एकल साँझमा सुनिए पंकजका गजल

  
  प्रकाशित मितिः शनिबार, माघ २०, २०७४       | 252 Views   ||

सल्यान । सल्यानमा पहिलो पटक आयोजना गरिएको एकल गजल साँझमा गजलकार पूर्ण भण्डारी ‘पंकज’का गजल सुनिएका छन् ।

बागचौर नगर साहित्य परिषद्ले पहिलो पटक गजलकार पूर्ण भण्डारी ‘पंकज’को एकल गजल साँझ आयोजना गरेको हो ।

माघ १९ गते शुक्रबार सञ्चालन गरिएको उक्त एकल साँझमा गजलकार पूर्ण भण्डारी पङ्कजले देशभक्तिपूर्ण, रोमान्टिक र मानवीय संवेदना बोकेका गजल वाचन गरेका थिए ।

होटल शारदा टप एण्ड लजको सभाहलमा बेलुकी ५ : ३० बजेदेखि सुरु गरिएको उक्त कार्यक्रममा बागचौर नगरपालिकाका जनप्रतिनिधि, शिक्षक, प्राध्यापक, विद्यार्थी, व्यापारी, कलाकार र साहित्यप्रेमीहरूको उपस्थिति थियो ।

२ घण्टासम्म चलेको कार्यक्रममा गजलकार पंकजले आफ्ना पुराना तथा नयाँ गजलहरु सुनाएका थिए । उनको संकल्पको शिखा गजल संग्रह प्रकाशित छ भने फुटकररुपमा थुप्रै गजलहरु लेखिसकेका छन् ।

गजल साँझको प्रमुख अतिथि बागचौर नगरपालिकाका उपप्रमुख कल्पना पुनले सिंहदरबारको शासकीय स्वरुप गाउँ–गाउँमा आएजस्तै साहित्यकार र कलाकारहरूले गाउँ–गाउँमा लुकेर रहेका प्रतिभाहरूको खोजी गरी तिनको संस्थागत रूपमा संरक्षण र संवद्र्धनमा लाग्नुपर्ने बताए ।

स्थानीय तहमा रहेका साहित्य, कला र संस्कृतिको संरक्षण र संवर्धन गर्ने उद्देश्यले गजल साँझको आयोजना गरिएको वागचौर नगर साहित्य परिषद्का अध्यक्ष इन्द्र भण्डारी अङ्कितले बताए ।

वागचौर नगर साहित्य परिषद्का अध्यक्ष इन्द्र भण्डारी अङ्कितको अध्यक्षतामा भएको उक्त एकल गजल वाचन कार्यक्रमको उद्घाटन सत्रको सञ्चालन परिषद्का सचिव तारादेव शर्मा ‘प्रदर्शन’ले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *