क्यानडासँग अन्तिम बलमा जित निकाल्दै नेपाल विश्वकप छनोटमा

  
  प्रकाशित मितिः बुधबार, फाल्गुन २, २०७४       | 220 Views   ||

विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत राउण्ड रोबिनको अन्तिम खेलमा क्यानडासँग अन्तिम बलमा विजयी बटुल्दै नेपाल नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकाे छ । बुधबार क्यानडासँगकाे जितसँगै नेपाल ८ अंकका साथ अंकतालिकाकाे शीर्ष स्थानमा रहँदै अर्को महिना जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने भएकाे हाे ।

जारी डिभिजन दुईको शीर्ष स्थानका दुई टोलिले विश्वकप खेल्न पाउने प्रावधान थियो । १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपालकाे जितमा करण केसीले अन्तिम बलमा विजयी रन प्रहार गरेका थिए । अन्तिम अाेभरमा ८ रन अावश्यक रहेका बेला सुरूवाती चार बल डट खेलेका उनले पाँचाै बलमा छक्का प्रहार गरेका थिए । त्यस्तै छैटाै बलमा क्यानडाका सिसेल परवेजले वाइड फालेपछि अन्तिम बलमा नेपाललार्इ जितका लागि एक रन अावश्यक भयाे ।

उक्त बलमा एक रन लिदै नेपालले जित हात पारेकाे हाे । खेलका लागि हिराे बनेका करण केसीले ३१ बलमा ४२ रन जाेडे । साे क्रममा उनले ४ छक्का र तीन चाैका प्रहार गरेका थिए । यस्तै दीलिप नाथले ४१, रोहितकुमार पौडेलले २७ तथा आरिफ सेखले २६ रन जोडे ।

कप्तान पारस खड्का शुन्य, शरद भेषावकर १, उपकप्तान ज्ञानेन्द्र मल्ल ९ तथा दीपेन्द्र ऐरी १८ रनमा आउट भए । त्यसअघि अोपनर श्रीमान्था वाजिरत्नेले शतकीय पारी खेलेपछि निर्धारित ५० अोभरमा क्यानडाले ८ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियाे ।

वाजिरत्नेले ४९अौं अोभरको अन्तिम बलमा सोमपाल कामीलार्इ चौका प्रहार गर्दै शतक पूरा गरेका थिए । १ सय ५२ बलकाे सामना गरेका उनले  ७ चौका प्रहार गरे। यस्तै क्यानडाका हम्जा तारिकले २४ तथा  सतिस्मरन्जित धिन्डाले  १८ रन जोडे।

नेपालका लागि बसन्त रेग्मीले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए। यस्तै, करण केसी र शरद भेषावकरले पनि समान १ विकेट दिलाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *