नगर प्रमुख पाण्डेका पिताको दाहसंस्कार

  
  प्रकाशित मितिः बिहिबार, माघ २५, २०७४       | 287 Views   ||

दाङ । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेका पिता टेकबहादुर पाण्डेको बिहीबार दाहसंस्कार गरिएको छ । तुलसीपुर उप–महानगरपालिकाको वडा नम्वर ८ भमके खोलामा पाण्डेको दाहसस्कार गरिएको छ ।

दाहसंस्कार गर्नु अगाडि आयोजना गरिएको संक्षिप्त श्रद्धाञ्जली कार्यक्रममा बोल्दै एमाले दाङका अध्यक्ष टीकाराम खड्काले कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान दिएका पाण्डेको निधनले वामपन्थी राजनीतिमा अपुरणीय क्षति पुगेको बताएका थिए ।

कसरी भयो निधन ?

बुधबार गाउँको विवाहमा सहभागी भएर फर्कने क्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ मा रा ३ प ८७२४ नम्बरको मोटर साइकलले उनलाई ठक्कर दिएको थियो ।

प्रारम्भिक उपचार तुलसीपुर अञ्चल अस्पतालमा गरेर थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा पाण्डेको अमिलियामा मृत्यु भएको थियो ।

को-को पुगे श्रद्धाञ्जली दिन ?

राजनीति र सामाजिक क्षेत्रमा लामो समयदेखि क्रियाशील पाण्डेको निधनपछि श्रद्धाञ्जली दिनका लागि राजनीतिज्ञ, सुरक्षा क्षेत्रका विशिष्ट व्यक्ति लगायतको सहभागिता रहेको थियो ।

उनलाई श्रद्धाञ्जली दिनका लागि माओवादी केन्द्रका नेता एवम् प्रतिनिधि सभा सदस्य कृष्णवहादुर महरा भमके खोलास्थित घाटमै पुगेका थिए ।

त्यसैगरी एमालेका उपमहासचिव विष्णु पौडेल, एमाले स्थायी कमिटी सदस्य शंकर पोख्रेल, प्रतिनिधिसभा सदस्य शान्ता चौधरी, हिराचन्द्र केसी, राष्ट्रियसभा सदस्य कोमल वली, प्रदेशसभा सदस्यहरु उत्तरकुमार वली, अमर डाँगी, डिल्ली चौधरी, जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपाली, घोराही उपमहानगरपालिकामा नगरप्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता न्यौपाने, प्रदेश प्रहरी प्रमुख मधुप्रसाद पुडासैनी, प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, दाङ जिल्ला प्रहरी प्रमुख दुर्गा सिंह चन्दलगायतका व्यक्तिहरु उनको निवास र दाहसंस्कार गर्ने ठाउँमा पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *