५ नं. प्रदेशमा राष्ट्रिय सभा सदस्यको मतदान अन्तिम चरणमा

  
  प्रकाशित मितिः बुधबार, माघ २४, २०७४       | 152 Views   ||

प्रदेश सभाका जेष्ठ सदस्य बलदेव शर्मा पोख्रेल

दाङ । राष्ट्रिय सभा सदस्यका लागि पाँच नम्बर प्रदेशको निर्वाचन अहिले घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा जारी रहेको छ ।

बिहान १० बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । निर्वाचन अधिकृत हेमन्त रावलका अनुसार दिउँसो पौने दुई बजेसम्म ३ सय ३ मतदाताले भोट खसालेका छन् । जसमा प्रदेश सभा सदस्यतर्फ ८६ र स्थानीय तहतर्फ २१७ मत खसेको छ । कुल मतदाता ३०५ रहेकोमा अब दुई जना मतदाता मात्रै बाँकी रहेका हुन् ।

राष्ट्रिय सभा सदस्यलाई चुन्न ५ नं. प्रदेशका मुख्यमन्त्रीका दावेदार एमाले नेता शंकर पोख्रेल, माओवादी नेता कुलप्रसाद केसी ‘सोनाम’लगायतले मतदान गरिसकेका छन् ।

प्रदेश सभाका ८७ सदस्य र स्थानीय तहका २ सय १८ गरी ५ नम्बर प्रदेशमा कुल ३ सय ५ मतदाता रहेका छन् ।

निर्वाचनमा भोट हाल्नका लागि मिलन केन्द्रस्थित मतदान स्थलमा दुइवटा मतदान केन्द्रको व्यवस्था गरिएको थियो ।

यी हुन् प्रतिस्पर्धी

देशभर ५९ जना सदस्य रहने राष्ट्रिय सभामा ५६ जना निर्वाचित हुनेछन् भने बाँकी ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।

संवैधानिक व्यवस्था अनुसार अन्य प्रदेशझैं ५ नम्बर प्रदेशबाट पनि राष्ट्रिय सभामा ८ जनाले प्रतिनिधित्व गर्नेछन् । जसअनुसार खुल्ला तीन, महिला तीन, एक दलित, एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यकले यस प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्नेछन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पाँच नम्बर प्रदेशबाट ११ जनाको उम्मेद्वारी परेको थियो । यस प्रदेशमा खुल्ला तर्फ एमालेबाट खिमलाल भट्टराई, काँग्रेसबाट दुर्गाप्रसाद उपाध्याय, माओवादी केन्द्रका चन्द्रबहादुर खड्का र राष्ट्रिय जनमोर्चाबाट रश्मीराज नेपाली बीच प्रतिष्पर्धा हुँदैछ ।

यसैगरी दलिततर्फ एमालेका रामलखन हरिजन र काँग्रेसका मैकुलाल वाल्मिकी तथा अपाङ्गतर्फ काँग्रेसका लुटबहादुर खत्री र माओवादीका रामकुमार कुँवरबीच प्रतिष्पर्धा हुनेछ ।

तीन महिला निर्विरोध

राष्ट्रिय सभा निर्वाचनका लागि ५ नम्बर प्रदेशबाट ३ महिला एमालेबाट दाङकी कोमल वली, रोल्पाकी मिना बुढा र काँग्रेसबाट दाङकी अनिता देवकोटा निर्विरोध निर्वाचित भएका हुन् । निर्विरोधहरुको औपचारिक घोषणा भने निर्वाचनमा विजयी हुने उम्मेदवार सँगसँगै गरिने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

बुधबार बेलुकासम्म नै मतपरिणाम आइसक्ने निर्वाचन आयोगले जनाएको छ ।

तस्बिरहरु : नारायणी रजौरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *