भलिबलको उपाधि दिपशान्ति बी लाई, राष्ट्रिय एकताको खाँचो– महरा

  
  प्रकाशित मितिः शनिबार, माघ २७, २०७४       | 179 Views   ||

लक्ष्मण बस्नेत

तुलसीपुर । दाङको शान र गौरव बृहत खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि दिपशान्ति प्राविधिक शिक्षालय तलसीपुर बीले हात पारेको छ ।
नगर युवा सञ्जाल तुलसीपुर दाङको आयोजनामा सञ्चालित प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा दिपशान्ति ए लाई २५–२१, २१–२५, २५–२० र २५–१७ अर्थात् ३–१ को सेटमा पराजित गर्दै दिपशान्ति बीले खुला भलिबलको उपाधि चुमेको हो ।

उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको मैदान तुलसीपुरमा भएको निक्कै कडा प्रतिस्पर्धा अनि रोमाञ्चक फाइनल खेलमा उपाधि चुम्न सफल दिपशान्ति बी ले ६० हजार नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्न सफल भयो ।

फाइनलमा पराजित दिपशान्ति ए भने उपविजेतामा चित्त बुझाउँदै ३५ हजार नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।

त्यस्तै तेश्रो स्थानका लागि न्यु स्टार युवा क्लब नारायणपुर र जनदेउराली युवा क्लबबीच भएको खेलमा न्यु स्टारलाई ३–१ को सेटमा पराजित गर्दै जनदेउरालीले प्रतियोगिताको तृतीय स्थान हासिल गर्न सफल भयो । उसले नगद २५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पा¥यो ।

प्रतियोगिता सञ्चालनका लागि विभिन्न क्षेत्रबाट सहयोग गर्ने दाताहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका नेता तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराले प्रशंसापत्र प्रदान गरी सम्मान गर्नुभएको थियो भने विजेता टोलीलाई पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्रहरु राष्ट्रिय सभा सदस्य कोमल वली, तुलसीपुर उपमहानगरपालिकाका उपमेयर माया आचार्यले प्रदान गर्नुभएको थियो ।

माघ २५ गतेदेखि सञ्चालित प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।

राष्ट्रिय एकताको खाँचो– महरा

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महराले देशमा यतिबेला राष्ट्रिय एकताको खाँचो रहेको बताउन्ु भयो ।

राष्ट्रिय एकता बिना देश समृद्ध बन्न नसक्ने भन्दै उहाँले एकताको मियो बनाएर देशलाई समृद्धिको दिशामा लैजानुपर्नेमा जोड दिनुभयो ।
अब छिट्टै राष्ट्रिय सरकार गठन हुने उहाँको दावी थियो ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य कोमल वली, तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर माया आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तुलसीपुर नगर युवा सञ्जालका अध्यक्ष प्रकाश शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा नं ६ का सदस्य दुजमान भण्डारी वर्षातले गर्नुभएको थियो । कार्यक्रममा सहयोगी संघ संस्था, उद्योगी, व्यवसायीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *