महोत्सवको तयारी तीव्र, उपसमितिहरु सक्रिय

  
  प्रकाशित मितिः शुक्रबार, माघ १९, २०७४       | 235 Views   ||

file photo

दाङ । घोराहीमा आयोजना हुन थालेको दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगिक कृषि प्रर्दशनी २०७४ को तयारी तीव्र पारिएको छ ।

दाङ उद्योग वाणिज्य संघले फाल्गुन ३ गतेदेखि १३ गतेसम्म घोराही १५ मा आयोजना गर्न लागेको महोत्सव स्थलको निर्माण कार्य तथा स्टल बुकिङ धमाधम सुरु भएको दाङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल समितिका संयोजक नारायणप्रसाद भुसालले जानकारी दिनुभएको छ ।

महोत्सव सफल वनाउन गठन गरिएका उपसमितिहरुले आ–आफनो कामलाइ तिव्रता दिएका छन् ।

सुरक्षा व्यवस्थापन समिति बिस्तार

यसैबीच महोत्सव सुरक्षा व्यवस्थापन समिति विस्तार गरिएको छ । उपसमितिमा जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी, जिल्ला र वडा प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला ट्राफिक कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द« सदस्य रहेका छन् ।

त्यस्तै, उपसमितिमा तारा अधिकारी, नारदमणि पोख्रेल, मिनराज घिमिरे, टेकनाथ आचार्य, मधुसूदन रावत, श्रीधर पोख्रेल, सरोज शाह, दिपक श्रेष्ठ, तीर्थराज आचार्य, हिरा केसी, प्रेम खड्का, नरबहादुर अधिकारी र गंगा श्रेष्ठ रहनुभएको छ ।

महोत्सवले दाङमा लुकेर रहेका प्रतिभाहरुलाई उजागर गर्ने भन्दै विश्वकै होचा व्यक्ति चन्द्रबहादुर डाँगीदेखि होची महिला इश्वरीमाया छिनाललाई समेत उद्योग वाणिज्य संघकै महोत्सवबाट सार्वजनिक गरिएको उवासंघका अध्यक्ष तथा महोत्सव मूल समितिका संयोजक नारायणप्रसाद भुसालले बताउनुभयो ।

यसपटकको महोत्सवका अवसरमा लघुउद्यमको प्रवद्र्धन तथा स्थानीय कला संस्कृतिको प्रवद्र्धन गर्न महोत्सव फलदायी हुने महोत्सव मुल आयोजक समितिका सहसंयोजक बसन्त जोशीले बताउनुभयो ।

महोत्सव सुरक्षा व्यवस्थापन समितिका संयोजक छविनारायण गिरीको अध्यक्षतामा बसेको थियो ।

साँस्कृतिक उपसमिति नृत्य प्रतियोगिता गर्ने

यसैबीच साँस्कृतिक व्यवस्थापन उपसमितिका संयोजक मिनराज भाटको अध्यक्षतामा वसेको वैठकले युगल नृत्य, सारंगी वादन, लोकनृत्य, दङाली तारा गायन र प्रदेशस्तरीय खुल्ला लोकनृत्य प्रतियोगिता संचालन गर्ने निर्णय गरेको छ ।

प्रदेशस्तरीय खुल्ला कविता तथा गजल प्रतियोगिता

साहित्यिक उपसमितिका संयोजक मायाकुमारी पोख्रेलको अध्यक्षतामा बसेको बैठकले प्रदेशस्तरीय खुल्ला कविता प्रतियोगिता गर्ने निर्णय गरेको छ ।

खुल्ला कविता प्रतियोगितामा भाग लिने कविले माघ २४ गतेसम्म कविता बुझाइसक्नुपर्ने र कविता १ सय ५० शब्दभन्दा छोटो हुनुपर्ने उपसमितिले नियम बनाएको समितिका संयोजक मायाकुमारी पोख्रेलले बताउनुभयो ।

कविता छनौटका लागि एउटा निर्णायक समिति गठन गरिने र उक्त समितिले छनौट गरेका रचनाहरुलाई मात्रै वाचन गर्न दिइने पनि समितिले जनाएको छ ।

त्यस्तै, साहित्यिक उपसमितिले जिल्ला स्तरिय बालकविता प्रतियोगिता पनि आयोजना गर्ने निर्णय गरेको छ । त्यसका लागि एउटा विद्यालयले कक्षा १ देखि ८ सम्मका छात्र छात्रा १÷१ जना सिफारिस गरेर माघ २९ गतेसम्म महोत्सव सचिवालयसम्म पठाइसक्नुपर्ने नियम बनाइएको छ ।

त्यस्तै, साहित्यिक उपसमितिले ५ नं प्रदेशस्तरिय खुल्ला गजल प्रतियोगिताको पनि आयोजना गर्ने भएको छ । गजलकारहरुले पनि माघ २९ गते सम्म गजल उपलब्ध गराइसक्नुपर्ने र उत्कृष्ट १० गजलहरुलाई वाचनका लागि मौका दिइने बताइएको छ ।

त्यस्तै कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको संयोजक पोख्रेलले बताउनुभयो ।

विद्यालयबाट सिफारिस भएका विद्यार्थीहरुलाई मात्र सहभागी गराइने उक्त वक्तृत्वकलाको शीर्षक ‘दाङको विकासमा पर्यटक’ राखिएको छ ।

एउटा विद्यालयले छात्रछात्रा गरेर २ जनासम्म सिफारिस गरेर पठाउन सक्नेछन् ।

यसैगरी जिल्लाका साहित्यकारहरुको रचना वाचनका लागि समय माग गर्ने र अग्रजहरुलाई रचना उपलब्ध गराउन अनुरोध गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *