हजार शब्दभन्दा एउटा फोटोको महत्व धेरै छ– उपराष्ट्रपति पुन

  
  प्रकाशित मितिः शुक्रबार, माघ १९, २०७४       | 364 Views   ||

उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे अन्तर्राष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको हरेक राजनीतिक परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका रहेको चर्चा गर्नुभएको छ ।

उपराष्ट्रपति पुनले शुक्रबार भृकुटीमण्डप प्रदर्शनी कक्षमा राष्ट्रिय फोटोपत्रकार समुह केन्द्र काठमाडौंद्वारा आयोजित पहिलो अन्तर्राष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोको उद्घाटन गर्दा सो कुरा बताउनुभएको हो ।

उहाँले हरेक शासकले खोसिएका जनताका अधिकारलाई स्थापित गर्न जीवनको कुनै प्रबाह नगरी कार्यक्षेत्रमा फोटो पत्रकारले देखाएको कामको उच्च प्रशंसा गर्नुभएको थियो । उपराष्ट्रपति पुनले हजार शब्दभन्दा एउटा फोटोको महत्व सयौँ गुणा बढी हुने बताउँदै सत्य तथ्य समाचार सम्प्रेषणमा फोटो पत्रकारले राष्ट्रका लागि पु¥याएको योगदानको स्मरण गर्नुभयो ।

नेपाल फोटो पत्रकार समूह (एनएफपिजे) ले आयोजना गरेको उक्त प्रदर्शनी पहिलो हो । प्रदर्शनीमा सञ्चार क्षेत्रसँग सम्बन्धित उपकरण स्टलमा समावेश गरिएका छन् । प्रदर्शनी माघ २१ गतेसम्म आयोजना गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा रक्षामन्त्री भीमसेनदास प्रधानले सत्य र निष्ठाको अर्को नाम फोटो पत्रकारिता भएको बताउनुभयो ।

त्यस्तै, नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले फोटो पत्रकारसँग समाज रुपान्तरण गर्ने शक्ति, सामथ्र्य र प्रभाव हुने जानकारी दिनुभयो ।

यसैबीच आज नै नेपाल शैक्षिक परामर्श संघको सहयोगमा राष्ट्रिय फोटो पत्रकार समुह एनएफपिजेले २०७४ श्रावण ५ देखि ८ गतेसम्म भृकुटीमण्डपमा आयोजना गरेको भूकम्पपछिको नेपाल नामक फोटो प्रदर्शनीका विजेताहरुलाई पुरस्कार दिइएको थियो ।

४० भन्दा बढी फोटो पत्रकार तथा फोटोग्राफरहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा प्रत्यक्ष अवलोकनको आधारमा मन पर्ने फोटोलाई भोटिङ तथा फेसबुकमार्फत् विजेता घोषणा गरिएको थियो ।

प्रतियोगितामा प्रथम हुने थाहा खबरमा कार्यरत फोटो पत्रकार दीपक केसीलाई रु. ५० हजार नगद, दोस्रो हुने भक्तपुरका फोटोग्राफर सरोज बाँदेलाई नगद रु. २० हजार र तृतीय पुरस्कार विजेता दिपक केबीलाई रु. १५ हजार र फोटो पत्रकार राजेश गुरुङ र स्कन्द गौतमलाई सान्त्वना स्वरुप जनही रु. ५/५ हजार नगद राशी प्रदान गरी सम्मान गरिएको थियो ।

एनएफपिजेका अध्यक्ष ध्रुव आले र नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले फोटो पत्रकार समाजको ऐना भएकाले राज्यबाट पत्रकारको सुरक्षा हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा हरि रेग्मी कार्यक्रम संयोजक हरि रेग्मी, नेपाल मुद्रण संघका अध्यक्ष माधव केसी, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डे, राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्ले, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ललगायतले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव प्रदिपराज वन्तले गर्नुभएको थियो ।

प्रदर्शनीमा जापान, ताइवान, भारत चीनलगायतका देशमा निर्माण भएका सञ्चार उपकरण बिक्री वितरणमा राखिएका छन् ।

फोटोहरु : प्रदीपराज वन्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *