एमाले–माओवादी एकता जटिल, तत्काल माओवादी सरकारमा नजाने

  
  प्रकाशित मितिः बिहिबार, फाल्गुन ३, २०७४       | 438 Views   ||

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा माओवादी केन्द्र तत्काल सहभागी नहुने भएको छ । ओलीले प्रधानमन्त्री पदका लागि शपथ लिएलगत्तै माओवादीका मन्त्रिसहित सानो आकारको मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरे पनि माओवादी तत्काल सरकारमा नजाने तयारी गरेको हो ।

गए राती अबेर पार्टी एकताका आधारभूत विषय टुंग्याएर घोषणा गर्ने भनिए पनि तत्कालीन कार्यदिशाका विषयमा दुई पार्टीबीचमा फरक मत देखिएको थियो ।

बिहीबार दिउँसोसम्म आइपुग्दा दुई पार्टीका बीचमा अविश्वास थप बढेको माओवादीको बुझाई छ । ‘माओवादीका तर्फबाट अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका लागि समर्थन दिइसकेपछि एमालेका कतिपय नेताहरुको स्वर बदलिएको माओवादीका एक नेताले बताए ।

‘उहाँहरु जबज अहिले नै माओवादीले स्वीकार गर्नुपर्ने तर माओवाद र माओवादीले गरेको जनयुद्धलाई आत्मसाथ गर्न नसक्ने भन्नुहुन्छ,’ माओवादीका एक नेताले भने, यस्तो अवस्थामा हामी सरकारलाई समर्थन दिन्छौं तर तत्काल मन्त्रिपरिषदमा सहभागी हुदैनौं ।’

बुधबार रातीको एकता संयोजन समितिको बैठकपछि माओवादीले बिहीबार बिहान अध्यक्ष प्रचण्डको निवासमा छलफल गरेर तत्कालीन रणनीति तय गरेको हो । जसअनुसार तत्काल सरकारमा सहभागि नहुने,बाहिर बसेर समर्थन दिने, अध्यक्षद्वयले गरेको सहमति अनुसार पार्टी एकता प्रकृया अघि बढाउन पहल गर्ने र केही समय पर्खेर हेर्ने माओवादीको योजना रहेको एक नेताले बताए ।

माओवादी केन्द्रका नेता देव गुरुङले गठबन्धनको साझेदारको हैसियतमा माओवादी सरकारमा सहभागी नहुने प्रष्ट पारे । निर्वाचनमा जनताले दिएको म्यान्डेड अनुसार एउटै पार्टीले स्थिर सरकार बनाउनुपर्छ, सुशासन र समृद्धि ल्याउनुपर्छ भन्ने हो,’ गुरुङले भने, ‘तर एकता प्रकृया विलम्ब भइरहेको छ, गठवन्धन यथावत रहेसम्म हामी सरकारलाई समर्थन दिन्छौं तर सरकारमा सहभागी हुँदैनौं ।

पार्टी एकताको विषयमा छलफल चलिरहेको तर सहमति हुन नसकिरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *