घोराहीमा सवारी चाप कम गर्न कुइरेपानी–सर्रा वाइपास रोड

  
  प्रकाशित मितिः बुधबार, माघ २४, २०७४       | 211 Views   ||

पाण्डव शर्मा

दाङ । घोराही उप–महानगरपालिकाले बजार क्षेत्रमा सवारी चाप कम गर्नका लागि कुइरेपानी–सर्रा बाइपास रोडको योजना अघि सारेको छ । उपमहानगरले नगर सभामार्फत् कुइरेपानी-सर्रा वाइपास रोडको अवधारणा ल्याएको छ । त्यसका लागि चालु आर्थिक वर्षमा दुई करोड रुपैयाँ विनियोजन गरिएको छ ।

‘अहिले कायम रहेको दामोदर रोडलाई विस्तार गरेर वाइपासको रुपमा प्रयोग गर्ने उपमहानगरको योजना रहेको छ,’ उपमेयर सिता सिग्देल न्यौपानेले भनिन्, ‘अहिले बीच बजारमा सवारी चाप निकै बढेको छ ।’

बाइपास रोडबाट लामो दूरीका सवारी तथा ढुवानीका साधनहरु सञ्चालन हुनेछन् । ‘यसबाट घोराहीको मुख्य बजारमा भइरहेको सवारी चाप करिब ३५ प्रतिशतले कम हुनेछ,’ न्यौपानेले भनिन्, ‘सवारी दुर्घटना न्यूनीकरण गर्ने नगरपालिकाको योजना हो ।’

अहिले सोनापुर सिमेन्ट उद्योगका टिप्पर तथा ट्रकहरु घोराहीमो मुख्य बजार हुँदै लमही तथा पूर्वी नेपाल जाने गरेका छन् । ‘बजार क्षेत्रभित्र घोराहीको मुख्य बजार आउनुपर्ने र निजी सवारी साधनहरुलाई मात्र प्रवेश गर्ने व्यवस्था गरिने छ,’ उनले भनिन्, ‘यसले सवारी साधनबाट बजार क्षेत्रमा भइरहेको ध्वनि तथा वायु प्रदूषणलाई रोक्ने छ ।’

उपमहानगरको पहिलो प्राथमिकता सडक

उपमहानगरले नगरसभा मार्फत् चालु आर्थिक वर्षमा सडक योजनालाई उच्च प्राथमिकतामा राखेको छ । ‘हामीले सडक निर्माण तथा विस्तारलाई चालु आर्थिक वर्षको सबैभन्दा पहिलो प्राथमिकतामा राखेका छौं,’ मेयर नरुलाल चौधरीले भने, ‘उपमहानगरका सबै वडाहरुमा पक्की सडक पु¥याउने हाम्रो योजना हो ।’

सडक सञ्जाल व्यवस्थित हुन नसक्दा उपमहानगरको उचित विकास हुन नसकेको चौधरीको भनाई छ । अहिले रहेका सडकहरुलाई चौडा पार्दै कालोपत्रे गरिने उनले जानकारी दिए । ‘केही वडाहरुमा सडकको अवस्था निकै नाजुक छ,’ चौधरीले भने, ‘पछिल्लो पटक उपमहानगरको क्षेत्र विस्तार हुँदा धेरै ग्रामीण तथा केही निकै विकट क्षेत्रसमेत परेका छन् । ’

सबै क्षेत्रको समानुपातिक विकासका लागि सडक सञ्जाललाई मुख्य बजारसँग जोड्ने योजना ल्याइएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *