सामान्यतः नेपाल र भारत दुवै देशका नेताहरुको नेपाल र भारतको भ्रमण विवादमा पर्दै आएको इतिहास छ । यस ऐतिहासिक निरन्तरताकोा कडिमा थपिएको छ–भारतीय विदेश मन्त्री सुष्मा स्वराजको हालैको नेपाल भ्रमण ।
भारतीय नेताहरुको नेपाल भ्रमण र नेपाली नेताहरुको भारत भ्रमणका हरेक बेला प्रायः हरेक नेपालीको मनमस्तिष्कमा आशंकाको बादल लाग्ने गर्दछ । फेरि हाम्रो स्वाभिमान गिर्ने हो कि ? हाम्रा प्राकृतिक स्रोतहरु खोसिने हुन् कि ? असमान सन्धि सम्झौताको दुखद श्रृंखलामा थप नयाँ कडी जोडिने हो कि ?

इतिहास, संस्कृति, भूगोलले जोडिएको छिमेकीप्रति यस्तो आशंकाको कालो बादल मडारिनु कुनै दृष्टिले उचित होइन तर इतिहासको विडम्बना अहिले पनि जारी छ । यो आशंका फगत मनोवैज्ञानिक त्रास मात्र होइन न हो सानो हुनुको लघुताभास । यो त असंख्य चोटपछिको भोगाइको परिणाम हो ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजको हालैको दुई दिने नेपाल भ्रमणको सन्दर्भमा अहिले मूर्त रुपमै अप्रिय कुरा नदेखिए पनि खासगरी उहाँले भ्रमणको बेला चुन्नुभएको समयले आम नेपालीलाई तरंगित मात्र गराएन, कूटनीतिक क्षेत्रमा कहीँ नभएको जात्रा हाँडीगाउँमा जस्तै भयो । जनताको मतादेशले पुरानो सरकार जाँदै र नयाँ सरकार गठन हुन लागेको नेपालको आन्तरिक राजनीतिको अत्यन्त संवेदनशील घडिलाई भारतीय विदेशमन्त्रीले नेपाल भ्रमणको समय रोज्नु आफैमा अमूर्त कुरा हो । व्यक्तिगत व्यवहारमा समेत नियत राम्रो भएर हुँदैन, नियत राम्रो देखिनु पर्दछ भने कूटनीति जस्तो नियत राम्रो देखाउनै पर्ने क्षेत्रमा भारत सरकारले यो उत्ताउलो कूटनीति किन रोज्यो ? गम्भीर जिज्ञासाको विषय भएको छ । ढिलो चाँडो बिस्तारै सत्य उद्घाटित हुने नै छ ।
तर नेपालमा वाम गठबन्धनको सरकार गठन हुने मात्र होइन, दुई ठूला वाम दल एक हुने दिशातर्फ नेपाली राजनीति अघि बढिरहेको तर अझै ती दुवै विषयमा अन्तिम टुङ्गो नलागिसकेको मात्र होइन र यस प्रक्रियामा सामेल एमाले र माओवादी केन्द्र दुवैतर्फका कतिपय जिम्मेवार नेताहरुले समेत वाम गठबन्धन र पार्टी एकता तोड्न ‘कतिपय देशीविदेशी शक्तिहरु’ लागिरहेको भन्ने सार्वजनिक अभिव्यक्ति दिइरहेका बेला कुनै प्रष्ट एजेण्डाबिना भारतीय विदेशमन्त्रीकै शब्दमा ‘राजनीतिक विषयमा राजनीतिक भेटघाट गर्न नेपाल आउनुको औचित्यमा प्रश्न उठ्नु स्वभाविकै हो ।
सम्भवतः कूटनीतिक मर्यादामा बसेर त्यो पनि सिमाना जोडिएको छिमेकी मुलुकमा हुने राजनीतिक विकासक्रमलाई नियालेर हेर्नु ‘भूमण्डलीकरण भएको’ वर्तमान विश्वमा असामान्य मानिदैन होला । तर भारतीय विदेशमन्त्री स्वराजसँग भेटघाट गर्ने कतिपय नेताहरुले सार्वजनिक रुपमै चुहाएझैं केन्द्र र प्रदेशमा (विशेषतः प्रदेश नं. २) विभिन्न गठबन्धनबारे अनावश्यक तहको रुचि र सल्लाह स्वस्थ कूटनीतिक अभ्यासविपरित र नेपालको राजनीतिक विकासक्रमलाई अनुचित प्रभाव पार्ने हस्तक्षेपकारी नीतिका रुपमा बुझ्नु पर्दछ ।

नेपालको आन्तरिक मामलामा अनावश्यक रुचि र अनाहकको सल्लाह दिने भारतीय नीतिले आम नेपाली जनतामा भारत सरकारविरोधी भावनालाई थप बढाउने हो । नेताहरुसँग खेलेर होइन, नेपाली जनताको मनमा रहेको त्यो भावनालाई हटाएर मात्र भारतले नेपालमा सकारात्मक उपलब्धि पाउनेछ । यो वा त्यो नेता वा दललाई कहिले उचालेर र कहिले पछालेर भारतले नेपालमा खेल्दै आएको भूमिका अन्ततः भारतका लागि नै प्रत्युत्पादक भएको कुरा अरु त अरु भारतीय कूटनीतिज्ञ, विदेश मामलाका ज्ञाता बुद्धिजीवीहरु मात्रै हैन, भारतकै प्रतिपक्षी दलहरुको टिप्पणीलाई ध्यान दिनु जरुरी छ ।
यस सन्दर्भमा नेपाली दल र नेताहरुले परिपक्वता देखाउन ढिलो भइसकेको छ । निहित स्वार्थ भएका ठूला शक्ति राष्ट्रहरुले साना राष्ट्रहरुमाथि ‘युज एण्ड थ्रो’को कूटनीति खेलेका उदाहरण कूटनीतिक क्षेत्रको इतिहासमा भरिएका छन् । विदेशीहरुले कथित् ‘माया’ आफ्नो स्वार्थ पूरा नहुँदासम्म हो, स्वार्थ पूरा भएपछि त्यो ‘माया’ अन्यत्र कतै सल्किन्छ भन्ने तीतो पाठ कमसेकम भारतका सन्दर्भमा नेपालका दल र नेताहरुले नबुझेको होइन होला ।
नेपालका नेताहरुले ‘राजनीतिमा कोही स्थायी शत्रु र मित्र’ हुँदैन भन्ने वाक्यांश निकै दोहो¥याउने गर्दछन् । भारतले नेपालमा गर्ने कूटनीति त्यस्तै हो । बाबुराम भट्टराई जस्तालाई भेटसमेत नदिनु यसको उदाहरण हो ।
हाम्रा पुराणहरुमा ‘विष कन्या’का थुप्रै प्रसंग आउँछन् । जसमा ती सुन्दरी कन्याहरुले जसलाई म्वाई खान्छिन्, तिनको मृत्यु हुन्छ । सत्ता राजनीतिको लोभमा विगतमा नेपालका थुप्रै दल र नेताहरुले भारतरुपी ‘विषकन्या’बाट त्यस्तै भोगेको कुरा इतिहास साक्षी छ । अझै इतिहासबाट नसिक्ने ?
०००