दाङ आएर प्रहरी प्रमुखले सम्झिए बाल्यकालका दिनहरु (भिडियो पनि)

  
  प्रकाशित मितिः शनिबार, माघ २०, २०७४       | 233 Views   ||

दाङ । जन्मस्थान भएकै कारण प्रहरी सेवामा रहँदा ‘आफ्नो ठाउँ’मा पोष्टिङ हुन नपाइने नियमले दाङ आउन नपाएका प्रहरी प्रमुख प्रकाश अर्याललाई ‘आइजीपी’ भएपछि मात्रै यहाँ आउने अवसर जु¥यो ।

अर्यालकै शब्दमा दाङ आउने मेसो जुराइदिए प्रहरी सञ्चार निर्देशनालयका डिआइजी, पाँच नं. प्रदेशका प्रमुख एआइजी मधुसूदन पुडासैनी र एसपी दुर्गा सिंह चन्दले ।

प्रहरी महानिरिक्षक भएपछि पहिलोपटक दाङ आउँदा बाल्यकालका यादहरुले आफू निकै उद्देलित भएको आइजीपी प्रकाश अर्यालले बताए । शनिबार बिहान घोराहीमा आयोजित कार्यक्रममा उनले बाल्यकालमा पढेका स्कूलहरु, साथीसंगी र घुमघाम गरेका ठाउँहरुको सम्झना पनि गरे ।

नेपाल पत्रकार महासंघ र नागरिक समाज दाङको स्वागत तथा अभिनन्दन ग्रहण गरिरहँदा भावुक देखिएका प्रहरी प्रमुख अर्यालले वर्षौंअघिका यादहरु हिजोजस्तै लाग्ने बताए ।

‘जखेरा ताल वरिपरि घुमेको, यहाँका आदिबासी चौधरी साथीहरुसँग सँगै माघी मनाएको हिजो जस्तै लाग्छ’, उनले भने, ‘मैले पढेका स्कुलहरु चौघेरा, रझेना, पद्मोदय र यहाँको क्याम्पस अनि मेरा गुरुहरुले दिएको शिक्षा, यी सबै सबैप्रति म ऋणी छु ।’

दाङमा आउँदा आफूलाई पारिवारिक वातावरणमा रमाइरहेको जस्तो महसुस भएको भन्दै आफूले भावनात्मक रुपमा बोलेका कुराहरुलाई समाचारको विषयवस्तु नबनाइदिन पनि मिडियाकर्मीलाई अनुरोध गर्न भ्याए उनले ।

प्रादेशिक राजधानीका विषयमा उठेको कुरातर्फ इंगित गर्दै उनले त्यो सरकारको काम भएको बताए । तर, हाल प्रदेश प्रहरी प्रमुखको कार्यालय दाङमै रहेकाले यो आर्थिक वर्षमा कतै स्थानान्तरण नहुने बताए ।

प्रदेशको अस्थायी मुकाम जहाँ रहे पनि यो आर्थिक वर्षसम्म प्रहरीको प्रदेश प्रमुखको कार्यालय यही रहन्छ, उनले भने, ‘राजधानीको विषय सरकारको विषय हो । त्यसमा हामीले बोल्न मिल्दैन । कम्तीमा यो आर्थिक वर्ष भित्र प्रदेश प्रहरी प्रमुखको कार्यालय सार्न सकिदैँन ।’

दाङका पुराना अपराधका घटनाहरु अहिले पनि अनुसन्धानकै घेरामा रहेको भन्दै उनले कुनै पनि बहानामा यस्ता घटनाहरुको अनुसन्धान रोक्न नमिल्ने बताए । प्रहरीसँग न्युन स्रोत साधनहरु भए पनि अधिकतम रुपमा प्रयोग गर्दै जनताको शान्ति सुरक्षाका लागि काम गर्न प्रहरी कटिबद्ध रहेको बताए ।

प्रकाश अर्यालले सम्झिए बाल्यकालका दिनहरु हेर्नुस् पूरा भिडियो–

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ दाङका पूर्वअध्यक्ष प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमले अर्यालको सफलता उहाँको ब्यक्तिगत सफलता मात्रै नभएर सिंगो दङाली र नेपालीहरुको सफलता भएको बताए ।

नागरिक समाज दाङका सचिब चन्द्रराज पन्तको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघका सचिव भुपेन्द्र वलीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *