घोराहीमा बालसंरक्षण नीति बन्दै, समस्या पहिचान

  
  प्रकाशित मितिः शुक्रबार, माघ १९, २०७४       | 168 Views   ||

दाङ । स्थानीय सरकारकारुपमा गठन भएको घोराही उपमहानगरपालिकाले बाल संरक्षणसम्बन्धी नीति तर्जुमा गर्न थालेको छ । बाल संरक्षण र अधिकारको क्षेत्रमा काम गर्दै आएका प्रशिक्षकहरुलाई बोलाई उपमहानगरले बाल संरक्षण सम्बन्धी नीति बनाउन लागेको हो ।

उपमहानगर भित्रका बालबालिकाहरुको अवस्था, समस्यालाई खोजी गर्दै नीति बनाउने योजना रहेको उपमहानगरले जनाएको छ । २ दिने नीति तर्जुमा गोष्ठीको आयोजना गरी बालबालिकाका समस्याहरुको पहिचान र समाधानका लागि नीति बनाउने योजना गरेको छ ।

शुक्रबारदेखि शुरु भएको नीति तर्जुमा गोष्ठी शनिबारसम्म चल्ने भएको छ । नगरका कार्यबाहक प्रमुख सीता न्यौपानेको अध्यक्षतामा गोष्ठीको उद्घाटन गरिएको छ । गोष्ठीका उपप्रमुखसहित सबै वडाका अध्यक्षहरुको सहभागिता रहेको छ ।

दुई दिने गोष्ठीमा नगर क्षेत्रका बालबालिकाहरुको समस्या, अवस्थाको पहिचान गर्ने र बालमैत्री नगर बनाउन आवश्यक रणनीति तयार पारेर कानुन बनाइनेछ । वडा अध्यक्षहरुले आफ्नो वडा क्षेत्रमा बालबालिकाका समस्या र अवस्थाहरुका बारेमा जानकारी गराएका छन् ।

वडा अध्यक्षहरुले बाल संरक्षण र अधिकारको क्षेत्र कमजोर हुनु अभिभावकहरुको कमजोरी रहेको बताएका छन् ।

त्यस्तै बालश्रममा लगाइनु, बालबालिकाको मनोविज्ञान नबुझ्नु, बालविवाह बढ्नु, कुलतमा लाग्नु, गरिबीको मारमा पर्नु, विद्यालयहरु बालमैत्री नहुनु, पारिवारिक बेमेलका कारण बालबालिका सडक र श्रममा आउनु, शिक्षामा पहुँच नहुनु, जन्मदर्ता समयमै नगराउनु, धेरै बच्चा जन्माउनुजस्ता समस्याहरु उल्लेख भएका छन् ।

उक्त समस्याहरुलाई समाधान गरि बाल संरक्षण र अधिकारको कार्यान्वयन गराउने गरि नीतिको खाकामा प्रस्तुत गर्ने र कार्यपालिकामा पेश गर्ने योजना रहेको छ ।

गोष्ठीको प्रशिक्षकहरुका विकीरण गौतम र दुर्गालाल केसी रहनुभएको छ । उद्घाटन कार्यक्रम निमित्त प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सूचना अधिकारी प्रेम केसीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *