वाइसिएलको अभियान : जेलबाङ–थबाङ–चुनबाङ !

  
  प्रकाशित मितिः बिहिबार, माघ २५, २०७४       | 510 Views   ||

दाङ । माओवादी युवा संगठन वाइसिएलले ‘जनयुद्धको गौरव : जेलबाङ–थबाङ–चुनबाङ, शहीद परिवार सम्मान, विशेष अभियान’ अभियान सञ्चालन गर्न लागेको छ । जनयुद्ध दिवसको अवसरमा पारेर वाइसिएल ५ नं. प्रदेशले यस्तो अभियान गर्न लागेको हो ।

रोल्पाको जेलबाङबाट शुरु गरिने अभियान थबाङ हुँदै पूर्वी रुकुमको चुनबाङमा पुगेर समापन गरिने वाइसिएल केन्द्रीय सचिव तथा ५ नं. प्रदेशका इन्चार्ज गणेश शाही ‘प्रतीक’ले बताए । उनका अनुसार अभियानका क्रममा शहीद तथा बेपत्ताका परिवारहरुलाई सम्मान तथा अभिनन्दन, अन्तक्र्रिया, जनयुद्धका ऐतिहासिक बलिदानीपूर्ण गाथाहरुको स्मरण र जनसेवाका कामहरु गरिनेछ ।

‘शहीद सप्ताहका अवसरमा जनयुद्धका उपलब्धि, बलिदानका गाथाहरुको स्मरण गर्दै शहीद परिवारहरुसँग भेटघाट र सम्मान गर्ने उद्देश्यले जनयुद्धका तीन ऐतिहासिक गाउँहरुमा पुग्ने निर्णय गरियो’, इन्चार्ज शाहीले भने, ‘हाम्रो अभियान जेलबाङबाट शुरु भएर थबाङ हुँदै चुनबाङ पुगेर समापन हुनेछ ।’

जेलबाङ माओवादी जनयुद्धका समयमा रोल्पामा सबैभन्दा धेरै शहीद हुने गाउँ हो भने थबाङ माओवादी जनयुद्धको उद्गम स्थलकै रुपमा चिनिदै आएको छ । त्यस्तै, रुकुमको चुनबाङ पनि जनयुद्धमा धेरै शहीद जन्माउने गाउँको रुपमा परिचित छ । उसो त माओवादीको ऐतिहासिक चुनबाङ बैठकका नाममा पनि चुनबाङ चर्चाकै शिखरमा छ ।

जनयुद्धकालमा यी तीनवटै गाउँबाट धेरै शहीदहरु भएका छन् भने तत्कालीन राज्यको दमन पनि यी गाउँहरुमा बढी केन्द्रित भएको थियो ।

जनयुद्ध दिवस प्रदेशका ३ शहरमा

त्यसैगरी फागुन १ गते ५ नं. प्रदेशका ३ मुख्य शहर दाङ, नेपालगञ्ज र बुटवलमा केन्द्रीकृत सभा तथा ¥याली गर्ने र अन्य जिल्लाहरुमा आ–आफ्नो सिर्जनशीलतामा कार्यक्रम गरी जनयुद्ध दिवस मनाउने निर्णय गरिएको वाइसिएल केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सरोज खड्काले बताए ।

बिहीबार दाङको लमहीमा बसेको वाइसिएल ५ नं. प्रदेशको पदाधिकारी बैठकले यी निर्णयहरु गरेको खड्काले बताए ।

बैठकले वाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा सदस्यमा निर्वाचित सबैलाई बुटवलमा विशेष सम्मान गर्ने निर्णय गरेको पनि खड्काले बताए ।

दुई महिने संगठन सुदृढीकरण अभियान

उनका अनुसार बैठकले फागुन मसान्तसम्म स्थानीय तहमा वडा, गाउँपालिका र नगरका भेला तथा सम्मेलनहरु गरिसक्ने र चैत मसान्तभित्र सबै जिल्लाहरुले भेला तथा सम्मेलनहरु गरिसक्ने निर्णय गरिएको छ ।

त्यस्तै बैठकले सहकारी, संघसंस्थाहरुका साथै आर्थिक उत्पादन र विकास निर्माणका कार्यहरुमा वाइसिएल क्रियाशील हुने निर्णय गरेको पनि खड्काले बताए । त्यस्तै जनपक्षीय कामका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारलाई निरन्तर खबरदारी र पहलकदमी लिनेलगायतका निर्णय गरेको उनले बताए ।

वाइसिएल ५ नं. प्रदेशका अध्यक्ष जितेन्द्र पुनको अध्यक्षमा बसेको बैठकमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्र ५ नं. प्रदेश संयोजक तथा प्रदेश सभा सदस्य पूर्ण घर्तीले क्रान्तिकारी युवाहरुको दायित्व र भूमिका बढेर गएको बताउँदै समाजवादी क्रान्तिको यात्रामा वाइसिएलले सम्पूर्ण परिवर्तन चाहने युवा शक्तिलाई गोलबन्द गरेर लैजान आग्रह गरेका थिए ।

बैठकमा पार्टीका नेता तथा वाइसिएल फ्र्याक्सन इन्चार्ज रामप्रसाद बञ्जाडे ‘टंकमणि’, वाइसिएल केन्द्रीय उपाध्यक्ष गंगा कार्की ‘पूजा’, वाइसिएल केन्द्रीय सचिव तथा ५ नं. प्रदेश इन्चार्ज गणेश शाही, वाइसिएल केन्द्रीय सचिव केयरसिंह कँवर, वाइसिएल केन्द्रीय सदस्य तथा प्रदेश सह–इन्चार्ज रतनबहादुर शाहीलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *