सुरक्षाका दृष्टिले प्रदेशका अधिकांश राजधानी खतरामा- सुरक्षाविद्

  
  प्रकाशित मितिः बुधबार, माघ २४, २०७४       | 672 Views   ||

काठमाडौं । सुरक्षाविद्हरुले सरकारले अहिले घोषणा गरेका अधिकांश प्रदेशका राजधानीहरु खतरामा रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय सीमानासँग जोडेर संसारका कुनै पनि देशमा राजधानी राख्न नपाइने भन्दै सुरक्षाविदले छिमेकीसँगको सीमानासँग जोडेर राजधानी राख्दा अनुत्पादक, अनुचित र औचित्यहीन निर्णय भएको उल्लेख गरेका छन् ।

सुरक्षाविद् धरणीधर खतिवडाले भनेका छन्, “यो राष्ट्रलाई नै खतरा हो । अर्थात अधिकांश राजधानी ठीक ठाउँमा छैनन् ।” विराटनगर मात्र होइन, धनगढी, बुटवल पनि ठीक ठाउँमा राजधानी नराखिएको तर जनकपुरको भने अर्को विकल्प नदेखिएको खतिवडाको भनाई छ ।

प्रादेशिक सहर भनेको संयमता, शिष्टता, शालीनता हुनुपर्ने बताउँदै खतिवडाले देउवा सरकारले हचुवा तालमा प्रदेशको राजधानी तोकेको आरोप लगाउँछन् ।

अर्कोतिर आन्दोलनरत पक्षले पनि बृहत्तर राष्ट्रको हितलाई भन्दा जिल्लाको सीमित स्वार्थलाई गाँसेर अगाडि बढेको बुझाइ खतिवडाको छ । प्रदेशका सबै जिल्लाको पायक पर्ने ठाउँ, त्यहाँका मानिसहरुको बसोबास, जनसंख्या र भूगोल सबै विचार गरेर मात्रै राजधानीको निर्णय गरिनुपर्ने खतिवडाको तर्क छ ।

विकसित र विकासशील मुलुकमा पहिलो प्राथमिकता राष्ट्रिय सुरक्षालाई दिइन्छ भन्दै राजधानीजस्तो सम्वेदनशील विषयमा सुरक्षामा चासो राख्ने संवैधानिक सबै निकाय र प्रशासनिक निकायहरुको सरसल्लाहका आधारमा दीर्घकालीन हितलाई ध्यानमा राखेर निर्णय गरिने प्रचलन रहेको खतिवडाले बताए ।

“तर हामीकहाँ कुनै पनि राजनीतिक दल मुलुकको राष्ट्रिय सुरक्षा र संवेदनशीलताप्रति गम्भीर नभएको” खतिवडाको तर्क छ ।

संविधानको मर्मअनुसार भाषाभाषी जातजातिलाई पनि समन्वय गर्ने हिसाबले राजधानी तोकिनुपर्ने उनको भनाई छ ।

“सुरक्षा, समानुपातिक र समता तथा न्यायको हिसाबले राजधानी तोकिनुपथ्र्यो । राजधानी तोक्दा यी कुनै कुरा ध्यानमा राखिएन”, खतिवडा भन्छन् । सुरक्षाको दृष्टिबाट हेर्दा दिनानुदिन आन्तरिक चुनौतिको दलदलमा फस्दै गएको सुरक्षाविदहरुको ठम्याई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *