पिसाब पनि खानेपानी बन्ला ?!

  
  प्रकाशित मितिः बुधबार, माघ २४, २०७४       | 141 Views   ||

यो दुनियाँमा असम्भव भन्ने कुरा केही छैन । वैज्ञानिकहरुले यस्तो मेसिन बनाएका छन्, जसले मानिसको पिसाबलाई शुद्धिकरण गरेर पिउनलायक पानी बनाइदिन्छ । यो मेसिन सोलार पावरबाट चल्नेछ र बिजुली नभएको ठाउँमा पनि काम गर्नेछ ।

साँच्चीकै पानीको अभाव भएको ठाउँमा यात्रा गर्दा यो मेसिन निकै उपयोगी हुनेछ । बेल्जियमको घेन्ट विश्वविद्यालयका शोधकर्ता सेबास्टियन डेरेसेका अनुसार यो मेसिनमा एक विशेष झिल्ली रहेको छ, जसले सरल प्रक्रियाबाट पिसाबलाई शुद्धिकरण गरी पिउनलायक पानी बनाइदिन्छ । यसले निकै कममात्र ऊर्जा खपत गर्दछ ।

यो मेसिनको एउटा ट्यांकीमा पिसाब जम्मा हुन्छ, जसलाई सौर्य ऊर्जाबाट चल्ने ब्वाइलरमा उमालिन्छ । उमालिएको पिसाब एउटा विशेष झिल्लीमा छानिन्छ र पिसाबबाट पोटासियम, नाइट्रोजन र फोस्फोरसजस्ता तत्व निकालिन्छ ।

वैज्ञानिकहरुले उक्त विश्वविद्यालयमा आयोजित एक महोत्सवका क्रममा संकलन गरेको पिसाबबाट १० हजार लिटर पिउने पानी तयार गरे । अब उक्त पानीको प्रयोग बियर बनाउन गरिनेछ ।

शोधकर्ताका अनुसार यो मेसिनलाई खेल रंगशाला तथा विमानस्थलहरुमा राख्न सकिएमा निकै फाइदाजनक हुनेछ । साथै सुख्खाग्रस्त तथा सफा पानीको अभाव रहेका विकासशील देशहरुमा पनि यो मेसिन निकै उपयोगी हुने बताइएको छ । तर आफ्नै पिसाबबाट बनेको पानी पिउन मानिसहरु कत्तिको राजी होलान् ? त्यो चाहीँ हेर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *