शहीदका सन्तानहरुसँग मनाए महराले जनयुद्ध दिवस (फोटो फिचर- भिडियोसहित)

  
  प्रकाशित मितिः मङ्लबार, फाल्गुन १, २०७४       | 705 Views   ||

दाङ । माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा फागुन १ गते बिहानै शहीदका सन्तानहरुलाई भेट्न शहीदस्मृति आवासीय विद्यालय पुगे ।

महरा स्कुल पुग्दा तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ बनकट्टीस्थित उक्त विद्यालयमा जनयुद्धका शहीदका सन्तानहरु जनयुद्ध दिवस मनाउने तयारी गर्दै थिए ।

शहीद स्मृति आवासीय विद्यालय लेखिएका नीला ट्रयाक सुट लगाएका भर्खरका नानीबाबुहरुदेखि किशोरावस्थाबाट युवावस्थामा प्रवेश गर्नै लागेका विद्यार्थी भाइबहिनीहरु लस्करै राखिएका बेञ्चहरुमा मिलेर बसेका थिए ।

जनयुद्ध दिवसको सन्दर्भ पारेर शहीदस्मृति स्कुल पुगेका महरा शहीदका नासो बालबालिकाहरुलाई देखेपछि भावुक बने । जनयुद्ध शुरु गर्दाका दिनहरु आफ्नो मानस्पटलमा घुमेको महराले बताए ।

औपचारिक कार्यक्रमको क्रममा बोल्दा पनि महराले जनयुद्धको पहिलो दिन आफू होलेरी प्रहरी चौकी आक्रमणमा सहभागी भएको खुलाए । आफू राजनीतिक कमिस्नर र वर्षमान पुन फौजी कमाण्डर भएर होलेरी आक्रमण गरेको महराले बताए ।

२३ औं जनयुद्ध दिवस मनाइरहँदा माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महराले अहिले मुलुक माओवादीकै एजेण्डामा चलेको बताउँछन् । उनले आफ्नो मन्तव्यका क्रममा यी कुरा पटक–पटक दोहो¥याए ।

महराले अहिले मुलुक माओवादीकै एजेण्डामा चलेको बताए । उनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, उत्पीडित, उपेक्षित वर्ग समुदायको समानुपातिक प्रतिनधित्वको एजेण्डा माओवादी भएको बताएका हुन् ।

उनले प्राप्त उपलब्धिको रक्षा गर्नु नै अहिलेको पहिलो कार्यभार भएको धारणा व्यक्त गरे । ‘अहिले पनि मुलुकमा क्रान्ति जारी छ, क्रान्तिको रुप मात्र परिवर्तन भएको हो, क्रान्ति नै सम्पन्न भएको छ भन्ने होइन,’ महराले भने, ‘अहिले केही साथीहरु फेरि पनि जनयुद्ध गर्नुपर्छ भनेर लागि रहनुभएको छ, केही साथीहरुलाई अझ पुरानो बाटोबाट मुलुक अघि बढाउनुपर्छ भन्ने लागेको छ, यी दुबै धारणा गलत हुन् ।’

विश्वका विभिन्न क्रान्तिका घटनाहरुबाट पाठ सिक्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्दै महराले प्राप्त उपलब्धिको रक्षा नगरिकन थप उपलब्धि हासिल हुन नसक्ने ठोकुवा गरे । केही शक्तिहरुले आजको आवश्यकता नबुझेर जनयुद्ध तत्काल गर्नुपर्छ भनेर गोलचक्करमा फसेको उनले बताए । ‘आज जे प्राप्त भएको छ त्यहीँ प्राप्त उपलब्धिमा टेकेर नयाँ क्रान्तिको बाटामा जानुपर्छ,’ महराले भने, ‘क्रान्तिको चरणमा कुनै दिन बल प्रयोग पनि गर्नुपर्ने हुन सक्छ तर, निर्वाचन र शान्तिपूर्ण संघर्षबाट पनि जनताको हातमा वास्तविक राज्यसत्ता प्राप्त हुन सक्छ ।’

जनयुद्ध नेपाली समाजको वर्गीय मुक्तिका लागि भएको उल्लेख गर्दै महराले भने, ‘जनयुद्धको पहिलो चरणमा केहीलाई लागेको थियो यो जनयुद्ध भारत, चीन वा दरबारले चलाएको भनेर हल्ला फैलाउने काम पनि भयो तर, पछि यहाँका राजनीतिक शक्तिहरुलाई यो नेपाली जनताकै चाहना र अगुवाइमा भएको भनेर थाहा भएको थियो ।’

जनयुद्धले मुलुकको आमुल परिवर्तनमा कायापलट गरेको उल्लेख गर्दै उनले माओवादीकै एजेण्डाका कारण मुलुकमा अहिले सिंहदरवारको शक्ति र अधिकार गाउँ–गाउँमा पुगेको बताए ।

मन्तव्यको शुरुमा भावुक भएका महराले शहीदस्मृति विद्यालयलाई प्राविधिक शिक्षालयको रुपमा अघि बढाउनुपर्ने बताए । ‘म विद्यार्थी भाइबहिनीहरुको कुरा सुनेर निकै भावुक भएँ, मलाई युद्धकालका पुराना दिनहरुको याद आएको छ,’ उनले भने, ‘म जनप्रतिनिधिका हिसाबले पनि यो विद्यालयलाई प्राविधिक शिक्षालयको रुपमा विकसित गर्न उचित पहल गर्ने छु ।’

शहीदस्मृति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं माओवादी केन्द्रका सचिवालय सदस्य हेमराज शर्मा ‘डायमण्ड’ ले शहीदस्मृति विद्यालयका विद्यार्थीहरु जनयुद्धको नासो भएको बताए । उनले जनयुद्धका शहीदहरुको रगतबाट मुलुकले आमुल परिवर्तन ल्याएको उल्लेख गर्दै शहीदका सन्तानको उचित सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे ।

विद्यालयले दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको जानकारी दिदै उनले यसमा विद्यार्थीहरुले पनि उत्कृष्ट हुन मेहनत र इमान्दारिता प्रदर्शन गर्नुपर्ने आवश्यकता औंल्याए । ‘तपाईहरु पढाइमा उत्कृष्ट हुनुहोस्, तपाईहरुको माथिल्लो शिक्षाको जिम्मा पार्टीले लिन्छ,’ डायमण्डले भने ।

वाइसिएलका केन्द्रीय सचिव गणेश शाहीले माओवादीकै कारण मुलुकमा परिवर्तन आएको उल्लेख गर्दै अबको मुलुकको समृद्धि पनि माओवादीकै नेतृत्वमा हुने बताए ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामजी चौधरी ‘मिलन’लगायतले जनयुद्ध दिवसको शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा शुक्रबारीय कार्यक्रममा हुने विविध प्रतियोगिताका विजेताहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत शहीदका छोराछोरीहरुले शहीदहरु बोलिरहेको, हाँसिरहेकोलगायतका गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

तस्बिर तथा भिडियो : डिल्ली मल्ल

Leave a Reply

Your email address will not be published. Required fields are marked *