दाङ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेका पिताको निधनप्रति नेकपा माओवादी केन्द्रका नेता तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराले शोक विज्ञप्ती जारी गरेका छन् ।
बिहीबार शोक विज्ञप्ती जारी गर्दै तुलसीपुर–८ अश्वारानिवासी ७८ वर्षीय टेकबहादुर पाण्डेको असामयिक, आकस्मिक र दुःखद निधनले आफूलाई मर्माहत बनाएको बताएका हुन् ।
पाण्डेको निधनले सिंगो दाङले अग्रज, कुशल अभिभावक र अनुभवी व्यक्तित्वलाई गुमाएको भन्दै महराले विज्ञप्तीमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनुपर्ने अवस्था आउनु परिवार र समाजकै लागि निकै पीडाबोध हुने बताएका छन् । ‘मृत्यु शास्वत नियम हो तर समय नआइकन सवारी वा अन्य दुर्घटनामा परी हुने यस्ता दुखद घटनाले परिवार र सिंगो समाजलाई नै निकै पीडाबोध हुने गर्दछ,’ उनले विज्ञप्तीमा भनेका छन्, ‘अतः राज्य र सामाजिक क्षेत्रबाट सवारी दुर्घटना न्यूनीकरणका लागि परिणाममूलक पहल गर्नैपर्छ ।’
उनले शोकाकूल परिवारजनमा समवेदनाका साथै दुर्घटनामा परी निधन भएका टेकबहादुर पाण्डेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
हेर्नुस् वक्तव्यको पूर्ण पाठ
शोक वक्तव्य
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेका पुजनीय बुवा तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ अश्वारा निवासी ७८ वर्षीय टेकबहादुर पाण्डेको असामयिक, आकस्मिक र दुखद निधनले मलाई अत्यन्त मर्माहत बनाएको छ । हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट उहाँको निधन भएको सुन्दा झनै स्तब्ध भएको छु । दुःखको यस घडिमा शोकाकुल नगर प्रमुख घनश्याम पाण्डेलगायत समस्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । साथै आकस्मिक दुर्घटनामा परी जीवन गुमाउनुहुने टेकबहादुर पाण्डेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
पाण्डेको निधनले एक अग्रज, कुशल अभिभावक र अनुभवी व्यक्तित्वलाई गुमाएका छौं । उहाँले आफ्नो जीवनकालमा समाजका लागि गरेको योगदान निकै महत्वपूर्ण छ । मृत्यु शास्वत नियम हो तर समय नआइकन सवारी वा अन्य दुर्घटनामा परी हुने यस्ता दुखद घटनाले परिवार र सिंगो समाजलाई नै निकै पीडाबोध हुने गर्दछ । अतः राज्य र सामाजिक क्षेत्रबाट सवारी दुर्घटना न्यूनीकरणका लागि परिणाममूलक पहल गर्नैपर्छ । नेपालमा सवारी दुर्घटनाबाट हुने जनधनको क्षति हे¥यौं भने निकै कहालीलाग्दो अवस्था छ । यसतर्फ हामी सबैको ध्यान केन्द्रित हुन जरुरी छ ।
अन्त्यमा, हामी सबैका अभिभावक टेकबहादुर पाण्डेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा शोकलाई शक्तिमा बदल्ने ऊर्जा प्राप्त होस् भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछु ।
२५ माघ, २०७४
…………………
कृष्णबहादुर महरा
प्रतिनिधि सभा सदस्य
दाङ क्षेत्र नं. २