घोराही खानेपानीको १८ औं साधारण सभा
दाङ । पूर्वउपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराले बढ्दो जलवायु परिवर्तन, बढ्दो जनघनत्व, औद्योगिक क्षेत्रको विकास, पर्यावरणीय विनास र उत्खननले सुक्दै गइरहेका जलाधारहरुको दिगो संरक्षण अत्यावश्यक भइसकेको बताउनु भएको छ ।
‘दिन प्रतिदिन खानेपानीको हाहाकार बढ्नुमा पर्यावरणीय विनास नै हो, उहाँले भन्नुभयो, ‘दाङलाई खानेपानीको अभावबाट बचाउन सुक्दै गइरहेका मुहान र जलाधार क्षेत्रहरुको दिगो संरक्षण अत्यावश्यक भइसकेको छ ।’
घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको शनिबार घोराहीमा सम्पन्न १८ औं साधारण सभालाई सम्बोधन गर्दै उहाँले जलाधार क्षेत्र संरक्षणका लागि एक दुई जना व्यक्ति र संस्थाको प्रयासले मात्रै सम्भव नहुने बरु सम्पूर्ण दाङबासीकै साझा प्रयासले सम्भव हुने बताउनु भयो ।
घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष देवीबहादुर डिसीको अध्यक्षता तथा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराको प्रमुख आतिथ्यता तथा राष्ट्रिय सभा सदस्य अनिता देबकोटा र प्रदेश सभा सदस्य अर्जुनकुमार श्रेष्ठ विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि महराले जलाधार क्षेत्रको संरक्षण, पर्यावरणीय विकास, वैज्ञानिक बसोबासको व्यवस्थापन, बढ्दो प्रदुषण नियन्त्रण र सिमेन्ट उद्योगहरुको उचित व्यवस्थापन गर्न सकेमा जलाधार क्षेत्रहरु बचाउन सकिने उहाँले बताउनुभयो ।
मुलुक समृद्धिको बाटोमा उन्मुख भइरहेकाले पानीको धनी देश नेपाललाई पानीमै समृद्धिको विकल्प खोज्नुपर्ने उहाँले बताउनु भयो । मुलुकले महत्वाकांक्षी योजना निर्माण गरी पानी बेचेर समृद्ध बनाउन सक्ने उहाँले बताउनु भयो ।
दाङको खानेपानी र हरियालीका लागि देउखुरीमा राप्ती नदी, दाङ उपत्यकाका बबई, कटुवा खोला, हापुर खोला, ग्वारखोला, पातुखोला र भमके खोलामा दिर्घकालीन योजनासहितका हाइड्याम निर्माण गरी दाङलाई पानीको अभावबाट बचाउन सकिने उहाँको दावी छ ।
‘पानी समृद्धि र सभ्यताको प्रतीक हो, त्यसैले पानीको संरक्षण र उचित प्रयोगमा सबै जिम्मेवार हुनुपर्छ, उहाँले भन्नुभयो, ‘त्यसमा राज्यले पनि उचित लगानीको बन्दोबस्त गर्नुपर्छ ।’
कार्यक्रमका विशिष्टि अतिथि राष्ट्रिय सभा सदस्य अनिता देबकोटाले पानी नै जीवन रहेकाले यसको संरक्षण र विकासका लागि सबैले साझा प्रयासका साथ काम गर्नुपर्ने बताउनुभयो । सबैलाई खानेपानीको पहुँचमा ल्याउन राष्ट्रिय नीति कार्यक्रम नै बनाई कार्यन्वयन गरिनुपर्नेमा उहाँको जोड थियो ।
त्यस्तै प्रदेशसभा सदस्य अर्जुनकुमार श्रेष्ठले दाङलाई पानीको संकटबाट मुक्त गर्न स्थानीय तहदेखि केन्द्रीय तहसम्मकै योजनाहरु निर्माण गरी पर्यावरण संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्का, नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारती, नेकपा माओवादी केन्द्र दाङका सह–इन्चार्ज हेमराज शर्मा ‘डायमण्ड’, लुमाकान्त न्यौपाने, एमाले नेता देवी पोख्रेल, घोराही वडा नं. १६ का अध्यक्ष लक्षिनप्रसाद बुढा, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, खानेपानी डिभिजन दाङका अध्यक्ष चोकप्रसाद धिताल, तुलसीपुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष खेमराज वंली, बेलझुण्डी खानेपानी उपभोक्ता समितिका अध्यक्ष प्रदीप गौतम, चौघेरा खानेपानी संस्थाका अध्यक्ष हरि सुवेदी, नारायणपुर खानेपानी संस्थाका कुलप्रसाद रजौरे, नागरिक सरोकार केन्द्रका भुपाल गिरी र उपभोक्ता उमा पोख्रेललगायतले बोल्नुभएको थियो ।
घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका उपाध्यक्ष बलदेव योगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा कोषाध्यक्ष ध्रुव केसीले आर्थिक प्रतिवेदन र सचिव सुमन शर्माले संस्थागत प्रतिवदेन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सचिव सुमन शर्माले गर्नुभएको थियो ।
फोटोहरु : बलदेव योगीको फेसबुकबाट