शिक्षक संगठनको ५ नं. प्रदेश अध्यक्षमा मदन शर्मा

  
  प्रकाशित मितिः शनिबार, माघ २०, २०७४       | 794 Views   ||

दाङ । एकीकृत अखिल नेपाल शिक्षक संगठन ५ नं. प्रदेशको अध्यक्षमा मदन कुमार शर्मा चुनिनुभएको छ । संगठनको शनिबार घोराहीमा सम्पन्न प्रथम प्रदेश सम्मेलनले शर्माको नेतृत्वमा ८७ सदस्यीय प्रदेश समिति सर्वसम्मत चुनेको हो ।

समितिका पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष रोल्पाका यमप्रसाद अधिकारी, महिला उपाध्यक्ष बाँकेका गणेशा कार्की, उपाध्यक्षहरुमा सुवासचन्द्र बञ्जाडे (अर्घाखाँची), मोहनलाल वली (दाङ), डेलराज खनाल (गुल्मी) रहनुभएको छ ।

त्यसैगरी महासचिवमा रुपन्देहीका प्रेमबहादुर बस्नेत, अर्थ उपमहासचिवमा रुकुम पूर्वका दुर्गा गौतम, उपमहासचिवमा किरण देवकोटा (कपिलवस्तु), अर्थ सचिवमा बाँकेका विरेन्द्र मल्ल र सचिवहरुमा धर्मप्रसाद शर्मा (बर्दिया), विष्णुप्रसाद पोख्रेल (प्यूठान), शेषनारायण चालिसे (पाल्पा) रहनुभएको छ ।

संगठनको कार्यालय सदस्यका रुपमा दाङका माधव महरालाई तोकिएको छ ।

‘वैज्ञानिक शिक्षा नीति समाजवादी क्रान्तिको आधार, ट्रेड युनियन अधिकार, वामपन्थी शिक्षक एकता र शैक्षिक विकास हाम्रो कार्यभार’ भन्ने मूल नाराका साथ शुरु भएको ५ नं. प्रदेशको प्रथम सम्मेलनको उद्घाटन संगठनका पूर्वअध्यक्ष तथा शिक्षक महासंघका केन्द्रीय सह–अध्यक्ष रत्नबहादुर ओलीले गर्नुभएको थियो ।

समाजवादी शिक्षा नीतिबारे बहस जरुरी

सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि सह–अध्यक्ष वलीले क्रान्तिकारी शिक्षकहरुले अब समाजवादी शिक्षा नीतिका बारेमा गम्भीर बहसको थालनी र विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

‘समाजवादी शिक्षाको पाठ्यक्रम, पठनपाठन विधि, परीक्षा प्रणाली कस्तो हुने ?’ प्रमुख अतिथि वलीले भन्नुभयो, ‘अब हामीले नै यसको बहस र छलफलको थालनी गर्नुपर्छ ।’ विगतमा जनवादी शिक्षाका लागि आवाज उठाउने पनि क्रान्तिकारी शिक्षकहरु नै भएको चर्चा गर्दै वलीले समाजवादी क्रान्तिलाई टेवा पु¥याउने खालको समाजवादी शिक्षा नीतिका लागि पहलकदमी लिनुपर्नेमा जोड दिनुभयो ।

संघीय शिक्षा ऐन बन्ने लागेको बताउँदै शिक्षक नेता वलीले आफूहरुले शिक्षा नीतिका बारेमा सम्बन्धित निकायलाई ११ बुँदे सुझाव समेत बुझाइसकेको बताउनुभयो ।

‘हामीलाई अहिले अन्योलमा पारिएको छ, उहाँले भन्नुभयो, ‘हामी कसका शिक्षक हौं– संघ, प्रदेश वा स्थानीय तहका ? हाम्रो किताबखाना, सञ्चयकोष र वृत्तिविकासको लेखाजोखा कसले, कहाँ राख्ने हो ? यसको तत्काल टुङ्गो लगाइनुपर्छ ।’

कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य जगप्रसाद शर्मा ‘अपार’ले देशमा बृहत कम्युनिष्ट केन्द्र निर्माणको अभियान चलिरहेको भन्दै यसलाई कसैको षड्यन्त्रले रोक्न नसक्ने बताउनुभयो ।

कम्युनिष्ट एकतालाई रोक्न धेरै शक्तिकेन्द्रहरु लागिरहेको भन्दै उहाँले बौद्धिक वर्गको रुपमा रहेका शिक्षकहरुले कम्युनिष्ट एकता र समाजवादी क्रान्तिका बारेमा जनस्तरसम्म प्रष्ट पार्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा संगठनका फ्र्याक्सन इन्चार्ज एवं पूर्वमन्त्री हकिकुल्लाह खाँ, माओवादी केन्द्र दाङका इन्चार्ज जीवन गौतम, संगठनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष शंकरप्रसाद अधिकारी, प्रदेश सांसद दामा शर्मा, संगठनका केन्द्रीय उपाध्यक्ष कृष्णदत्त जोशी ‘बक्सर’, नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य अरुणकुमार शर्मा, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नरेन्द्र केसी, नेपाल राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय सदस्य कमल पोख्रेल र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सन्तोष पोख्रेलले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

संगठनका केन्द्रीय उपाध्यक्ष एवं ५ नं. प्रदेश इन्चार्ज बसन्तराज अधिकारीको अध्यक्षतामा भएको सम्मेलन उद्घाटन सत्रको सञ्चालन मदनकुमार शर्माले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *