वाइसिएल दाङको जिल्ला सम्मेलन फागुन २१ र २२ मा

  
  प्रकाशित मितिः आइतवार, माघ २१, २०७४       | 177 Views   ||

दाङ । माओवादी केन्द्रको युवा संगठन वाइसिएल दाङको चौथो जिल्ला सम्मेलन यही फागुन २१ र २२ गते हुने भएको छ । शनिबार घोराहीमा बसेको जिल्ला समितिको बैठकले चौथो जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो ।

संगठनका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सरोज खड्काको अध्यक्षता, नेकपा माओवादी केन्द्रका सहइन्चार्ज निर्मल आचार्यको प्रमुख आतिथ्यता एवं संगठनका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज गणेश शाहीको विशिष्ट आतिथ्यमा बैठक सम्पन्न भएको थियो ।

बैठकले सम्मेलनका लागि खगेश्वर घर्ती ‘बादल’को संयोजकत्वमा सम्मेलन आयोजक समिति समेत गठन गरेको छ । बैठकले संगठन बिस्तार तथा सुदृढ गर्नका लागि फागुन १५ गतेसम्म वडा र स्थानीय तहस्तरमा संगठनका भेला तथा सम्मेलनहरु गरिसक्ने निर्णय गरेको बैठकपछि संयोजक खगेश्वर घर्ती ‘बादल’ले विज्ञप्ती जारी गरी जानकारी दिनुभएको छ ।

विज्ञप्ती अनुसार जिल्ला सम्मेलनलाई व्यापक र भव्य बनाउनुका साथै संगठन सुदृढ र विस्तार गर्न फागुन १० गतेसम्म जिल्लाका १०० वटै वडामा भेला तथा सम्मेलन गरिसक्ने र फागुन १५ गतेसम्ममा १० वटै स्थानीय तहमा भेला तथा सम्मेलन गर्ने निर्णय गरिएको छ ।

त्यस्तै संगठनको केन्द्रीय समितिको निर्णयअनुसार फागुन १ गते घोराहीमा अबिर जात्रा र ¥याली गरेर जनयुद्ध दिवस मनाउने र साँझ सबै स्थानीय तहमा दीपावली गर्ने निर्णय गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यस्तै, ५ नं. प्रदेशको राजधानी दाङ तोकिनुपर्ने भन्दै विज्ञप्तीमा लेखिएको छ, ‘भौगोलिक बनावट, वातावरणीय अनुकूलता, प्रशस्त स्रोतसाधनले सम्पन्न, प्रदेशको केन्द्रभाग र सुरक्षाको दृष्टिकोणले उपयुक्त दाङलाई ५ नं. प्रदेशको राजधानी नबनाई देउवा सरकारले अस्थायी मुकाम रुपन्देहीलाई तोकेकोप्रति गम्भीर आपत्ति एवं भत्र्सना गर्दै आगामी प्रदेश सभाबाट दाङलाई प्रदेशको स्थायी राजधानी बनाउनतर्फ पहलकदमी बढाउन सबैलाई आग्रह गर्दै संगठनको तर्फबाट निरन्तर खबरदारी गर्ने निर्णय गरिएको छ ।’

साथै प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउन खट्ने वाइसिएललगायत सबैलाई धन्यवाद ज्ञापन गरिएको विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *