माओवादीद्वारा प्रदेश ५ को सभामुखमा पूर्ण घर्तीको सिफारिस, को हुन् पूर्ण घर्ती ?

  
  प्रकाशित मितिः सोमवार, माघ २९, २०७४       | 273 Views   ||

माओवादी केन्द्रले प्रदेश ५ को प्रदेशसभाको सभामुखमा रुकुमका पूर्णबहादुर घर्तीलाई पठाउने निर्णय गरेको छ ।

यो प्रदेशमा फागुन २ गते सभामुख चयन गर्ने प्रदेशसभाको कार्यसूची तय भएको छ ।

माओवादी प्रदेश संसदीय दलको आइतबार राति अबेरसम्म चलेको बैठकले घर्तीलाई सभामुखसहित संसदीय दलको उपनेतामा प्यूठानका कृष्णध्वज खड्का, दलको प्रमुख सचेतकमा रुपन्देहीका दधिराम न्यौपाने र सचेतकमा दाङकी दामा शर्मालाई बनाउने निर्णय गरेको माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले जानकारी दिए ।

माओवादीले केन्द्रको यसअघि आइतबार बिहान बसेको संसदीय दलको बैठकले रोल्पाका कुलप्रसाद केसीलाई संसदीय दलको नेता चयन गरिसकेको थियो ।

यस्तै संसदीय बोर्डको सचिवमा पाल्पाका वसन्त घर्तीलाई छनोट गरेको समेत नेता केसीले जानकारी दिए । प्रदेश ५ मा सरकार निर्माणको प्रक्रिया अघि बढाउन आइतबार नेकपा एमाले र माओवादी केन्द्रका संसदीय दलका नेताले बहुमत प्रदेश सदस्यको समर्थनसहित प्रदेश प्रमुखलाई पत्र बुझाइसकेका छन् ।

यो प्रदेशमा दुवै दलले नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्रीका रुपमा अगाडि सारेका छन् ।

पहिलो चरणमा सानो आकारको मन्त्रिमण्डल निर्माण हुने भएकाले माओवादी केन्द्रको संसदीय दलले मन्त्रिमण्डलमा पठाउने व्यक्ति छनोट गर्ने नेता केसीले जानकारी दिए ।

को हुन् सभामुखमा सिफारिस गरिएका घर्ती ?

पूर्णबहादुर घर्तीमगर ‘आयाम’ कर्तव्यनिष्ठ, जुझारु, वैचारिक र इमान्दार नेताको रुपमा चिनिनुहुन्छ ।

 

साविक चुनबाङ– ६ लाखरपेदीचौर (हाल भूमे गाउँपालिका वडा नं. ९) रुकुममा २०२४ असार २९ गते उहाँको जन्म भएको हो । बुवा वीरबहादुर घर्ती र आमा जयकली घर्तीको कोखबाट जन्मनुभएका घर्तीको विवाह रोल्पा निवासी सीता आचार्यसँग भएको छ । उहाँको एकमात्र छोरी लिचुन घर्ती मगर हुनुहुन्छ ।

उहाँ २०३६ सालको राजनीतिक प्रभावबाट प्रेरित भई राजनीतिमा आबद्ध भएको पाइन्छ । सामाजिक कार्य गर्ने उद्देश्यका साथ गठन भएको एक क्लवलाई नै तत्कालीन मशालको गाउँ पार्टीमा रुपान्तरण गरी उहाँ तत्कालीन चुनबाङ गाविसको संस्थापक पार्टी अध्यक्ष बन्नुभएको हो ।

उहाँले २०३७ सालमा अनेरास्ववियुको सदस्यता प्राप्त गरेर राजनीतिक जीवनको औपचारिक यात्रा प्रारम्भ गर्नुभएको थियो भने २०४१ सालमा तत्कालीन मशालको पार्टी सदस्यता प्राप्त गर्नुभएको थियो ।

२०४६ सालमा अनेरास्ववियु रुकुमको जिल्ला अध्यक्ष भएर पूर्णकालीन सदस्यता पनि प्राप्त गरेका उहाँ हालसम्म पूर्णकालीन रुपमा राजनीतिमा संलग्न हुनुहुन्छ ।

२०४८ सालमा नेकपा एकता केन्द्र जिल्ला उपसमिति रुकुमको पहिलो सम्मेलनबाट जिल्ला समितिमा निर्वाचित र एकता महाधिवेशन प्रतिनिधिसमेत बन्नुभएको थियो । त्यसपछि उहाँले राजनीतिक जीवनमा फरक मोर्चा सम्हाल्नु भएको पाइन्छ ।

घर्ती कुशल राजनीतिज्ञ मात्र हैन, जनप्रिय जनकलाकार पनि हो । उहाँका गीतसंगीतले २०४६ सालको आन्दोलनदेखि जनयुद्धको सुरुवाती वर्गसंघर्षको बेलासम्म जनता जगाउन महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।

 

२०४७ देखि २०५१ सम्म सिस्ने सांस्कृतिक समूह रुकुमको संयोजक बनेर साँस्कृतिक मोर्चा सम्हालेका घर्तीले लेखेका “ढल्दैन त्यो बन्दुकले….”, जनयुद्धको क्रममा “एकै रातमा धर्ती हल्लियो…., “यात्रा हाम्रो लामो छ….”, “कस्ले भन्छ क्रान्ति यहाँ सफल हुँदैन….” लगायत दर्जनौं गीतहरु चर्चित छन् ।

२०४७ देखि २०५२ सम्म केन्द्रिय सांस्कृतिक टोली सामना परिवार र जनसांस्कृतिक संघको केन्द्रीय नेतृत्वमा रही विशेषतः राप्तीमा सांस्कृतिक अभियानको नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका उहाँ २०६० सालमा सामना सांस्कृतिक परिवारको संयोजक तथा केन्द्रीय श्रव्यदृश्य विभाग प्रमुखसमेत हुनुभएको थियो ।

सांस्कृतिक फाँटमा मात्र हैन उहाँले संगठनमा पनि महत्वपूर्ण भूमिका निभाउनु भयो । २०५३ देखि २०५६ सम्म नेकपा माओवादी रुकुमको जिल्ला सेक्रेटरी, २०५७ मा सम्पन्न दोश्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको केन्द्रीय सदस्य, २०५७ देखि २०५८ सम्म म्याग्दी, बाग्लुङ र रुकुमको इन्चार्ज तथा केन्द्रीय सदस्य, २०५८ देखि २०५९ सम्म भेरी कर्णाली क्षेत्रअन्तर्गत डोल्पा, जाजरकोट र सुर्खेतको इन्चार्ज तथा केन्द्रीय सदस्य, २०६२ देखि २०६४ सम्म नेकपा माओवादी रुकुम जिल्ला इन्चार्ज, २०६५ देखि २०६७ सम्म एनेकपा माओवादी मगरात राज्य सेक्रेटरी तथा केन्द्रीय सदस्य, २०६८ देखि २०७० सम्म नेकपा क्रान्तिकारी माओवादीको थारुवान राज्य इन्चार्ज तथा केन्द्रीय सदस्य, २०७१ देखि २०७२ सम्म नेकपा क्रान्तिकारी माओवादीको पश्चिम मगरात इन्चार्ज तथा पोलिटव्युरो सदस्य रहनुभएका उहाँ हाल नेकपा माओवादी केन्द्र ५ नं. प्रदेश संयोजक तथा केन्द्रीय सचिवालय सदस्य हुनुहुन्छ ।

प्रदेश सभा निर्वाचनमा रुकुम पूर्व प्रदेश सभा २ बाट भारी मतले घर्ती विजयी हुनुभएको हो ।

उहाँको जीवनमा महत्वपूर्ण क्षण भनेको रुकुमको पहिलो जनसरकार प्रमुख भएर जनसेवा गर्नु हो । उहाँ २०५७ मंसिर २९ गते जिल्ला जनसरकार रुकुमको प्रमुखमा निर्वाचित (पौष ७ मा घोषणा) हुनुभएको थियो । उहाँ जनसरकार प्रमुख भएको बेला स्थानीय स्तरसम्म नै सत्ता विस्तार गर्नुका साथै विकास निर्माण र जनसेवाका कामहरु भएका थिए ।

यसैगरी २०६४ सालमा नेपाल टेलिभिजनको अध्यक्षको समेत उहाँले जिम्मेवारी निभाउनु भएको थियो ।

घर्ती पञ्चायत विरोधी आन्दोलनको क्रममा २०४५ पौष २७ गते रोल्पा लिवाङमा प्रहरीद्वारा गिरप्तार परी चरम यातनाका साथ ५२ दिन हिरासत जीवन बिताउनुभएको थियो ।

प्रस्तुति : गणेश ओली

Leave a Reply

Your email address will not be published. Required fields are marked *