नवीन लोचनमगर
रोल्पा । रोल्पा नगरपालिकाको वडा नं. १० मा रहेको धबाङखोलामा उत्पादन गरिएको लघुजलविद्युतको उदघाटन गर्दै महराले विकास निर्माणमा राजनीति गरेर कसैलाई फाइदा नहुने बताए ।
‘विकास निर्माणमा किचलो हैन, खुल्ला प्रतिष्पर्धा गरौं’ उनले भने ‘खुल्ला प्रतिष्पर्धाले मात्र गाउँको विकास विकास सम्भव छ ।’ कतिपय ठाउँमा राजनीतिक खिचातानीका कारण आएका योजनाहरु समेत पूरा हुननसकेको भन्दै महराले गाउँको विकासमा एकतावद्धताका साथ अगाडि बढ्न आग्रह गरे ।
धबाङखोलाबाट उत्पादित १८ किलोवाट क्षमता रहेको लघु जलविद्युतको महराले उद्घाटन गरेका थिए । २ सय १८ घरधुरी संख्या लाभान्वित रहेको उक्त विद्युत योजनाका लागि महराले अर्थमन्त्री हुँदा बजेट व्यवस्था गरेका थिए ।
कार्यक्रममा बोल्दै महराले २०४८ सालमा प्रचण्डले धबाङमा प्रशिक्षण दिएको स्मरण गर्दै जनयुद्धमा अमूल्य योगदान दिएका यी गाउँको विकासमा जोडिएर काम गर्न पाउनु गौरवको विषय रहेको बताए ।
पार्टी एकताको विकल्प छैन
महराले सरकार र पार्टीको नेतृत्व एमालेलाई दिएर पार्टी एकता गर्ने कुरा स्वीकार्य नभएको छन् ।
शुक्रबार रोल्पा पुगेका महराले भने, ‘सरकार र पार्टीको नेतृत्व दिएर एकता गर्नु भनेको माओवादी केन्द्रलाई अस्थित्वविहीन बनाउनु हो, त्यो सम्भव छैन ।’ महराले सरकार वा पार्टी अध्यक्षमध्ये एकपद माओवादीले पाउनुपर्ने दावी गरे ।
नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता समेत रहेका महराले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनदेखि हालसम्मका सबै मोर्चाहरुमा एकतावद्धताका साथ वाम शक्ति अगाडि बढेकाले एकताको विकल्प नभएको स्पष्ट पारे ।
‘जनमतले नै एकताको म्यान्डेट दिइसकेको छ’ महराले भने ‘एकता भएन भने दुई पार्टीका नेतृत्वमात्र हैन कम्युनिष्ट आन्दोलननै धरापमा पर्छ, त्यो आत्मघाती समेत हुनेछ ।’
उनले दुवै पार्टीभित्रका मुल नेतृत्वको व्यवस्थापनको कुरा मात्र नभएर दुवै पार्टीको आफ्नो राजनीतिक धरातल र त्यसले स्थापित गरेका मान्यताहरुको समेत व्यवस्थापन आवश्यक रहेको टिप्पणी गरे ।