन । बरु नमागेरै यथेष्ट रूपमा पाइने भनेको सल्लाह नै हो र त्यो भने निरन्तर प्राप्त भइ नै रह्यो ।

एकदुईजनाले अध्यात्मक दर्शनको अध्ययन र ईश्वरीय चिन्तनद्वारा मन एकाग्र हुने र दुःख सहन गर्न सक्ने शक्ति प्राप्त हुने बताउँदै साहित्य र जीवन दर्शन सम्बन्धी केही पुस्तक र ध्यान पद्धति सिकाउँदै जप गर्न रूद्राक्षको माला पनि उपलब्ध गराएका थिए । विभिन्न व्यक्तिद्वारा भित्तैभरि साइँबाबा, ॐ शान्ति, राधेराधे, गुरु नानक र कावा शरिफका तसवीर र क्यालेण्डर झुण्ड्याइएर उसप्रति सद्भाव देखाइएको थियो ।

सल्लाह पनि कति थरी थरी ! यस्तो अवसरमा कहिलेकाहीँ त एक–आपसमा कुरा काटाकाटको स्थिति पनि आइपुग्थ्यो । एकजना जानिफकारले ‘किमोले शरीरको किमा बनाइदिन्छ र जीवनका दिन घटाउँदै शीघ्र मृत्युको मुखमा पु¥याउँछ’ भन्दै दिल्लीसिल्ली जान छोडेर आयुर्वेदिक पद्धतिअनुसार नै उपचार गर्नुपर्छ भनी नसक्दै अर्का ‘विशेषज्ञ’ ले ‘आयुर्वेदको जमाना गयो बाबै । एन्टिबायोटिक पचाइसकेको व्यक्तिलाई डाँठ–पात, जडिबुटीले किन पो छुन्थ्यो र ? त्यसैले अत्याधुनिक चिकित्सापद्धति छँदाछँदै दायाँबायाँ गर्न थाल्यो भने त सोझै आत्महत्या गरेसरह नै हुन्छ’ भनेर ठूलै अन्योल सिर्जना गरिदिन्थे ।

अब कसको कुरा सुन्नु ? कसको कुरा पत्याउनु र मान्नु ? अक्सर यस्तै यस्तै रमाइला वादविवाद प्रतियोगिता पनि सुन्न पाइन्थ्यो त्यहाँ । आफूले भने बाध्यतावश तटस्थ श्रोताको अभिनय गर्दै लाटोले झैँ कहिले यसको मुखतिर त कहिले उसको मुखतिर हेर्दै, अन्तिममा नित्यानन्दतिर हेर्दै उसको प्रतिक्रिया जान्ने प्रयासमा समय कटाइन्थ्यो । घर–परिवारका सदस्य भने फलफूल काटेर, चिया पकाएर परमप्रिय शुभचिन्तकहरूको स्वागत सत्कारमा निरन्तर खटिरहेका हुन्थे ।

एकदिन उसका प्रकाशित, अप्रकाशित सबै फुटकर रचनाहरू बाकस र दराज आदिबाट झिक्न लगाएर मैले विधा अनुसार छुट्याएँ । कविता, गीत र बालगीत–कविता गरी तीनवटा कृति बन्न सक्ने देखियो । संस्कृति र पर्यटनसम्बन्धी बेग्लै पुस्तक बनाउन सकिने रचना पनि थिए । प्रथमतः कविता र गीतका गरी दुईओटा कृति प्रकाशित गर्ने निर्णयानुसार रचनाहरूको चयन, सम्पादन, भाषाशुद्धि, पुस्तकको नामाकरण र भूमिका समेत लेख्ने, लेखाउने सम्पूर्ण अभिभारा म स्वयम्ले लिँदै प्रकाशनको चाँजोपाँजो मिलाउन थालेँ ।

मैले पहिले नै उसको २०६५ मा प्रकाशित ‘जूनमामा’ बाल–कविता सङ्ग्रहको भूमिका लेखिसकेका कारण आफै नारायणपुर पुगेर प्रिय मित्र साहित्यकार नारायण नेपाललाई भूमिका लेखिदिनका लागि हार्दिक अनुरोध गर्दै कविताको पाण्डुलिपि बुझाएँ । कविता चयन गर्न साहित्यकार टीकाराम उदासीको समेत महŒवपूर्ण सहयोग प्राप्त भयो । खेमराज मल्लले मेरो हार्दिक अनुरोधमा यसको आवरण चित्र बनाउनुभयो भने आवरण संयोजन डिल्ली मल्लले गर्नुभयो । सबैको सहयोगमा अन्ततः २०७२ चैत्रमा राप्ती साहित्य परिषद्को प्रकाशनको रूपमा “बिम्ब–प्रतिबिम्ब” नामक कविता सङ्ग्रह प्रकाशित भयो ।

यो कृति प्रकाशित भए लगत्तै म पुनः उसको गीत सङ्ग्रह प्रकाशन गर्नेतिर लागिपरेँ । उसको जीवनका दिनहरू क्रमशः घट्दै गइरहेको आभास भइरहेको थियो, त्यसैले पनि उसकै जीवनकालमा यो सङ्ग्रह पनि प्रकाशित होस् भन्ने म चाहन्थेँ । गीत सङ्ग्रह प्रकाशित गर्ने उसको पहिलेकै चाहना रहेछ र यसको भूमिका साहित्यकार नारायण नेपालले नै झण्डै ६/७ वर्ष पूर्व नै लेखिसक्नुभएको रहेछ । केही गीतहरू थपघट गरेर सम्पादन समेत गरिएकाले उहाँले आफ्नो भूमिका पुनः परिमार्जन गर्नुभएपश्चात् पाण्डुलिपि टाइप गर्ने र भाषाशुद्धि समेतको काम सकेर छपाइका लागि प्रतिभा अफसेट प्रेसमा अविलम्ब जिम्मा लगाइयो । यसको आवरण चित्र मेरो हार्दिक अनुरोधमा स्वयम्बर हाङले निर्माण गर्नुभयो भने संयोजन पुनः डिल्ली मल्लले नै गर्नुभयो । अन्ततः २०७३ को सुरुतिरै लेखक सङ्घको प्रकाशनका रूपमा “मानस–गीत” नामक यो कृति पनि प्रकाशित भएर लोकार्पण समेत भयो ।

यी दुवै कामले मलाई अपार सन्तुष्टि दिए भने नित्यानन्दको खुसीको त झन् कुनै सीमा नै थिएन । यसै क्रममा घोराही जेसीजले पनि ‘हाम्रा बाजा र नाचहरू’ नामक उसको बालगीत –कविताको सचित्र पुस्तक २०७३ मै प्रकाशित गरिदिएर उसको खुसीमा अरू खुसी थप्ने रचनात्मक काम ग¥यो । अझै पनि बालसाहित्य र संस्कृति तथा पर्यटनसम्बन्धी एक–एकओटा कृति र उसले उपचारका क्रममा लेखेको डायरी समेत प्रकाशनका लागि तयारी अवस्थामा सहृदयी प्रकाशकको सहयोग पर्खँदै बसिरहेका छन् ।

नित्यानन्द क्रमशः कमजोर बन्दै गएको थियो त्यसैले विभिन्न सामाजिक तथा साहित्यिक सङ्घ संस्थाहरूले उसको निवासमै गएर उसप्रति सम्मान प्रकट गर्न थाले । साहित्यकार आदिम के.सी.हरूको टिमले उसको जीवनवृत्त सम्बन्धी डकुमेन्ट्री निर्माण ग¥यो भने महेन्द्र बहुमुखी क्याम्पस, राप्ती साहित्य परिषद्, लेखक सङ्घ, नेपाल परिवार नियोजन सङ्घ, घोराही जेसीज, फ्रेण्ड्स बालक्लब जस्ता केही संस्थाहरूले उसैको घर–आँगनमा कार्यक्रमको आयोजना गरेर उसको सामाजिक, साहित्यिक योगदानप्रति आदरभाव व्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभको कामना प्रकट गरेका थिए ।

२०७३ मै राप्ती साहित्य परिषद् (केन्द्र) ले आफ्नो वार्षिकोत्सवका अवसरमा उसलाई ‘राप्ती साहित्य पुरस्कार’ प्रदान गर्दै सम्मान प्रकट ग¥यो । उक्त अवसरमा नित्यानन्द सकी नसकी कार्यक्रममा आफै उपस्थित भयो र उसले सारगर्भित मन्तव्य दिनुका साथै भावपूर्ण कविता पनि वाचन ग¥यो । उसका अभिव्यक्तिले धेरैका आँखा रसाइदिए । बलजफ्ती आँसु थाम्ने प्रयास गरिरहेकाहरूले पनि उसकी कान्छी छोरी मञ्जु सभाकक्षमै हिक्का छोडेरै रोइदिएपछि आफूलाई थाम्नै सकेनन् । नित्यानन्दप्रतिको प्रेम, सद्भाव र करुणा सभाकक्षभरि छताछुल्ल पोखिइरह्यो ।

किमोथेरापीको सङ्ख्या जति जति थपिँदै गयो, उसको स्वास्थ्य पनि उति उति खस्किँदै गयो । पहिले उसले लट्ठीको सहारा लियो, पछि छोराछोरीले डो¥याएरै आँगन तथा बाथरूमसम्म पु¥याउने गर्न थाले । पेटमा पानी भरिएर सास फेर्न गाह्रो हुनेसम्म भयो । केही दिन बिराएर पेटको पानी फालिरहनुपर्ने नयाँ समस्या बल्झियो । दिल्लीमा पुनः परीक्षण हुँदा आजसम्म गरिएको केमोथेरापी पूर्णतः निष्प्रभावी रहेको साबित भयो । रोग फोक्सो, कलेजो लगायत अन्य अङ्गमा फैलिँदै पेटमा मासुका थुपै्र डल्लासमेत बनिसकेको देखियो ।

डाक्टरहरूले अब पुनः सुरुबाटै महङ्गो खालको कडा केमो दिनुपर्ने बताएपछि उनीहरूसँग केही वाद–विवाद पनि भयो, तथापि ‘मरता, क्या न करता ?’ भनेझैँ नयाँ केमो पनि लगाइयो । तर यो निकै कडा भएकाले उसको झिनो र कमजोर शरीरले धेरै कष्ट सहनुप¥यो । हामीले कान्छी छोरी मञ्जुको बिहे गरिदिन पहिलेदेखि नै ऊसँग बारम्बार अनुरोध गर्दा पनि पुषमा हुने आमाको बरखीपछि मात्र माघमा बिहे गरिदिने भनेर उसले आफ्नो जिद्दी छोडेको थिएन । अब ऊ स्वयं क्रमशः गल्दै गएकाले अन्ततः छोरीको बिहे गरिदिन आफ्नो मञ्जुरी दियो । बिहेका लागि केटाको विषयमा सामान्य कुराकानी पहिलेदेखि नै चलिरहेको थियो ।

नित्यानन्दको दिनानुदिन गिर्दो स्वास्थ्य अवस्थाका कारण तत्काल निर्णय गरेर २०७३ असोज २७ गतेका दिन चौघेरा निवासी हरि बेलबासेसँग भिङ्ग्रेली रिसोर्टमा भव्य तरिकाले मञ्जुको बिहे सम्पन्न भयो । विवाहको सम्पूर्ण कार्यक्रम नित्यानन्दले बिच्छौनामाथि सुतेरै हेरिरह्यो । त्यसदिन नित्यानन्दको अनुहारमा घाम जून उदाएको देखिन्थ्यो । सायद अन्तिम इच्छाका रूपमा रहेको यौटा ठूलो कार्य सकिएर आफ्नो मनमस्तिष्कबाट ठूलो बोझ उत्रिएको महसुस गर्दै ऊ निकै उल्लसित थियो ।

त्यसैदिन उसको जेठो साला दामोदर रेग्मीको छोराको पनि बिहे थियो, तर भतिजोको बिहेमा समेत आफू जन्ती नगएरै माहिलो सालो दिवाकर रेग्मीले बेहुला–बेहुलीको गोडा धुने र कन्यादान गर्ने सम्पूर्ण भूमिका निर्वाह गरेका थिए । अन्यथा नित्यानन्दहरू आमाको बरखीमा रहेकाले परिवारको अनुरोधमा यो भूमिका मैले नै निर्वाह गर्नुपर्ने तय भएको थियो । नित्यानन्द र उसका परिवारजन जस्तै हामी पनि निकै खुसी थियौँ ।

अब आउँदैछ त्यस अप्रिय प्रसङ्गको चर्चा जसलाई म न त सम्झन चाहन्छु, न त लेख्न नै चाहन्छु । तर यस संस्मरणरूपी आलेखको बिट मार्न पनि सम्झनै पर्ने भएको छ र लेख्नै पर्ने पनि भएको छ । नित्यानन्दलाई नयाँ किमो झेल्न निकै गाह्रो हुँदै गयो । जसरी तसरी उसले पुरानो र नयाँ गरेर १३ किमोसम्म त थेग्यो तर उसको स्वास्थ्य भने अझ चौपट हुँदै गयो ।

दिल्लीका डाक्टरहरूको सल्लाहअनुसार अबदेखि किमो नलगाउने गरी सबैसँग बिदावारी भएरै उनीहरू दाङ फर्के । उसले अब काठमाडौँको राजवैद्यको आयुर्वेदिक औषधि सेवन गर्न थाल्यो, तर त्यसबाट पनि कुनै फाइदा भएन । कहिलेकाहीँ कान्छो भाइ कृष्णले, तर अधिकांश रूपमा माहिली छोरी उर्मिलाले घरि सलाइन, घरि सुई, घरि औषधि दिँदै रातदिन खटेको खट्यै आफ्नो बावुको अनवरत सेवा गरिरहिन् । अन्य छोरीहरू पनि आफ्नो घर बिताएरै त्यहीँ थपक्क बसेका थिए र भात–भान्छाको कामपछि उसकै सेवा टहलमा लागिरहन्थे । सबैको अनुहारमा क्रमशः निराशा र हताशा देखिदैँ थियो । पानी भरिएर पेट फुलेरै पनि उसलाई उत्तिकै दुःख दिइरह्यो भने पित्तथैलीको अप्रेसन गरेको ठाउँतिर तथा बेलाबेलामा सम्पूर्ण पेटमा असह्य पीडा उठ्थ्यो जसलाई सहन गर्न नसके पछि ऊ भुइँमा लडीबुडी गर्दै चिच्याउँदै रुन्थ्यो । त्यसबेला मैले नरेन्द्रराज प्रसार्इँद्वारा लिखित ‘देवकोटाको जीवनशैली’ नामक पुस्तक भर्खरै पढेर सकेको थिएँ ।

नित्यानन्दमा मैले देवकोटाको अन्त्य समयको त्यही पीडा देख्न थालेँ, जुन पीडाबाट मुक्तिका लागि देवकोटाले आफ्ना मित्रहरूसँग वारम्वार पोटासियम साइनाइड माग्ने गरेका थिए भनिन्छ । उसले केही मीठो खाने चाहना गथ्र्यो तर उसको पेटमा कुनै पनि खानेकुरा अड्दैनथ्यो । उसको इच्छाअनुसार उसकी जेठी छोरी गौरी (अरुणा) ले कति प्रेमपूर्वक आफ्नो घरमै पकाएर माछा अथवा लोकल कुखुराको मासु ल्याइदिन्थिन् तर तृष्णाले खाइहाले पनि उसको पेटले सहन्नथ्यो । यसरी, पखाला र वमनले झन्पछि झन् गल्दै जाँदा उसको शरीर अस्थिपञ्जर मात्र देखिन थाल्यो भने आँखा, गाला र चण्डी धसिदैँ गए । तर यस्तो अवस्थामा पनि एकदिन मसँग ठट्ठा गर्दै भन्यो –“म त जान थालेँ यार ! त्यहाँ मैले सबै व्यवस्था मिलाइराखेको हुनेछु । आफ्नो पूर्ण आयु बाँचिसकेर साहित्यकार मित्रहरू त्यहाँ आइपुगे भने भव्य कवि गोष्ठी गर्ने विचार छ । त्यतिञ्जेल देवकोटा, लेखनाथ, भूपि, धर्मराज थापाहरूसित म भुल्दै गर्छु !”

अनि तत्कालै ‘म एकैछिन सुत्छु है !’ भन्दै कोल्टो फेरेर सुतिदियो । राम्ररी सिरक ओढाइदिन भनेर म उसको छेउ गएपछि देखेँ – ऊ त रोइरहेको रहेछ ! मेरो मन रुमलिएर आयो । जति प्रयास गर्दा पनि मैले आफूलाई थाम्नै सकिनँ र रुन थालेँ । म रोएको सुनेर ऊ अकस्मात् झट्ट उठिबस्यो र ह्वाँ ह्वाँ गर्दै कोठै थर्काएर रुन थाल्यो ।

छोरा श्रवणले ‘बुवा, नरुनुस्’ भनेर सम्झाउन खोज्दा ‘उत्तम रुन्छ त !’ भन्दै आफू शान्त हुने प्रयास ग¥यो । तर म अशान्त हुँदै गह्रुङ्गो मन लिएर घर फर्केँ ।

२०७३ मङ्सिर १५ गतेको त्यो अभिशप्त दिन, बिहान खाना खाइवरि झण्डै दस बजेतिर आँगनमा घाम ताप्दै गर्दा नित्यानन्दले एकाएक छोरा श्रवणसित –“मेरा इष्टमित्र, साथीभाइ, नाता कुटुम्बी सबैलाई खबर गरेर बोलाइदेऊ । म आज जाँदैछु” –भनेछ । सायद उसलाई मृत्युको पूर्वाभास भइसकेको थियो ।

श्रवणबाट खबर पाएर म तत्काल त्यहाँ पुगेँ ।

कुनै किंवदन्तीझैँ अविश्वसनीय लाग्ने यो कुरा सायद सत्य हुँदै थियो, किनभने यसपछि ऊ क्रमशः शिथिल बन्दै गयो । उसको अवस्था देखेर घरमा रुवाबासी चल्न थाल्यो । सबैतिर अविलम्ब खबर गरियो । केही काम विशेषले म एकछिनका लागि घरसम्म जानुपर्ने भयो । यसै बीचमा ‘उत्तम खै ? आएन अझैसम्म ?’ भनेर श्रवणहरूसँग उसले पटक पटक सोधेछ । श्रवणको फोन आएपछि म तत्क्षण दौड्दै पुनः त्यहाँ पुगेँ । तर त्यसबेलासम्म ऊ झण्डै झण्डै अचेतन अवस्थामा पुगिसकेको थियो ।

मैले उसको छेउमै गएर चिच्याएभैmँ गरी उसको नाम लिएर बोलाएँ । निश्चल र शान्त जस्तो देखिएको उसको शरीर अकस्मात् केही चल्मलाउन थाल्यो र आँखाका ढकनीमा पनि केही कम्पन भएर खोल्ने प्रयास गरिएझैँ देखियो । त्यसपछि उसले एकाएक आफ्नो दाहिने हात केहीबेरसम्म उचाल्यो र पुनः तल झा¥यो – यस्तो लाग्यो मानौँ उसले अन्तिम बिदाइका लागि नै त्यो हात उचालेको थियो । उसको ओठमा पनि क्षीण कम्पन भयो र केही बोल्ने प्रयास गरेझैँ लाग्यो । वाक्य निस्केन, तर उसको अन्र्तमनले मानौँ “अलबिदा प्रिय मित्र !” भन्दै थियो ।

यी दृश्यहरू उसलाई चारैतिर घेरेर उभिएका व्यक्तिहरूले पनि ध्यानले हेर्दै विभिन्न टिप्पणी गरिरहेका थिए । त्यसपछि उसको शरीर पूरै शिथिल र अनुहार निस्तेज बन्दै गयो । उसको बिग्रदो अवस्था देखेर छोरीहरू हिक्का छोडेरै बेसरी रुन थाले । मैले पनि आफूलाई थाम्न सक्ने कुरै थिएन, उनीहरूसँगै रोइरहेँ । यो रोदन बिस्तारै अरूतिर पनि फैलिदै गयो । आँगनभरि मान्छेहरू टनाटन थिए । त्यहाँ क्रन्दन थियो, आँसु थियो । मन थामेर बस्न सकिने स्थिति नै थिएन । तर पनि अप्रिय क्षण कुर्नु नै थियो ।

अन्ततः सायं ४.४५ मा उसको देहावशान हुन पुग्यो । यसरी जीवनरूपी रङ्गमञ्चमा आफ्नो विभिन्न भूमिकामा रहेर सुन्दर र प्रभावकारी अभिनय प्रस्तुत गर्ने एक प्रतिभाशाली सितारा अस्त भयो ।

बेला बेलामा नित्यानन्दले ‘जागिरबाट रिटायर भएपछि मान्छेले दश वर्ष काट्दैनन्’ भन्दै पद्मोदयका पूर्व शिक्षकहरू नारायणी गौतम, विष्णुप्रसाद शर्मा, चित्रप्रसाद योगी, जनार्दन शर्मा, चिन्तामणि आचार्यहरूको नाम लिने गथ्र्यो । ‘रिटायर भएपश्चात् प्रायः निष्क्रिय रहने र ‘बूढो भएँ’ भन्ने धारणाले नै मान्छे छिटो बूढो हुन्छ र छिटै मर्ने गर्छ, त्यसैले रिटायर भएपछि छोटो अवधिमै मैले योजनाबद्ध ढङ्गले आजसम्म थाती रहेका साहित्य, संस्कृति र पर्यटन एवम् ‘खनाल वंशावली’ सम्बन्धी मेरा सबै काम छिटोभन्दा छिटो भ्याउनुपरेको छ’ भन्थ्यो । तर दुर्भाग्यवश उसले आफू रिटायर भएको वर्ष दिन पनि काट्न पाएन ।

उसको वार्षिक पुण्यतिथिका अवसरमा उसप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै हृदयदेखि नै भन्दैछु – “अलबिदा प्रिय मित्र !!”

(प्रस्तुत संस्मरण नित्यानन्द शर्मा स्मृतिग्रन्थ २०७४ बाट साभार गरिएको हो । – सम्पादक )

Leave a Reply

Your email address will not be published. Required fields are marked *