विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत आइतबार भएको खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको छ । १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले २८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेटाएको थियो ।
शनिबार परेको पानीका कारण मैदान चिसो भएपछि निर्धारित समयमा खेल सुरु हुन नसकिएपछि खेल ३४ ओभरमा घटाइएको थियो ।
नेपालको जितमा कप्तान पारस खड्काले अर्धशतकिय पारी खेलेका थिए । पारसले ५१ रनको पारी खेल्दै नेपालको जितको आधार खडा गरेका थिए । उनी म्यान अफ द म्याच चुनिए।
४८ बल सामना गरेका पारसले ५ छक्का र २ चौका प्रहार गरे । यस्तै आरिफ सेखले १६ रन बनाए भने रोहित पौडेल १२ तथा सोमपाल कामी १० रनमा नटआउट रहे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएर्इले ३१ अोभरमा सवै विकेट गुमाएर ११४ रनमात्रै बनाउन सक्याे।
यूएर्इका साइमन अनवरले सर्वाधिक ३० रन जाेडे। उनीबाहेक अदनाम मुफ्तीले १८, घुलम सब्बरले १६ तथा मोहम्मद बुटाले १५ रन जोडे।
निर्धारित समय भन्दा खेल ढिलो सुरु भएपछि ३४ अोभरमा छोट्याइएको खेलमा नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरे।
सोमपाल कामीले चार तथा सन्दीप लामिछानेले ३ विकेट लिए।